सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने

बुधबार, १२ वैशाख २०८१, १२ : ०५
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । वेस्ट इन्डिजका प्रभावशाली क्रिकेटर सुनिल नारिन आफ्नो सन्न्यास फिर्ता लिएर टी–२० विश्वकप खेल्न टोलीमा फर्कने अनुमान गरिएको थियो । वेस्ट इन्डिज क्रिकेट बोर्डले पनि लामो समयदेखि नारिनलाई सन्न्यास फिर्ता लिन आग्रह गर्दै आएको थियो ।

३५ वर्षीय सुनिल नारिनले भने यस विषयमा केही स्पष्ट जवाफ दिएका थिएनन् । तर, अहिले आएर सुनिल नारिनले टी–२० विश्वकपका लागि आफ्नो सन्न्यास फिर्ता नलिने बताएका छन् । टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदै छ ।

सुनिल नारिनले अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने आफ्नो सम्पूर्ण ढोका बन्द भइसकेको प्रतिक्रिया दिएका छन् । उनले सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । उनले आगामी टी–२० विश्वकपमा आफूले नयाँ खेलाडीहरूको हौसला बढाउने बताएका छन् ।

सुनिल नारिनले सन् २०१९ मा वेस्ट इन्डिजका लागि अन्तिम खेल खेलेका थिए । उनी हाल भारतमा जारी चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण खेलिरहेका छन् ।

जारी सिजनको आईपीएलमा उनी कोलकाता नाइट राइडर्समा आबद्ध छन् र उत्कृष्ट प्रदर्शन पनि गर्दै आएका छन् । यो सिजनको आईपीएलमा उनले हालसम्म कोलकाताका लागि सात खेल खेल्दै १७६.५४ को स्ट्राइक रेटमा कुल दुई सय ८६ रन बनाइसकेका छन् ।

आईपीएलको १७औँ संस्करणमा उनले एक शतक र एक अर्धशतक पनि प्रहार गरिसकेका छन् । यी क्यारेबियन अलराउन्डरले जारी सिजनको आईपीएलमा ७.११ को इकोनोमी रेटमा कुल नौ विकेट पनि लिइसकेका छन् ।

सुनिल नारिनले आईपीएल लगायतका फ्रेन्चाइज प्रतियोगितामा गरिरहेको उत्कृष्ट प्रदर्शनलाई ध्यानमा राखेर नै वेस्ट इन्डिज क्रिकेट बोर्डले उनलाई आफ्नो सन्न्यास लिन आग्रह गरेको हो । ‘मेरो प्रदर्शनलाई नजिकबाट निकाल्ने र मेरो हौसला बढाउने सबैप्रति म आभारी छु,’ उनले भनेका छन् ।

उनले आफू अब अन्तर्राष्ट्रिय क्रिकेटमा नर्फने पनि बताएका छन् । ‘मलाई विश्वास गरेकोमा म सबैलाई धन्यावाद दिन चाहन्छु । तर, अब म अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन चाहन्न । आगामी विश्वकपमा म नयाँ खेलाडीको हौसला बढाउने छु,’ उनी भन्छन् ।

वेस्ट इन्डिजको वर्तमान राष्ट्रिय टोलीका कप्तान रोभमन पावेलले पनि सुनिल नारिनलाई आगामी टी–२० विश्वकप खेल्नका लागि सन्न्यास फिर्ता लिन आग्रह गरेका थिए । कप्तान पावेल अझै पनि सुनिल नारिन विश्वकप टोलीमा सहभागी हुनेमा आफू विश्वस्त रहेको बताउँछन् । पावेल पनि हाल राजस्थान रोयल्सबाट आईपीएल खेलिरहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुअघि सुनिल नारिनले वेस्ट इन्डिजका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलेका थिए । उनले ६ टेस्टमा २१ विकेट, ६५ एकदिवसीयमा ९२ विकेट र ५१ टी–२० मा ५२ विकेट लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप