मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

उपेन्द्र यादवको पार्टीमा अपमान र जालझेल सहन नसकेर अलग भएकी हुँ : रेणु यादव

‘एउटा पार्टी कमजोर भएपछि अर्को पार्टी खुसी हुनु स्वाभाविक हो’
शनिबार, २९ वैशाख २०८१, १५ : ३०
शनिबार, २९ वैशाख २०८१

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । सो पार्टीबाट अशोक राईको नेतृत्वमा सात जना केन्द्रीय नेता अलग भएर नयाँ पार्टी जनता समाजवादी पार्टी गठन गरेका हुन् ।

पार्टी विभाजनको विषयमा दुवै पक्षले आ–आफ्नो स्पष्टीकरण दिइरहेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग लामो सहकार्य गरेकी रेणु यादवले पनि उनको साथ छाडिन् । मधेस आन्दोलनदेखि सहयात्रा गरेकी उनले किन उपेन्द्र यादवको साथ छाडिन् । पार्टी विभाजनको विषयमा केन्द्रित रहेर जसपाकी सहअध्यक्ष रेणु यादवसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, सहअध्यक्ष रेणु यादवसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • अहिले जसपा नेपाल विभाजन नै सबैभन्दा बढी चर्चामा छ, त्यो पार्टीबाट तपाईंहरू किन अलग हुनुभयो ?

हामी जसपा नेपालबाट रहरले होइन बाध्यताले अलग भएका हौँ । कुनै पनि पार्टीमा विचार, सिद्धान्त, नेतृत्वको इमानदारिता, विधि विधानलगायत सबै स्वीकार्यता भएपछि मात्र जीवन्त पार्टी हुन्छ । त्यसपछि मात्र पार्टीमा एकमत भएर अगाडि बढिन्छ । जसपा नेपाल बनाउन सयौँले बलिदानी दिए, सयौँको रगत बगेको छ । हामी पनि ज्यानको पर्वाह नगरी सङ्घर्ष गरेर फोरम हुँदै जसपा नेपाल बनाएका थियौँ । त्यो पार्टी बनाउन हाम्रो कम योगदान छैन । कसैको बढी होला, कसैको कम होला, त्यो बेग्लै कुरा हो ।

तर त्यो योगदानको उपेन्द्रजीले कुनै कदर गर्नुभएन । उहाँले जे गरेको छु, म आफैँले गरेको हुँ, एक्लै गरेको छु भनेजस्तो व्यवहार गर्नुहुन्छ । एउटा पार्टी विधानलाई टेकेर सामूहिक निर्णयमा चल्नुपर्छ । तर उपेन्द्रजीले एकलौटी ढङ्गबाट अगाडि बढ्नु भयो । विधान एकातिर अध्यक्षजीको निर्णय अर्कोतिर हुन्थ्यो । कसैको कुनै सुनुवाइ हुँदैनथ्यो । जो त्यसको विरुद्धमा आवाज उठाउनु हुन्थ्यो, त्यसलाई उहाँले किनारा लगाउनु हुन्थ्यो । आवश्यक परे कारबाही नै गर्नुहुन्थ्यो । तपाईं आफैँ विचार गर्नुस्, जो व्यक्ति लगातार १५ वर्षसम्म एउटै पार्टीमा रहेर काम गरे, त्यो व्यक्तिको पार्टीमा कुनै मूल्याङ्कन हुँदैन, कुनै स्थान हुँदैन भने त्यो व्यक्तिले कस्तो अपमान महसुस गरेका होलान् !

पार्टीमा उहाँको जालझेल पनि त्यस्तै थियो । यस्तो अवस्थामा कुनै पनि स्वभिमानी व्यक्ति धेरै दिनसम्म बस्न सक्दैन । यो सुधारका लागि धेरै पटक पार्टीमा कुरा उठ्यो तर उहाँले कुनै कुराको वास्ता गर्नुभएन । अति भएपछि बाध्य भएर हामीले यो कदम उठाएका हौँ ।

हो, जिम्मेवारी दिनु भएको छ । म मान्छु तर कुनै पनि व्यक्तिलाई निर्णायक हुन दिनुभएन । उहाँ कुरा सबैको सुन्नुहुन्थ्यो, तर निर्णय आफैँ लाद्नु हुन्थ्यो ।
  • अध्यक्षले एकल निर्णय गरेर र एकात्मक शैलीले अगाडि बढेको आरोप तपाईंले लगाउनुभयो, तर हामीले हेर्दा पार्टीमा उहाँले जिम्मेवारी सबैलाई दिनुभएको छ । हरेक कुराको निर्णय बैठकबाटै गराउनु भएको छ, होइन र ?

कसैलाई जिम्मेवारी दिएरमात्र हुँदैन । जिम्मेवारी दिएर घरमा बँधुवा मजदुरजस्तो व्यवहार गरियो भने त्यो जिम्मेवारीको कुनै महत्त्व रहँदैन । अशोक राईलाई सङ्घीय परिषद्को अध्यक्ष बनाउनु भएको थियो । राजेन्द्र श्रेष्ठ त पछिल्लो समय कार्यवाहक अध्यक्ष नै बन्नुभएको थियो । नवलकिशोर साह मन्त्री हुनुहुन्थ्यो । विरेन्द्र साह केही पहिले मात्र मन्त्रीबाट हट्नु भएको थियो । म पनि कार्यकारिणी सदस्य, शिक्षा विभागमा थिएँ । अरु–अरुले पनि जिम्मेवारी पाएका थिए तर ती व्यक्तिको कुरा पार्टीमा कति चल्यो ? उसले आफ्नो जिम्मेवारी अनुसार कति काम गर्न सक्यो र पार्टीमा उसको कुरा कति चल्यो । पार्टीको कुन काममा उसलाई खटाउनु भयो ? देशमा यतिका प्रशिक्षण भयो, कुन ठाउँमा लग्नु भयो ? पार्टीका यति कार्यक्रम भएका छन्, ती कार्यक्रममा कसलाई कहाँ पठाउनु भएको छ ? मकवानपुरमा प्रशिक्षण हुँदा उहाँ आफैँ जाने, जनकपुरमा हुँदा पनि आफैँ जाने, बागमतीमा हुँदा पनि आफैँ जाने, लुम्बिनीमा हुँदा आफैँ जाने, के त्यो पार्टीमा कोही छैन ? किन उसको काम अनुसार जिम्मेवारी दिनुभएन ? मधेस प्रदेश कमिटीको हरेक बैठकमा उहाँ आफैँ जानु भएको छ, किन के आवश्यकता पर्‍यो उहाँ त्यहाँ जानलाई ? हरेक बैठक उहाँ आफ्नै उपस्थितिमा बसाउनु भएको छ, वडामा समस्या हुँदा आफैँ जानु हुन्छ । जिल्लामा समस्या हुँदा आफैँ जानु हुन्छ, प्रदेशमा समस्या हुँदा आफैँ जानु हुन्छ । के पार्टीमा अरु नेता तथा कार्यकर्ता छैनन् ? पार्टीमा के उहाँले के गर्न खोज्नुभएको हो ? पार्टीले त्यो व्यक्तिलाई कति रेस्पोन्स गर्‍यो भन्ने मुख्य कुरा हो ।

हो, जिम्मेवारी दिनु भएको छ । म मान्छु तर कुनै पनि व्यक्तिलाई निर्णायक हुन दिनुभएन । उहाँ कुरा सबैको सुन्नुहुन्थ्यो, तर निर्णय आफैँ लाद्नु हुन्थ्यो । के के गरी सबैबाट माइन्युटमा हस्ताक्षर पनि गराउनु हुन्थ्यो । लिखितमा उहाँ कहिले चुक्नु हुन्न । त्यो कुरामा अध्यक्षजी (उपेन्द्र) निकै चलाख हुनुहुन्छ । नत्र तपाईं आफैँ विचार गर्नु न, कोही बहालवाला मन्त्री पार्टीबाट अलग हुन्छ ? कोही पार्टीको कार्यवाहक अध्यक्ष पार्टीबाट किन अलग हुन्छ ? उहाँहरूको मनभित्र कति पीडा थिए, यसले पुष्टि हुन्छ ।

renu yadav (1)

अर्को कुरा अध्यक्षजीले फलानोलाई यो बनाइदिएँ, फलानोलाई यो दिएँ, फलानोलाई यो गर्दिएँ भन्नुहुन्छ । उहाँ को हुनुहुन्छ दिनेवाला ? के हामी पार्टीको नेता होइन ? सांसद बन्ने, मन्त्री बन्ने, अरु पदमा जाने हाम्रो अधिकार होइन ? मन्त्री बन्यो भने के त्यो उपेन्द्र यादवजीकै देन हो ? सांसद बन्यो भने के त्यो उपेन्द्र यादवजीकै देन हो ? उहाँको यो सोच नै गलत हो । उहाँले दिएपछि मात्र हामीले पाउने भन्ने बुझाइ नै उहाँको गलत हो । हामी राजनीति गर्छौं, हामीले पार्टी बनाएका छौँ, हामी पनि जनताका लागि काम गरेका छौँ भने पार्टीबाट सांसद, मन्त्री बन्ने कुरा कसैले दिने न दिनेमा भर पर्दैन ।

पार्टीमा विधान सम्मेलन गरेर विधान बन्यो । विधान अनुसार पालिका, वडा, जिल्ला, प्रदेशलगायत अन्य सङ्गठनहरू गठन, पुनर्गठन भयो । तर केन्द्रीय समितिहरू जस्ताको त्यस्तै रह्यो ।

उपेन्द्रजीमा यो कुराको धेरै ठुलो भ्रम रहेछ । जसले पार्टीलाई बर्बाद गर्नुभयो, ती व्यक्तिलाई उहाँले प्रमोशन गर्नुभयो । जो पार्टीका लागि दिनरात खट्नुभयो, सङ्घर्ष गर्नुभयो, त्यसलाई डिमोशन गर्नुभयो । उहाँको यो बानीले धेरै मान्छेको चित्त दुखेको छ । त्यही कारणले बिस्तारै बिस्तारै सबैले उहाँको साथ छाड्दै हुनुहुन्छ ।  

  • तपाईंहरू यति असन्तुष्टि पोख्नु हुन्छ, उपेन्द्रजीले अस्ति ‘उहाँहरूको कुनै गुनासो र असन्तुष्टि छ अथवा थियो भने मैले कार्यवाहक अध्यक्ष बनाएर अमेरिका गएको थिएँ, त्यही बिचमा पार्टीको बैठक बसाएर सबै समाधान गर्दा हुन्थ्यो नि, किन पार्टी अलग गर्नुपर्थ्यो ?’ भन्नुभयो । उपेन्द्र यादवको यो कुरा सही होइन र ?

अमेरिका जानुभन्दा अगाडि उहाँले एकदुई वटा गल्ती गरेर जानुभयो । अमेरिका गएको दिन बसेको बैठक, अघिल्लो बैठकमा म पनि सहभागी थिएँ । त्यसमा महाधिवेशनको तयारी बारेमा छलफल भएको थियो । हामीले हाम्रा कुरा राख्यौँ । राम्रै छलफल भएको थियो । त्यही बैठकबाट उपेन्द्रजीले निर्वाचन समिति पनि बनाउन खोज्नु भएको थियो । त्यसमा अशोक राईजीले रोक्नु भएको थियो । विधान अनुसार सबै गरौँ भन्नुभएको थियो । त्यो दिन उहाँले कुनै निर्णय गर्नुभएन । अमेरिका जाने दिन हतारहतार बैठक बसाउनु भयो । त्यो दिन कार्यकारिणीको बहुमत सदस्यको उपस्थिति पनि थिएन । उहाँले हतारहतार सबै निर्णय गर्नुभयो र त्यही दिन अमेरिका जानुभयो । बैठकमा भएको निर्णयको सर्कुलर आएपछि मात्र निर्वाचन समिति गठनदेखि लिएर सबै निर्णय उहाँले ठोकेर जानुभएको थाहा भयो । त्यहाँबाट झन् असन्तुष्टि बढ्यो ।

पार्टीमा विधान सम्मेलन गरेर विधान बन्यो । विधान अनुसार पालिका, वडा, जिल्ला, प्रदेशलगायत अन्य सङ्गठनहरू गठन, पुनर्गठन भयो । तर केन्द्रीय समितिहरू जस्ताको त्यस्तै रह्यो । विधान अनुसार भयो भने तलदेखि माथिसम्म सबै हुनुपर्थ्यो । विधान सबैका लागि लागु हुनुपर्थ्यो । विधान अनुसार महाधिवेशन गर्नुभन्दा पहिले पालिका, जिल्ला, प्रदेशको अधिवेशन हुनुपर्छ कि पर्दैन ? त्यो किन भएन । पार्टीको कति जना साधारण सदस्य छन्, त्यो पनि खुलाइएन । कसले पार्टीको कति सदस्यता काट्यो भन्ने कुनै तथ्याङ्क छैन । एकैपटक सङ्गठित सदस्यको कुरा आयो ।

पार्टीमा लागेका व्यक्ति पार्टीका क्याडर हुन् । उसको आफ्नो स्वाभिमान हुन्छ तर उहाँले कतिपय नेतालाई पार्टीकै बैठकमा अपमानजनक शब्द प्रयोग गर्नुभएको छ ।

सङ्गठित सदस्य हुनका लागि कुनै नै कुनै सङ्गठनमा आवद्ध भएको हुनुपर्छ भनि विधानमा उल्लेख छ । तर जथाभावी साङ्गठनिक सदस्य बनाउनुभयो । त्यही सङ्गठित सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन हुन्छ । अब तपाईं आफैँ बिचार गर्नुस्, जसले जथाभावी साङ्गठनिक सदस्य बनाउनु भएको छ भने प्रतिनिनिधि चयन कस्तो हुन्छ ? उहाँले सबै काम विधान विपरीत गर्नुभएको छ । महाधिवेशन हुनुभन्दा पहिले नै हामीलाई घेराबन्दी गर्नुभयो । राजेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्ष त उहाँले दिनुभयो तर पार्टीका सबै निर्णय गरेर सर्कुलर नै जारी गरिसक्नु भएको छ । त्यसमा कार्यवाहक अध्यक्षले के गर्नुहुन्थ्यो ? यदि बैठक बसाएर केही निर्णय उल्टाएको भए झन् विवाद र भाँडभैलो हुन्थ्यो । बरु त्यहाँबाट अलग हुनु नै उचित हुन्छ भनेर साथीहरू सल्लाह गरेर अलग भएका हौँ ।

  • पार्टी विभाजन हुने विभिन्न कारणमध्ये मुख्य कारण महाधिवेशन नै हो ?

हो, यो पनि एउटा कारण हो । अर्को कुरा, उहाँको पार्टीमा जो जो नेता काम गर्नुभयो, सधैँ अपमानित नै महसुस गर्नुभयो । कसै–कसैले भन्छन्, ‘उपेन्द्र यादवले उनीहरूलाई के दिएनन् ?’ दिन त दिनुभयो तर जहिले अपमानित गर्नुहुन्थ्यो । उहाँले बनाएका मन्त्रीहरूको हालत के हुन्छ भनेर ती मन्त्रीहरूलाई सोध्दा हुन्छ । अशोक राईलाई सङ्घीय परिषद्को अध्यक्ष बनाउनु भयो । उहाँको अवस्था त्यहाँ कस्तो थियो भनेर उहाँसँग बुझ्दा हुन्छ । पार्टी फोडेर गएकाहरू फेरि पार्टीमा फर्केर हालीमुहाली जमाएका छन् तर हामी १५ वर्षदेखि पार्टीमा निरन्तर छौँ । हामीलाई बस्ने ठाउँसम्म पनि छैन । तर जो पार्टी विभाजन गरेर गएका थिए, फेरि फर्केर आएपछि पार्टी कार्यालयमा सबै सुविधा पाएका छन्, के यो अपमान होइन ? उहाँले पार्टीमा त्यसरी जथाभावी गर्न मिल्छ ? कसैलाई काखा, कसैलाई पाखा गर्ने बानीमात्र होइन, उहाँले हरेक व्यक्तिको विकल्पमा एउटा व्यक्ति उभ्याइदिनुहुन्छ र त्यसलाई पटक पटक अपमान गरेर पार्टी छाड्ने वतावरण बनाइदिनुहुन्छ । आजसम्म जति जनाले पार्टी फोडे, पार्टी छाडे, ती सबै अपमान र स्वभिमान बचाउनका लागि नै गरेको हो ।

उपेन्द्र यादवको पछाडि जो जसले जति बोले पनि उहाँको अगाडि कसैले केही बोल्दैनन् । सबै नेताहरू उहाँसँग डराउँछन् ।

पार्टीमा लागेका व्यक्ति पार्टीका क्याडर हुन् । उसको आफ्नो स्वाभिमान हुन्छ तर उहाँले कतिपय नेतालाई पार्टीकै बैठकमा अपमानजनक शब्द प्रयोग गर्नुभएको छ । नेताहरूलाई नालायक भनेर पनि अपमान गर्नुभएको छ । कसैलाई पदबाट हटाउनु पर्‍यो भने आफ्नो मनले हटाउनु हुन्छ । आफ्नै मनले राख्नु हुन्छ, जुन कुराको जानकारी पार्टीमा आधिकारिक रुपमा कहिले हुँदैनथ्यो । मधेस प्रदेशमा पटकपटक अध्यक्ष परिवर्तन गर्नुभयो । उहाँले तर पार्टीमा कहिले छलफल भएन । यति पीडा हुँदाहुँदै पनि पार्टीको माया लागेर हामी बसिरह्यौँ तर कति त्यो अपमान र पीडा सहनु ? उहाँले यसरी बाध्य बनाएर निस्किने बाटो बनाइदिनुहुन्छ, जो कोही पनि त्यहाँबाट निस्किन्छन् ।

  • अहिले तपाईंले जे–जति कुरा भन्नुभयो, गुनासो गर्नुभयो, ती सबै कुरा महाधिवेशनबाट समाधान गर्नु सक्नु हुन्थ्यो नि ? महाधिवेशनसम्म किन पर्खिन सक्नुभएन ?

सक्ने कुरा नै हुँदैन नि ! मैले अघि नै भनेको छु कि महाधिवेशनको तयारी उपेन्द्र यादवले आफ्नै तरिकाले गर्नुभयो । त्यसमा अरु कसैलाई सामेल गराउनु भएन । साधारण सदस्य वितरण गर्नेदेखि लिएर, सङ्गठित सदस्य बनाउनसम्म उहाँले सबै सेटिङको आधारमा गर्नुभएको छ । महाधिवेशनमा कसैको दाल गल्नेवाला छैन । त्यहाँ थपडी बजाउने मात्र हो । उहाँले सबै डिजाइन बनाएर बस्नु भएको छ । त्यहाँ गएर उहाँले घोषणा गर्नेमात्र हो । महाधिवेशनबाट केही हुन्छ भन्ने हामीलाई लागेन । त्यसैले हामीले महाधिवेशनसम्म कुरेनौँ ।

renu yadav (2)

उपेन्द्र यादवको पछाडि जो जसले जति बोले पनि उहाँको अगाडि कसैले केही बोल्दैनन् । सबै नेताहरू उहाँसँग डराउँछन् । जो बोल्छन्, ती सबैको राजनीतिक जीवन उहाँले समाप्त गर्दिनुहुन्छ । त्यो डरले कसैले केही बोल्दैनन् । हामी बैठकमा पटक पटक बोल्थ्यौँ, त्यही भएर उहाँको आँखाको कसिङ्गर बन्यौँ । उहाँले आफू बाहेक कसैलाई नेता नै मान्नु हुन्न । पार्टीमा कोही अलिकति एक्टिभ हुनुभयो भने उहाँले उसको खुट्टा काटिदिनुहुन्थ्यो । हामीले धेरै कुराको अध्ययन गरेर यो कदम उठाएका हौँ । आफ्नो सानै घर भए पनि त्यहाँ चैन हुन्छ । अर्कोको ठुलो घरमा अपमान सहेर बस्न सकिँदैन ।

  • तपाईंले यत्रो मेहनत र सङ्घर्ष गरेर पार्टी बनाउनु भयो, आज त्यही पार्टी फोडेर अलग भइरहँदा आत्मग्लानि भएन ?

आत्मग्लानि त भएन तर दुख लाग्यो । पार्टी बनाउन निकै मेहनत गर्नुपर्‍यो । आन्दोलन गर्दा धेरैले सहादत दिए, मेरै सामुनेमा धेरैको ज्यान पनि गयो । पीडा भयो । पार्टी बनाउन कम्ता सङ्घर्ष गर्नुपरेन । घर बनाउन जसरी मेहनत गर्नुपर्छ, त्यो घर भत्किँदा पीडा हुन्छ । त्यसरी नै आफूले बनाएका पार्टी भत्किँदा दुःख लाग्छ तर जहाँ अपमान र ग्लानि हुन्छ, त्यो घरमा जबर्जस्ती बस्नु पनि हुँदैन । आफ्नो छुट्टै सानो, झोपडी बनाएर बस्न आनन्द हुन्छ ।

म अहिले पार्टीको सहअध्यक्ष हुँ । नयाँ पार्टी बनाउने क्रममा साथीहरूसँग थुप्रै पटक छलफल भएको हो तर त्यहाँ माओवादी र एमालेको चर्चासमेत पनि भएन ।

एकातिर आफैँले बनाएको पार्टी छोड्दा जति दुःख लाग्यो, छाडेर आइसकेपछि त्यति नै आनन्द पनि लागिरहेको छ । अब यहीँ दुःखसुख गरेर बस्छु ।

  • तपाईंले उपेन्द्र यादवमाथि जे–जे आरोप लगाउनु भयो, ती कुराहरू अशोक राईबाट पूरा हुन्छ भने तपाईंलाई विश्वास छ ?

अशोक राईजी हाम्रो पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँ एक्लै गर्न सक्नु हुन्न । उहाँको साथमा हामी छौँ, हामी सबै मिलेर गर्छौं भनी विश्वास दिलाउन चाहन्छौँ । सामूहिक नेतृत्व र सामूहिक निर्णय हुन्छ । त्यसको जस अपजसको भागिदार हामी सबै हुन्छौँ । उपेन्द्रजीले पनि सामूहिक नेतृत्व तथा सामूहिक निर्णय गरेको भए यस्तो अवस्था आउने थिएन । आज देशका सबैभन्दा ठुलो पार्टीका नेता उहाँ हुनुहुन्थ्यो । एकल निर्णय, एकल सोचका कारण उहाँसँग देशका ठुलाठुला नेता टिक्न सक्नुभएन । सङ्गठनको काम कुनै एक्लो व्यक्तिले गर्न सक्दैन । त्यसका लागि सामूहिक नेतृत्व, टिम वर्क, सामूहिक निर्णय गर्नुपर्छ र त्यसका लागि हामी प्रतिवद्ध छौँ ।

  • तपाईंहरूको पार्टी फुटाउन सत्ताधारी दल माओवादी र एमालेले सहयोग गरेको आरोप छ नि, यसमा के भन्नुहुन्छ ?

म अहिले पार्टीको सहअध्यक्ष हुँ । नयाँ पार्टी बनाउने क्रममा साथीहरूसँग थुप्रै पटक छलफल भएको हो तर त्यहाँ माओवादी र एमालेको चर्चासमेत पनि भएन । ती पार्टीका नेताहरूलाई कसैले भेटेका छन् जस्तो पनि मलाई लाग्दैन । मैले पनि कसैसँग भेटेको छैन । फोन संवाद पनि गरेको छैन । यो आरोप निराधार हो । अरु केही उपाय नलागेपछि यो आरोप लगाएका छन् । त्यो भ्रमपूर्ण आरोप हो । यो नयाँ पार्टी बनाउनुको पछाडि आफ्नै तयारी हो । आफ्नैखालको विस्फोट हो । यो पार्टी विभाजनमा कसैको हात छैन तर यति भन्छु ‘घर फुटे गवार लुटे’ भएको छ । एमाले खुसी भएको होला, माओवादी खुसी भएको होला, कांग्रेस खुसी भएको होला, अरु कोही दुःखी भएको होला, त्यो बेग्लै कुरा हो । एउटा पार्टी कमजोर भएपछि अर्को पार्टी खुसी हुनु स्वाभाविक हो ।

  • उपेन्द्र यादवले पैसाको चलखेल गरेर पार्टी फुटाएको आरोप लगाउनु भयो नि, के त्यो सही हो त ?

बिल्कुल गलत हो । उहाँले आरोप लगाउन कुनै कुरा फेला नपारेपछि त्यो आरोप लगाउनु भएको छ । हामी जति जना अहिले अलग भएका छौँ, त्यो पैसामा बिक्नेबाला होइन भन्ने कुरा उपेन्द्रजीलाई राम्रोसँग थाहा छ । यस्ता कपोकल्पित आरोप लगाएर आफ्नो गल्ती ढाकाछोप गर्ने काम उहाँले गरिरहनु भएको छ । जनतालाई भ्रमित गरिरहनु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप