सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
जसपा विभाजन

मधेसी फोरमदेखि जसपासम्म : सात पटक फुट, उपेन्द्र यादव ‘अबुझ’

बुधबार, २६ वैशाख २०८१, १८ : ४९
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल विभाजित भएकोमा उपप्रधानमन्त्री तथा पार्टी अध्यक्ष उपेन्द्र यादव कुनै दोष लिन चाहँदैनन् ।

‘नेपालमा कुनै पार्टी अछुतो छैन, बनेका पार्टी तीन दिनमा फुट्या छ र सबभन्दा बढी फुटेको पार्टी कम्युनिस्ट पार्टी हो । मलाई कम्युनिस्ट पार्टीको लामो अनुभव छ, म हुँदै कम्युनिस्ट पार्टी ६३ पटक फुटिसकेको थियो, जति नेता थिए सबैका गुट थिए,’ पत्रकारसँग बुधबार भएको भेटमा उनले भने । २०६३ मा उनको नेतृत्वमा गठित मधेसी जनअधिकार फोरम पार्टी विभिन्न नाममा बदलिँदै सात पटक विभाजित भइसकेको छ ।

यद्यपि पार्टी विभाजनमा आफ्नो कमजोरी देखाउन चाहर्दैनन्, बरु अरूलाई दोष देखाएर पन्छिन्छन् । उनी पार्टी विभाजनको दोष कहिले भारत, कहिले काँग्रेस, कहिले माओवादी केन्द्र र कहिले एमालेलाई थोपर्छन् ।

धेरै नेताहरू यादवको नेतृत्वमा गोलबन्द भए । तर समय क्रममा बिस्तारै उनलाई छोड्दै छन् ।

यसको दोष यादवले लिनु पर्ने लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताउँछन् । भण्डारीले पनि विगतमा यादवको साथ छोडेका थिए ।

यादवलाई अध्यक्ष स्वीकार गरेर जति जना गोलबन्द भए, ती सबैलाई आफूसँग राख्न सकेको भए उनी देशको सबभन्दा ठुलो पार्टीका नेता हुन्थे । ‘तर कसैलाई आफूसँग राख्न नसक्नु उनको कमजोरी हो’ भण्डारीले भने ।

विगतमा यादवसँग विजयकुमार गच्छदार, भण्डारी, जेपी गुप्ता, डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्रराय यादव, रामेश्वर राय यादव, भाग्यनाथ गुप्ता, अमर यादव, भरतविमल यादव, अमृता अग्रहरी, उमाशंकर अरगरिया, सरिता गिरी, रामनरेश राय यादव, लक्ष्मण थारु, रेशम चौधरी, कुमार विश्वास, अमृता अग्रहरी, नरसिंह चौधरी, गोविन्द चौधरीलगायत धेरै नेता गोलबन्द भए । तर, अहिले ती सबैले साथ छोडिसके ।

पूर्व मन्त्री गुप्ता भन्छन्, ‘गोलबन्द भएका नेताहरू यादवसँग बस्न सक्नु भएन । उपेन्द्रको नजरमा ती सबै गलत थिए त ? डा. भट्टराई, अशोक राइ जस्ता शालीन र वरिष्ठ नेता पनि नटिक्नु त छुट्टिनेको दोष होइन होला ?’

भण्डारी चाहिँ यादवसँग ‘सामूहिक नेतृत्व गर्ने क्षमता’ नभएको बताउँछन् । अरू त अरू यादव समुदायका नेता पनि टिकेनन् ।

  • यसरी सुरु भयो यादव राजनीति 

यादवले सामाजिक संस्थाको रूपमा मधेसी जनअधिकार फोरम नेपाल गठन गरेका थिए । फोरमको प्रथम महाधिवेशन २०६० सालमा भयो । यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यकारिणी समिति गठन भयो, जसमा महानन्द ठाकुर उपाध्यक्ष, रामकुमार शर्मा सचिव र परमानन्द मेहता कोषाध्यक्ष थिए । उदय पटेल, नेवालाल राय, जितेन्द्र सोनल, गिरेन्द्रप्रसाद यादव, जागेश्वर महतो, बीपी यादव, शिवराम यादव, रामप्रसाद साह, जीवछकुमार राय, कृष्णबहादुर यादव र जागेश्वर यादव सदस्य  थिए । अहिले शर्मा मात्र उनको साथमा छन् ।

कार्यसमिति विस्तार गर्ने क्रममा जेपी गुप्तालाई महासचिव बनाइयो । तत्कालीन फोरम आन्दोलनको तयारीमा लाग्यो । तराई मधेसदेखि काठमाडौँका विभिन्न ठाउँमा विचार गोष्ठीहरू गर्नुको साथै आन्दोलनको  तयारी प्रशिक्षणहरू भयो ।

पहिलो चरणको मधेस आन्दोलन सकियो । लगत्तै भाग्यनाथ गुप्ताको नेतृत्वमा शर्मा, सोनल, विश्वासलगायतका नेताहरू तत्कालीन फोरमबाट बाहिरिए ।

आन्दोलन सफलतापछि गुप्ता, गच्छदार, भण्डारी, यादव, रेणुलगायत   नेताहरू प्रवेश गरे । २०६४ मा पहिलो संविधानसभा निर्वाचनमा फोरम  देशको तेस्रो शक्तिको रूपमा उदायो ।

२०६५ जेठ १९ गते बसेको तत्कालीन फोरमको बैठकले केन्द्रीय समिति विस्तार गर्‍यो । गच्छदार, चौधरी, भण्डारी, रेणु, रामेश्वर राय यादव, अकवाल अहमद शाह, लालबाबु राउत र आशा चतुर्वेदीलाई मनोनयन गरियो ।

प्रधानसेनापति रुकमाङ्गत कटुवाल कण्डपछि पुष्पकमल  दाहाल प्रचण्डको सरकार भङ्ग भयो । माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्यो, त्यति बेला गच्छदारको नेतृत्वमा भण्डारी, राय यादवलगायत नेताहरूले अर्को पार्टी गठन गरे ।

यो विभाजनपछि यादवको साथमा जोडिएका महादेव साह, परमानन्द झा, तिलक रावल, श्यामानन्द सुमन, सीताराम अग्रवाल, नन्दनकुमार दत्त, रामविलास यादव, डा.शिवजी यादव, रामवीर राय, ओमप्रकाश यादव, अभिषेक प्रताप शाह, श्रवणकुमार अग्रवाल, लक्ष्मण थारु, बीपी यादव, सन्ध्या देव, रम्भा देवी, सुरिताकुमारी साह, बलराम यादव, जितेन्द्र सोनल, सरिता गिरी, अमर यादव, किशोर विश्वास, कौशलकुमार सिंह, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रिजवान अन्सारी, भाग्यनाथ गुप्ता, केशव झा, सर्वदेव ओझा, भीराज चौधरी, वकिल मुसलमान, हेमराज तातैर, आशाकुमारी सरदार, शिवनारायण उराँव, रामानन्द मण्डल, भूपेन्द्र चौधरी, कलाबती दुसाध, निलम वर्मा, ललिता साह, मुगालाल महतोलगायतका नेताहरू अलग भए । सुरिता साहबाहेक कोही पनि उनको साथमा छैनन् । 

भट्टराईको नेतृत्वमा सरकार बनेपछि गुप्ताको नेतृत्वका अर्को पार्टी खोलियो ।

२०७० साउन ३ गते बसेको तत्कालीन फोरम बैठकले पुनः १६ जना थपेर केन्द्रीय समिति विस्तार गर्‍यो, भरतविमल यादव वरिष्ठ नेता बनाइयो । रामचन्द्र राय, साधु यादव, वीरेन्द्र यादव, बसुद्दीन खान, विनिता यादव, पल्टन ठाकुर र सत्यनारायण मण्डललाई राखिएको थियो । यी कोही यादवसँग अहिले छैनन् । 

हालै यादवको साथ छाडेका जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले नीति एउटा र काम अर्को गरेपछि पार्टी पटक पटक फुटेको बताए । 

उनले भने, ‘उपेन्द्रजीले विधानमा लेख्नु हुन्छ एउटा कुरा, बोल्नु हुन्छ अर्को कुरा र गर्नुहुन्छ अर्को कुरा । यसले पार्टीमा पहिलादेखि नै समस्या सृजना भएको हो । यो प्रवृत्तिबारे पार्टीमा पटक पटक कुरा उठे पनि यादवले टार्दे आए ।’

  • अनि पहाडतिर ध्यान 

मधेसी नेताहरूले साथ छाड्दै गएपछि यादवले आफ्नो दललाई पहाडतिर सोझ्याउन थाले । आदिवासी जनजातिहरूलाई जोड्न थाले । आन्दोलन पनि काठमाडौँ केन्द्रित गरे  । पार्टीमा मधेसीभन्दा पहाडी समुदायका नेताहरूलाई अवसर दिइयो ।

जनजातिका नेता अशोक राई नेतृत्वको संघीय समाजवादी नेपालसँग एकीकरणबाट यो क्रम सुरु भयो । यादवले मधेसी जनअधिकार फोरमको नाम परिवर्तन गरी संघीय समाजवादी फोरम नेपाल राखे । पार्टीबाट मधेस शब्द नै झिके । पहाडी, आदिवासी–जनजाति र मधेसी मिश्रित राष्ट्रिय पार्टी बनाए ।

यादवले पार्टीलाई थप समावेशी र ठुलो बनाउन २०७५ मा तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष डा. भट्टराईलाई पार्टीमा भित्र्याए । समाजवादी पार्टी बन्यो । यही आडमा विदेशमा पनि पार्टीको संगठन विस्तार भयो । पहाडका साथै हिमालमा उनको सञ्जाल फैलियो । 

तर, दुर्भाग्य एकीकरण भएको दुई वर्षमा समायोजनको काम नसकिँदै यादवले २०७७ वैशाख १० गते महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरे । 

यदि त्यो दिन एकीकरण नगरेको भए रेणु यादव, इस्तियाक राइ, उमाशंकर अरगरिया, प्रदीप यादव, विमल श्रीवास्तव, डा.सुरेन्द्र यादवलगायतका नेताहरूले पार्टी नै विभाजन गर्ने खतरा टर्‍यो ।

भण्डारी भन्छन्, ‘हामीले एकीकरण नगरेको भए अहिले जसपाबाट अलग भएका साथीहरू त्यति बेलै अलग्गिने थिए ।’ 

समाजवादी पार्टी र राजपा मिलेर जनता समाजवादी पार्टी नेपाल बन्यो । यादव नेतृत्वको जसपा झन् समावेशी र शक्तिशाली बन्यो । ठाकुर, महतो, महेन्द्रराय यादव, राजकिशोर यादव, अनिलकुमार झा, भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, जितेन्द्र सोनल, रेशमलाल चौधरी, राजकुमार लेखी, वृषेशचन्द्र लाल, लक्ष्मणलाल कर्णजस्ता ठुला नेताहरूले यादवको नेतृत्व स्वीकार गरे । 

मधेसमा एउटा ठुलो शक्ति बन्यो । तर पार्टी एकीकरण भएको छ महिना नपुग्दै यादव र ठाकुरबिच खटपट सुरु भयो ।

२०७८ भदौमा जसपा विभाजन भयो । ठाकुर, महतो, झा, भण्डारीलगायतका नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गरे । 

ठाकुर पक्षमा रहेका महेन्द्र राय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, रामनरेश राय यादव, नवलकिशोर साह, सरोज यादव, अमृता अग्रहरी, प्रमोद साहलगायतका थुप्रै नेता उपेन्द्रसँगै रहे । तर सरोज, राजकिशोर र मृगेन्द्रबाहेक अरू नेताहरू क्रमशः बाहिरिए । डा.भट्टराई, महेन्द्रराय यादव पनि छाडेर निस्के । 

यसरी यादव सम्बन्ध विच्छेद हुनुमा उनको एकात्मक सोच भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवको अनुभव छ ।

उनी भन्छन्, ‘उपेन्द्र यादव बाहिर जस्तो कुरा गरे पनि भित्र त्यस्तै छैन, उहाँले आफूबाहेक अरू कसैलाई नेता मान्नु हुन्न ।’ 

नेता भण्डारी भन्छन्, ‘उपेन्द्र यादवको व्यक्तिगत शैली उदार छैन, त्यही भएर स्वाभिमानी व्यक्ति त्यहाँ टिक्न सकेको छैन ।’ 

माओवादी, एमाले र काँग्रेसमा विभिन्न पुस्ताका नेताहरू लामो समय एउटै पार्टीमा रहेर काम गरिरहेका छन् । तर उपेन्द्रमा ‘एकलवादी सोच र अरूलाई नेता स्वीकार नगर्ने शैलीले’ उनीसँग कोही नटिकेको एमालेका नेता उमाशंकर अरगरिया बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप