बजेट निर्माणमा जुटे कञ्चनपुरका पालिका
कञ्चनपुर । यहाँका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३र८४ का लागि आवश्यक बजेट निर्माणको तयारीमा जुटेका छन् ।
सङ्घीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएसँगै कञ्चनपुरका नौ वटा पालिकाले पनि वडास्तरबाट योजना छनोट गरी पालिकामा सङ्कलन गरिरहेका छन् । यहाँको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले वडास्तरमा बजेटको सिलिङ पठाएर योजना छनोटको काम अन्तिम चरणमा पुगिसकेको बताए ।
“नगरपालिका कार्यालयमा पनि शाखागत रूपमा योजना छनोट लगायतका काम भइरहेका छन्”, उनले भने, “तोकिएको समयसीमाभित्र बजेट निर्माणका लागि सक्रियताका साथ लागेका छौँ ।” उहाँले आगामी आवमा कर्मचारीको तलब वृद्धिको व्ययभार थपिएको बताए ।
“एक्काइस प्रतिशत तलब कर्मचारीको बढ्दा हाम्रो पालिकामा मात्रै रु तीन करोड व्ययभार थपियो”, उनले भने, “असार १० गतेभित्र बजेट ल्याउने गरी तयारीमा जुटेका छौँ ।” उनले बजेट र कार्यक्रम तयार गर्नुअघि सरोकारवालासँग छलफलसमेत गरिने बताए ।
चालु आवमा शुक्लाफाँटा नगरपालिकाको बजेट रु ९३ करोड रहेको नगरपालिकाले जनाएको छ । “हामीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलगायतका विषय प्राथमिकतामा राखेका छौँ”, उनले भने, “सङ्घ र प्रदेश सरकारले बजेट दिएर बनिरहेका योजना पनि पूरा गर्नेतर्फ अग्रसर छौँ ।” उहाँले नगर चक्रपथ निर्माणसमेत भइरहेको बताए ।
त्यसैगरी, कञ्चनपुरको जेठो भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले विषयगत शाखा र वडामा बजेटका लागि सिलिङ पठाइएको बताइन् । शाखाहरूमा बजेट निर्माणको काम हुँदै छ भने वडास्तरमा पनि योजना तर्जुमाको काम भइरहेको उनले जानकारी दिइन् ।
उपप्रमुख नेतृत्वमा बैठक बसेर वडाबाट आएका योजना टुङ्गोमा पुर्याएर कार्यपालिकामा अघि बढाउने उनले जानकारी दिइन् । “शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर बजेट बन्ने छ, विभिन्न जनमुखी योजना बजेटबाट सम्बोधन हुनेछ”, उनले भनिन् ।
वडा समितिबाट निर्णय भएर आएपछि योजना छनोट, कार्यक्रम प्रस्ताव तथा विषयगत शाखाबाट अध्ययन गरेर बजेट तथा कार्यक्रम तर्जुमाको काम अगाडि बढाइने पालिकाहरूको भनाइ छ । नगरवासीको चाहनाअनुरूपको नीति तथा बजेट पारित गर्ने तयारी भइरहेको उपप्रमुख लेखकको भनाइ थियो ।
बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले पनि बजेट निर्माणको काम भइरहेको बताए । “दश वटा वडा र विषयगत शाखामा पनि सिलिङ पठाइरहेका छौँ”, चौधरीले भने, “नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेका छौँ ।” उहाँले सुदूरपश्चिम प्रदेशमा पनि प्राथमिकीकरण गरेर बजेट माग गरिएको बताए । “पुराना योजना प्राथमिकीकरण गरेर बजेटमा समावेश गर्छौँ”, चौधरीले भने, “अधूरा निर्माण कार्य पूरा गर्नेछौँ ।”
त्यसैगरी, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र जोशीले वडामा बजेटको सिलिङ पठाएको बताए । “आगामी असार ८ गते नगर सभा तोकिएको छ, वडा र विषयगत समितिमा योजना छनोटको काम हुँदै छ”, उनले भने । कञ्चनपुरमा सात वटा नगरपालिका र दुई वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण