शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?

बिहीबार, २० वैशाख २०८१, २३ : ४४
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । परराष्ट्र मन्त्रालयले जापानका विदेशमन्त्री कामीकावा योको नेपाल भ्रमणको तयारी पूरा गरेको छ । विदेशमन्त्री कामीकावा वैशाख २३ गते नेपाल आउन लागेकी हुन् ।

उनको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वैशाख १४ गते जापानबाट विभिन्न मुलुकको भ्रमणका लागि निस्केका कामीकावा श्रीलङ्का हुँदै नेपाल आउने भएकी हुन् ।

विदेशमन्त्री कामीकावा नेपाल आएकै दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए ।

वैशाख २३ गते बिहान आउने कामीकावा त्यही दिन साँझ फर्किने कार्यक्रम छ । भ्रमणकै क्रममा केही सम्झौता तथा समझदारी गर्ने तयारी पनि भइरहेको छ । परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयले यसका लागि गृहकार्य गरिरहेको स्रोत बताउँछ ।

तर परराष्ट्रका प्रवक्ता राईले कुनै पनि सम्झौता वा समझदारीको तयारी नरहेको बताए । उनले भने, ‘दुई देशको सम्बन्धलाई अझ सुदृढ र बलियो बनाउने उद्देश्यले यो भ्रमण हुन लागेको हो, यो भ्रमणमा कुनै पनि सम्झौता वा समझदारी हुँदैन ।’

भेटघाटको क्रममा दुई देशबिचको सम्बन्ध, विकास कार्यमा सहकार्यको सम्भावनाका बारेमा कुराकानी हुनसक्ने तर औपचारिक रुपमा कुनै पनि सम्झौता नहुने उनले बताए ।

नेपाल र जापानबिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । ६८ वर्ष पुरानो सम्बन्धमा जापानबाट विदेश मन्त्रीहरूको यो चौथो भ्रमण हो भने सन् २०१९ पछि विदेशमन्त्रीको कामीकावाको पहिलो नेपाल भ्रमण हो ।

नेपालमा भारत, चीन र अमेरिकाको प्रभाव रहेको बेला जापानी विदेशमन्त्रीको यो भ्रमणलाई कूटनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् ।

खासगरि नेपालमा पछिल्लो समय चीनको बढ्दो प्रभावका कारण जापानकी विदेश मन्त्री कामीकावा श्रीलंकासहित एसियाली मुलुकको भ्रमण सकेर नेपाल आउन लागेकी हुन् । अमेरिका र चीनबिच बढ्दो द्वन्द्वमा जापान अमेरिकाको मित्रशक्ति बनेको छ ।

सन १९५६ सेप्टेम्बर १ मा नेपाल र जापानबिच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्ष विस्तार हुँदै गएको जापानस्थित नेपाली दूतावासले जनाएको छ । दुवै देशमा आवासीय राजदूतावास स्थापना हुनुअघि नयाँ दिल्लीस्थित आफ्नो दूतावासबाटै नेपाल र जापानले कूटनीतिक सम्बन्ध कायम गर्ने र सम्बन्धित मुलुकलाई हेर्दै आएका थिए ।

सन् १९६५ मा मात्र जापानमा नेपाली दूतावास स्थापना भएको थियो । जापानका लागि पहिलो नेपाली राजदूत भरतराज राजभण्डारी हुन् ।

जापानले सन् १९६८ मा काठमाडौँमा आवासीय दूतावास स्थापना गरी पहिलो राजदूतको रुपमा हिदेमिची किरालाई नियुक्त गरेको थियो । जापानस्थित नेपाली दूतावासका अनुसार बौद्ध भिक्षु एकाई कावागुची नेपाल भ्रमण गर्ने प्रथम जापानी नागरिक हुन् । उनी सन् १८९९ मा नेपाल भ्रमणमा आएका थिए ।

सन् १९०३ मा कावागुचीले ल्हासाको जेलमा रहेका आफ्ना साथीहरूको रिहाइका लागि सहयोग गरिदिन नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरसँग अनुरोध गरेको जापानस्थित नेपाली दूतावासले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको आग्रह बमोजिम दलाई लामाले तिब्बती जेलबाट कावागुचीका साथीहरूलाई मुक्त गरेका थिए ।

कावागुजीले नेपालको पटकपटक भ्रमण गरेका थिए । नेपालमा उनको भ्रमणको शतवार्षिकी नै मनाइएको थियो । सो क्रममा सन् २००२ मा कावागुचीको तस्बिर अङ्कित हुलाक टिकट पनि प्रकाशन गरिएको थियो ।

सन् १९०२ मा नेपाल सरकारले खनिज, मेकानिकल, खरखजाना प्रविधि, कृषिबारे अध्ययन गर्न आठ जना नेपाली युवालाई जापान पठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप