सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वन्यजन्तु तस्कर कुन्जोक सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर

बिहीबार, २७ वैशाख २०८१, २० : ३८
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । वन्यजन्तु तस्करमा दोषी ठहर भएका  कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले तामाङलाई दोषी ठहर गरेको हो ।

तामाङले सात करोड १४ लाख ७३ हजार ३८२ रुपैयाँ खर्च गरेको देखिए पनि ६ करोड ४७ लाख ७ हजार ९९४ रुपैयाँको मात्रै वैध स्रोत खुलेको छ । उनले ६७ लाख ६५ हजार ३८८ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको विशेषको ठहर हो ।  

तामाङलाई सजाय तोक्नका लागि वैशाख २७ गतेको पेसी तोकिएको छ । यसअघि जिल्ला अदालत रसुवाले उनलाई वन्यजन्तुसम्बन्धी अपराधमा दोषी ठहर गर्दै सात वर्ष कैद सजाय सुनाएको थियो । 

१६ भदौ २०६२ मा रसुवाको स्याफ्रुमा नेपाली सेनाले पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको ११३ किलो हड्डीसहित पाँच जनालाई पक्राउ गरेको थियो । तामाङ सो घटनाका मुख्य अभियुक्त थिए  । मुख्य अभियुक्त तामाङले नाम परिवर्तन गरेर भारतमा वन्यजन्तुको तस्करी गर्दै आएका थिए ।

रसुवामा सेनाले बरामद गरेको सो घटना नेपालको इतिहासमै वन्यजन्तुको अपराधसँग सम्बन्धित ठुलोमध्येको घटना हो । वन्यजन्तुको अवैध सिकार तथा पैठारी गर्ने अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएका तामाङ १५ वर्षदेखि फरार थिए । तामाङ नेपालमा मात्रै होइन, भारतमा पनि वन्यजन्तु तस्करीमा संलग्न भएसँगै मुद्दा चलेपछि फरारको सूचीमा छन् । वन्यजन्तुको ओखेटापखेटा तस्करी मुद्दामा फरार तामाङलाई ११ असार २०७७ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेर लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप