मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

भारतको चर्चित फर्च्यून होटल्स् अब नेपालमा

बुधबार, १९ वैशाख २०८१, १२ : २०
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्यून होटेल्स्ले नेपालबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटलका सञ्चालकहरूले यस क्षेत्रको अग्रणी होटल ब्राण्डको रूपमा भारतीय होटल सञ्जालको अन्तर्राष्ट्रिय यात्रालाई थप अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै फर्च्यून होटल्स्का प्रबन्ध निर्देशक समीर एमसीले भने, ‘नयाँ आर्थिक वर्ष ०८१/८२ को शुरुवातमै फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुसी छौँ । भारतबाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौँ । हामी दक्षिण एसिया र नजिकका अरु देशहरुमा पनि हाम्रो उपस्थिति बढाउँदै जानेछौँ र आजको यो उद्घाटन हाम्रो यात्राको नयाँ कोसेढुङ्गा हो ।’

शान्त वातावरणमा अवस्थित फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ति खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् । प्रत्येक कोठा अत्यधिक आरामदायी बनाइएको छ । 

रिसोर्टमा स्पा, रिल्याक्सिङ्ग ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रुम, जिम, आकर्षक दृश्य देखिने स्विमिङ पुल जस्ता  विभिन्न आरामदायी सुविधाहरू उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्दछ ।

शाकाहारी खानाका पारखीहरूलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुराहरू उपलब्ध छन् । साथै नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिराहरू उपलब्ध हुने रिसोर्टले जनाएको छ । 

थुप्रै फराकिलो व्याङ्कवेटहरु रहेको रिसोर्टले वैवाहिक गन्तव्यको रूपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ । रिसोर्टमा ८,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रि फङ्कसन क्षेत्र र ११,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको स्विमिङ पुल रहेको छ । यो सबै कुराहरूले यस रिसोर्टलाई एक उत्कृष्ट इभेन्ट गन्तव्य बनाउँछ जहाँ करिब ६०० पाहुनाहरू आरामले अटाउँछन् ।

रिसोर्टमा पार्टी र बैठकको लागि पनि छुट्टै क्षेत्रको व्यवस्था रहेको छ । ठुला सामाजिक कार्यहरू, सम्मेलनहरू र विशेष जमघटहरू आयोजना गर्नका लागि सुन्दर ढङ्गले बनाइएको र उपयुक्त रूपमा सुसज्जित रिसोर्ट सबै उत्सवहरूको लागि उत्कृष्ट गन्तव्य हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप