बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

हलेसी तुवाचुङको सौन्दर्य र विकासको सवाल

शुक्रबार, ११ जेठ २०८१, १० : ०८
शुक्रबार, ११ जेठ २०८१

पूर्वी नेपालको मुख्य त्रिधार्मिक पर्यटकीय स्थल हो– हलेसी तुवाचुङ । 

समुद्री सतहदेखि झन्डै ४,८०० उचाइमा अवस्थित हलेसीलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति ठान्छन् । बौद्धमार्गीहरू मरातिक गुफा अथवा दोस्रो लुम्बिनी ठान्छन् । 

यस्तै, हलेसीमाथि गुराँसे मलाथुम्कामा किराती तुवाचुङ जायाजुम धार्मिक तीर्थस्थल रहेको छ । यस क्षेत्रलाई किरात धर्मावलम्बीहरू आफ्नो सृष्टिको पहिलो आदिमभूमि ठान्छन् । 

किराती चेली तयामा–खियामाले त्यस क्षेत्रमा पहिलो मानव वस्त्र बुनेको, कपडा उत्पादनको थालनी गरेको कथन छ । मलाथुम्का शिरमा कपडा तान लगाएर बुनेको तानढुङ्गा खोक्चिलिपाको थान प्रस्ट देख्न सकिन्छ । यो भूमि संसारभरि छरिएर रहेका सम्पूर्ण किराती राईहरूको आदिम सभ्यता, संस्कृतिको उद्गम स्थल मानिन्छ । 

मनोरम प्राकृतिक छटाले भरिपूर्ण प्रकृतिको अनुपम डाँडा, पाखा–पखेराहरू विभिन्न अनौठा र आकर्षक सुन्दर आकृतिका चट्टान शिलाहरूले सजिएको हलेसी हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको त्रि–धार्मिक तीर्थस्थल हो । हलेसी महादेव, त्यसैभित्र अवस्थित बौद्ध मरातिक गुफा र तुवाचुङ जायाजुम मिलाएर हलेसी तुवाचुङ नगरपालिकाको नामाकरण गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका कोशी प्रदेशमा रहेको खोटाङ जिल्लामा अवस्थित छ । जिल्लाको पश्चिम भेगमा रहेका साबिक ११ गाउँ विकास समिति समेटिएको यस पालिकाभित्र बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, दुर्छिम, बडहरे, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खौले र राजापानी रहेका छन् । राष्ट्रिय जनगणना ०६८ तथ्याङ्कअनुसार २९,५३२; जनगणना २०७८ अनुसार २७,०७८ जनसङ्ख्या रहेको यस पालिकाको क्षेत्रफल २८०.१७ वर्ग किमि रहेको छ । 

हलेसी तुवाचुङ नगरपालिका पर्यटकीय र धार्मिक तीर्थस्थल हुँदाहुँदै पनि विभिन्न विकटता, अभाव, अप्ठेरा तथा समस्या रहेका छन् । ती समस्यालाई मुख्यतः पाँच वटामा वर्गीकरण गर्न सकिन्छ ।

१) खानेपानी समस्या

यस नगरपालिका क्षेत्रको दुवैतर्फ सुनकोशी र दुधकोशी नदीले घेरिएको छ, तर यो भूभागलाई जिल्लाकै मुख्य सुक्खा क्षेत्रका रूपमा लिन सकिन्छ । 

सुक्खा क्षेत्र भएका कारण खानेपानीको स्रोत प्रशस्त नहुँदा त्यस क्षेत्रका अधिकांश नागरिक काकाकुल परिस्थितिमा बाँचिरहेका छन् । विश्व समुदायले अनेक विकासका फड्का मारिरहेको आजको अवस्थामा विनासर्त विनासवाल सहजै प्राप्त हुनुपर्ने खानेपानी नगरवासीलाई असामान्य, असहज र दुर्लभ भइदिएको छ । सामान्य, सहज र सुलभ उपलब्ध हुनुपर्ने खानेपानी घन्टौँ समय खर्चेर पनि नपाउँदा जनजीवन साह्रै कष्टकर बन्दै गइरहेको छ । 

पछिल्लो १० वर्ष (२०६८–७८)मा यहाँ २,४५४ जनाले जनसङ्ख्या घटेको छ । यति धेरै जनसङ्ख्या कम देखिनु राम्रो सङ्केत हुँदै होइन ।

खानेपानी तथा सिँचाइ अभावका कारण यहाँ मौसमीबाहेक अन्य समयका अन्नबाली, तरकारी, फलफूल लगायत व्यावसायिक खेतीपाती हुन सकिरहेको छैन । दैनिक उपभोग वस्तुमा अभाव सिर्जना भई जीविकोपार्जनमा थप कष्ट उत्पन्न भएको छ । आय–आर्जन न्यूनदेखि शून्यतिर गएको छ । महँगी बढेको छ । अभावै अभाव सिर्जना भएको छ । पछिल्लो १० वर्ष (२०६८–७८)मा यहाँ २,४५४ जनाले जनसङ्ख्या घटेको छ । यति धेरै जनसङ्ख्या कम देखिनु राम्रो सङ्केत हुँदै होइन । 

खानेपानी समस्या समाधानका लागि भनेर दुधकोशीको पानी तानेर वितरण गर्ने वाटर लिफ्टिङ प्रोजेक्ट अन्तिम तयारीमा छ, तर यसको प्रभावकारी कार्यान्वयन भइरहेको छैन । पहिलो कुरा त वाटर लिफ्टिङ प्रोजेक्ट नै विश्वभरि कम सफल भएका छन् । जहाँ सफल भएका छन्, त्यहाँ माइक्रो लेभलमा म्यानेज गर्न सक्ने क्षमता र ज्ञान भएका मानिस सामेल भएका छन् । तसर्थ दुई–चार दिन धारामा पानी तुर्किनु ठुलो कुरा होइन । निरन्तर उपलब्ध हुनु ठुलो कुरा हो । 

यसरी निरन्तर पानी प्राप्त गर्नका लागि प्राविधिकबाहेक थप अन्य तीन काम अनिवार्य गर्नुपर्ने रहेछ, त्यो आरसीसी विधिबाट गरिन्छ । यसलाई तीन काम तीन आधार विधि पनि भन्न सकिन्छ । यसले पानी प्रवाहको माध्यमलाई निरन्तर बलियो बनाउँदै भविष्यमा पानी लगायत अन्य सबै क्षेत्रमा आत्मनिर्भर बनाउन सक्छ । 

२) उद्यमशीलता, आधुनिक कृषि र बेरोजगारी 

यस नगरपालिकाको अर्को मुख्य समस्या उद्यमशीलतामा जोड नदिइनु हो । हुन त यो देशभरिको आम समस्या हो । यद्यपि, यस नगरपालिकामा उद्यमशीलताको अवस्था विकराल छ । 

उद्यमशीलतामा राम्रो भावनाले जोड दिन खोजे पनि संयोजनकर्ताको त्यससम्बन्धी योग्यता, अनुभव र क्षमता पुगेको देखिँदैन । सुक्खा क्षेत्रमा उत्पादन हुने बदामलाई केही प्रवद्र्धन गरिएको भए पनि त्यो पर्याप्त मानिदैन । सुक्खा क्षेत्रमा गर्न सकिने यस्ता थुप्रै विभिन्न परियोजना ल्याउन सकिन्छ । रिभर बैंक इन्डस्ट्रियल करिडोर, हर्बल फरेस्ट रेन्ज इन्डस्ट्रियल करिडोर, माइन हिल रेन्ज इन्डस्ट्रियल करिडोर क्षेत्र बनाएर थुप्रै उद्यम सञ्चालन गर्न सकिन्छ । 

हलेसी तुवाचुङ नगरपालिकाको क्षेत्रभित्र प्रत्येक करिडोरको तीन दर्जनभन्दा बढी तत्काल उद्योग प्लान्ट गर्न सकिन्छ । स्वरोजगार र रोजगार सिर्जना गरी आय–आर्जन बढाउन सकिन्छ, तर यी सबैमा अहिलेसम्म कुनै काम थालनी भएको पाइँदैन ।

यसो हुनुमा जनप्रतिनिधिको पनि भूमिका देखिन्छ । खासगरी योग्य, सक्षम र भिजन भएका नेता आउँदैनन् वा अवसर पाउँदैनन् । सक्षम नेतृत्व नभएकाले नै उत्पादन बढाउने कार्य अर्थात् कृषि तथा उद्यमशीलतामा प्रगति हुन नसकेको देखिन्छ । 

उद्यमीको प्रवद्र्धन नगरी र परम्परागत निर्वाहमुखी कृषिलाई आधुनिक कृषिमा प्रविधिसहित रूपान्तरण नगरी हलेसी तुवाचुङ मात्र नभई नेपालको कुनै पनि स्थानको समृद्धि सम्भव छैन, बेरोजगारी समस्या अन्त्य हँुदैन । त्यसका लागि हाल त्यस क्षेत्रमा प्राप्त साधन–स्रोत, पूर्वाधार, हावापानी र माटोको अवस्था; उत्पादन अवस्था; सामाजिक र भौगोलिक अवस्था; जनशक्तिको अवस्था आदिको तथ्यांक निकाल्नुपर्छ । तथ्यांक विश्लेषण गरी सोही अनुरुप कार्य गर्न सक्ने संयोजनकर्ता एवं प्रतिनिधि अघि सार्नु पहिलो सर्त हुन आउँछ ।

३) सामाजिक विविधता, जनचेतना र सञ्चार प्रविधि 

नगरपालिका क्षेत्रभित्र रहेका सामाजिक तथा सांस्कृतिक विविधतालाई ठिक ढङ्गले बुझ्न सकिएन र बुझ्न सक्ने क्षमता राखिएन भने हलेसी तुवाचुङको विकास मात्रात्मक हुन सक्तैन । 

प्रत्येक घर–आँगनमा पानीको धारो, रोजगार, उद्यमशीलताको उज्यालो पु¥याउन सक्नुपर्छ । सबैलाई शिक्षा र स्वास्थ्यको पहुँच दिन सक्नुपर्छ । सदियौँदेखि गरिबी, अभाव र विभेदमा बाँच्न बाध्य जनतालाई उत्पादन र समृद्धिसँग जोड््ने कार्यक्रम हुनुपर्छ । 

सांस्कृतिक विविधताले धनी छ यस नगरपालिका । यहाँ वाम्बुले, तिलुङ र चाम्लिङ लगायत लोपोन्मुख भाषा तथा संस्कृति रहेका छन् । यस सन्दर्भमा हालका जनप्रतिनिधिले सामान्य मात्रामा तिलुङ भाषामा काम गर्न खोजेको भए पनि वाम्बुले भाषा–संस्कृति लगायत अरुतिर ध्यान समेत दिएको पाइँदैन । समृद्धि भनेको आर्थिक सम्पन्नता मात्र होइन; समाजका अनेक आयाम, अवयवलाई सुदृढ, विकसित गर्दै लैजानुपर्छ । 

पर्यटन प्रवद्र्धन 

धार्मिक तथा पर्यटकीय हिसाबले प्रवद्र्धन, व्यवस्थापन र विकास गर्न हलेसी तुवाचुङमा गुरुयोजना बन्यो । विशेषगरी हलेसी महादेव मन्दिर परिसरको पुरातात्त्विक र प्राकृतिक सम्पदा संरक्षण तथा त्यस क्षेत्रको विकास गर्न बनेको गुरुयोजनाले संघीय सरकारमार्फत समेत बजेट पायो । स्थानीय सरकारका जनप्रतिनिधि र दलका नेता झन् यसैको वरिपरि बसेर दिनहुँ भाषण गर्दै हिँड्छन्, तर मन्दिर परिसर दिनदिनै कङ्क्रिटको अतिक्रमणमा परिरहेको छ । 

प्राकृतिक मनोरम डाँडापाखा र जङ्गलहरूलाई कङ्क्रिटले ओगट्न थालेको छ । भक्तजन तीर्थालुले आराम गर्ने स्थल छैनन् । मन्दिरकै मुख–मुखमा महँगा होटल बनेका छन् । बृहत गुरुयोजनामार्फत सम्पदाको कस्तो संरक्षण गर्न खोजिएको हो ? कस्तो विकास गर्न लागिएको हो ? खासमा गर्नैपर्ने के काम जनप्रतिनिधि र सरोकारवालाले गरिरहेको छ ? सोचेर सम्झेर उदेक लाग्छ । 

हुन त हामीले गरेको केही नदेख्ने भन्ने प्रश्न पनि उठ्लान् । हामीले यो ग¥यौँ, त्यो ग¥यौँ भनेर पनि भन्लान्, तर पर्यावरणीय धार्मिक पर्यटन प्रवद्र्धन गर्न योजना बनाएर कार्य गरेको हो भने यति धेरै समस्या किन देखिन्थे ? समस्या अझ विकराल बनेर यसरी किन आउँथे ? हलेसी मन्दिर परिसर सिमेन्टेड हँुदैनथे । मन्दिर परिसरदेखि पाँच सय वा हजार मिटर वरपर व्यावसायिक घर–टहरा निर्माण हँुदैनथे । आफ्नै मौलिक रैथाने पहिचान संस्कृति झल्को दिने पूर्वाधार बन्थे होलान् । 

स्थानीय रहनसहनयुक्त हलेसी तुवाचुङले आध्यात्मिक, धार्मिक हिसाबले मिथक मात्र बोकेको छैन; सांस्कृतिक भौतिक हिसाबले पृथक् पनि छ भन्नलाई मानवमैत्री, पर्यावरणमैत्री, प्रकृतिमैत्री, संस्कृतिमैत्री संरचनाको विकास गर्दै लैजान्थे होलान् । जसले गर्दा विश्वभरिबाट पर्यटक आउने अवस्था सिर्जना हुन्थ्यो होला । स्थानीय उत्पादन बढेर महँगी नियन्त्रण हुन्थ्यो होला । हिन्दु, बौद्ध  किरातीको बृहत् धार्मिक पर्यटकीय विकास, संरक्षण र प्रवद्र्धन हुन्थ्यो होला । यी सबै काम गर्न सामान्य र आंशिक योजना भए मात्र पनि सम्भव छ । 

४) शिक्षा, डिजिटल शिक्षा र सहुलियत स्वास्थ्य 

शिक्षा, डिजिटल शिक्षा र सहुलियत स्वास्थ्य सेवा नदिई समग्र विकास पूर्ण हुन सक्तैन । हलेसी तुवाचुङको विकास सन्दर्भमा मात्र नभई यो आम देशभरि नै सान्दर्भिक हुन्छ ।

विद्यमान शिक्षा पूर्ण रूपमा व्यावहारिक र सीपमूलक छैन । मातृभाषाको प्राथमिक तहको पाठ्यक्रममा हलेसी तुवाचुङले वाम्बुले, तिलुङ र चाम्लिङ भाषा समावेश गरिनुपर्र्छ । 

यस्तै विद्यालय मात्रै हुँदैन, त्यहाँ इन्टरनेटको सुविधा र प्रयोग पनि हुनुपर्छ । बोर्डिङ स्कुलले टाई झुन्ड्याउन र अंग्रेजी बोल्न सिकाउने बाहेक थप अरु प्रगति गरेनन् भन्ने हाम्रो बुझाइ हो । शिक्षा नै समाजको मानव ज्ञानको पहिलो स्रोत हो । शिक्षाकै कारण मानव समाज यहाँसम्म आइपुगेको छ । अहिलेको हाम्रो शिक्षाले कारिन्दा मात्र उत्पादन ग¥यो, विज्ञ वर्र्ग (एक्सपर्टिज क्लास) उत्पादन गर्न सकेन । रोजगार सिर्जना गर्न सकेन, बेरोजगार सिर्जना ग¥यो, विदेश जानेहरूको लर्को लगायो, असक्षम नेता जन्मायो, भ्रष्टाचार फैलायो, समाजमा अराजकता छायो । यी सबैको पिँधमा गुणस्तरहीन शिक्षाको कमी नै आउँछ । यसलाई गुणस्तरीय बनाउनु आजको आवश्यकता हो । यो तत्काल गर्न जरुरी छ । 

नगरपालिकाले स्वास्थ्यसम्बन्धी केही सराहनीय कार्य गरे पनि अहिलेसम्म गरेको त्यो सय अङ्कमा जम्मा १० प्रतिशत मात्रको काम हो । बाँकी ९० प्रतिशत काम स्वास्थ्य क्षेत्रमा थालनी नै भएको छैन । त्यसको थालनी स्मार्ट हेल्थ पोस्टबाट गर्न सकिन्छ । त्यो कुनै नौलो अभ्यास नभई स्विट्जरल्यान्डले उहिलेदेखि प्रयोग गर्दै आएको पुरानो आइडिया हो, तर यहाँका लागि नयाँ हुन सक्छ । 

त्यसपछि हाम्रै मौलिकतामा आधारित स्वास्थ्यसम्बन्धी कार्य गर्न अनिवार्य छ । तब मात्र हलेसी तुवाचुङको स्वास्थ्यमा सारभूत रूपान्तरण सम्भव छ ।  

हलेसी तुवाचुङबारे यति धेरै चासो चिन्ता किन भन्ने सवाल उठ्न सक्छ । यस सवालमा हलेसी तुवाचुङको डिकुवा दाम्ली पिपलटार यस पंक्तिकार जन्मे–हुर्केको आँँगन हो । त्यहाँको पाखा–पखेरा, छहरा, छाँगामा अझै पैतालाका डोब ताजा छन् । कहीँ कसैगरी आफ्नो जन्मदिने आमा आफू जन्मेको माटो नसम्झने को होलान् ? तसर्थ यो चिन्तन आएको हो । माथि उल्लिखित कामहरू वैज्ञानिक र परिपक्व ढङ्गले गर्नसके समृद्ध हलेसी तुवाचुङको परिकल्पना गर्न सकिन्छ ।

(लेखक नागरिक पहिलो अभियान पिपुल्स फस्ट मुभमेण्ट नागरिक आन्दोलन परिचालन केन्द्रीय कार्यदलका संयोजक हुन् )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिलनकान्छा किराती
मिलनकान्छा किराती
लेखकबाट थप