बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

यस्तो छ युवा तथा खेलकुदमन्त्रीले सार्वजनिक गरेको सय दिनको प्रगति विवरण

आइतबार, ०२ असार २०८१, २० : ३१
आइतबार, ०२ असार २०८१

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफूले मन्त्रीको कार्यभार सम्हालेको एक सय दिनको अवधिमा गरेको कामको विवरण आइतबार सार्वजनिक गरेका छन् । मन्त्री श्रेष्ठले हालसम्मको आफ्नो कार्यकालमा देशभित्र विभिन्न खेलका ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको उल्लेख गरेका छन् ।

उनले यस अवधिमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डिजिटल स्कोर बोर्ड राख्ने सम्झौता भएको र फ्लड लाइट खरिद प्रक्रिया अघि बढाइएको पनि उल्लेख गरेका छन् । मूलपानीस्थित क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको र दशरथ रंगशालाको मर्मत गरिएको पनि मन्त्री श्रेष्ठले आफ्नो प्रगति विवरणमा उल्लेख गरेका छन् ।

यसैगरी देशभरिका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारिएको पनि उनले उल्लेख गरेका छन् । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना हुने १०औँ वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि सुर्खेतमा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको पनि उनले बताएका छन् ।

यसैगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेल संघहरुको वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको पनि उनले आफ्नो एक सय दिनको कामको विवरणमा उल्लेख गरेका छन् । मन्त्री श्रेष्ठले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत आफ्नो एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री श्रेष्ठले आफ्नो प्रगति विवरणमा नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागिता भएको पनि उल्लेख गरेका छन् । यसका अतिरिक्त मिसन–२०२६ अन्तर्गत अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको सम्भावना बोकेका १० वटा खेलका खेलाडीका लागि विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको पनि उनले उल्लेख गरेका छन् ।

कतारका अमिरको नेपाल भ्रमणका क्रममा युवा तथा खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको, नेपाल स्काउटको जग्गा संरक्षण र नियमसंगत उपयोग गर्न गृह मन्त्रालयको सहयोगमा शिलबन्दी गरिएको, विद्यालयको पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न शिक्षा मन्त्रालयलाई अनुरोध गरेको तथा नेपाल स्काउट ऐन २०५० प्रतिस्थापन गरी नयाँ ऐन जारी गर्न र राष्ट्रिय खेलकुद परिषद् विकास ऐन २०७७ लाई समसामयिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाइएको पनि उल्लेख छ ।

यसैगरी मन्त्री श्रेष्ठले खेलकुद विकासका आगामी योजनाहरू पनि सार्वजनिक गरेका छन् । उनले खेल संघहरुको वर्गीकरण गरी राष्ट्रिय संघलाई आवासीय भवनसहितको खेल पूर्वाधार उपलब्ध गराउने क्रममा यस वर्ष राष्ट्रिय खेल भलिबललाई विकास गर्न जमिन उपलब्ध गराइने बताएका छन् ।

उनले खेलकुद क्षेत्रको व्यवसायीकरण गरी निजी क्षेत्रको सहकार्यमा प्रमुख खेलको प्रिमियर लिग सञ्चालन गरिने पनि बताएका छन् । सम्भावना बोकेका खेलहरूको खेलाडी खोजी गर्न विभिन्न उमेर समूहको प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

100 Days 0100 Days

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप