बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

१० वर्षअघिको चोटको बदला लिने धुनमा नेपाल

समूह ‘डी’ को दुई खेलसँगै सुपर–८ मा पुग्ने अन्तिम टोलीको टुङ्गो
आइतबार, ०२ असार २०८१, १२ : २४
आइतबार, ०२ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा सोमबार नेपाली टोलीले आफ्नो चौथो खेल खेल्दैछ । नेपालले पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्न लागेको हो । यो खेल नेपालभन्दा पनि बंगलादेशका लागि महत्त्वपूर्ण छ ।

नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । त्यसैले बंगलादेशविरुद्धको खेलमा नेपाली टोली पुरानो चोटको बदला लिने र आफ्नो प्रतिष्ठा उच्च बनाउने उद्देश्यले मात्र मैदानमा ओर्लने छ । तर, बंगलादेश भने नेपालविरुद्धको खेलमा ‘गर या मर’ को स्थितिमा रहने छ ।

हालसम्म विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने सातवटा टोलीको टुङ्गो लागिसकेको छ । बाँकी एक टोलीको टुङ्गो लाग्न बाँकी छ । विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने अन्तिम टोली बन्न बंगलादेश र नेदरल्यान्ड्स दौडमा छन् ।

nepali fan

सोमबार नै नेदरल्यान्ड्स र श्रीलंकाबिच अर्को खेल हुँदैछ । नेपाल र बंगलादेशबिचको खेल बिहान ०५ः१५ बजे सुरु हुनेछ । उक्त खेल किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा खेलिने छ । १८ हजार दर्शक क्षमताको यो स्टेडियम क्यारेबियन क्षेत्रको निकै पुरानो स्टेडियम हो ।

नेदरल्यान्ड्स र श्रीलंकाबिचको खेल भने सोमबार बिहान ०६ः१५ बजे सुरु हुनेछ । यो खेल पनि क्यारेबियन राष्ट्र सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट स्टेडियममा खेलिने छ । यी चारवटै टोली प्रतियोगिताको समूह ‘डी’ मा छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा श्रीलंका आठौँ र बंगलादेश नवौँ स्थानमा आसीन छन् । उक्त वरीयतामा नेदरल्यान्ड्स १५औँ र नेपाल १७औँ स्थानमा रहेका छन् ।

  • समूह ‘डी’ तालिकाको समीकरण

समूह ‘डी’ मा हालसम्म दक्षिण अफ्रिकाले मात्र चार खेल खेलेको छ । अन्य चारवटै टोलीले तीन–तीन खेल खेलेका छन् । त्यसैले आइतबार बिहान चार टोलीबिचको भिडन्तसँगै समूह ‘डी’ को सबै खेल सकिने छ ।

उक्त समूहमा आठ अङ्कसहित दक्षिण अफ्रिका पहिलो, चार अङ्कसहित बंगलादेश दोस्रो र दुई अङ्कसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा आसीन छन् । एक अङ्क बटुलेको नेपाल र समान अङ्क जोडेको श्रीलंका भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ ।

दक्षिण अफ्रिका यसअघि नै प्रतियोगिताको ‘सुपर–८’ चरणमा प्रवेश गरिसकेको छ । दक्षिण अफ्रिका जारी विश्वकपमो ‘सुपर–८’ चरणमा पुग्ने पहिलो टोली पनि हो । आइतबारको खेलमा नेपाललाई पराजित गरे बंगलादेश ६ अङ्कसहित सजिलै ‘सुपर–८’ चरणमा पुग्नेछ ।

नेपाल र बंगलादेशबिचको खेल बराबरी वा अनिर्णीत रूपमा सकिए पनि पाँच अङ्कसहित बंगलादेश ‘सुपर–८’ चरणमा प्रवेश गर्नेछ । तर, उक्त खेलमा नेपालसँग पराजित भए बंगलादेशी टोलीको अङ्क चार नै रहने छ । यस्तो अवस्थामा नेदरल्यान्ड्स र श्रीलंकाबिचको खेलको नतिजापछि मात्र ‘सुपर–८’ चरणमा पुग्ने आठौँ टोलीको टुङ्गो लाग्नेछ ।

nepal vs ned

अर्को खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई हराएमा नेदरल्यान्ड्सको अङ्क पनि चार नै हुनेछ । यस्तो स्थितिमा बंगलादेश र नेदरल्यान्ड्सको समान अङ्क हुनेछ र ‘सुपर–८’ चरणमा पुग्ने टोलीको टुङ्गो नेट रन रेटको आधारमा लगाइने छ ।

तर, नेदरल्यान्ड र श्रीलंकाबिचको खेल बराबरी वा अनिर्णीत रूपमा सकिए त्यसको प्रत्यक्ष असर नेदरल्यान्ड्सलाई पर्नेछ । यस्तो अवस्थामा नेदरल्यान्ड्स उपाधि होडबाट बाहिरिने छ र बंगलादेश सजिलै ‘सुपर–८’ चरणमा पुग्नेछ ।

नेदरल्यान्ड्सको टोली श्रीलंकासँग पराजितमा त बंगलादेशका लागि झन् ‘सुनमा सुगन्ध’ को अवस्था बन्नेछ । हाल बंगलादेशभन्दा नेदरल्यान्ड्स नेट रन रेटमा निकै पछाडि छ । बंगलादेशको नेट रन रेट ०.४७८ र नेदरल्यान्ड्सको नेट रन रेट –०.४०८ रहेको छ ।

  • अघिल्ला खेलमा नेपालको प्रदर्शन

जारी विश्वकपमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ । नेपाली टोली तीनमध्ये दुई खेलमा पराजित भएको छ । नेपालको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

त्यो खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले १९.२ ओभरमा अलआउट हुनुअघि एक सय ६ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले भने १८.४ ओभरमा केवल चार विकेट गुमाएर एक सय नौ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

त्यो खेलमा नेपालको ब्याटिङ र फिल्डिङ निराशाजनक देखिएको थियो । महत्त्वपूर्ण क्षणमा नेपालले दुईवटा क्याच छाडेको थियो भने एउटा रन आउटको अवसर पनि खेर फालेको थियो । त्यो खेलमा नेपालका कप्तान रोहित पौडेल बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । रोहितले सर्वाधिक ३५ रन बनाएका थिए ।

नेपालको ओपनिङ जोडी पनि सस्तैमा पेभेलियन फर्किएको थियो । ओपनर कुशल भुर्तेल सात र आसिफ शेख चार रनमा आउट भएका थिए । कप्तान रोहितका अतिरिक्त अनिल साह (११ रन), गुलसन झा (१४ रन) र करण केसी (१७ रन) ले मात्र दोहोरो सङ्ख्यामा रन बनाउन सकेका थिए । तीव्र गतिका दक्षिण अफ्रिकी बलरको आक्रमणका अगाडि नेपाली ब्याट्सम्यानहरू निरीह बनेका थिए ।

बलिङतर्फ नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले एक–एक विकेट लिएका थिए । नेपाल र श्रीलंकाबिच हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसपछि दुवै टोलीले एक–एक अङ्क पाएका थिए ।

नेपाली टोली आफ्नो तेस्रो खेलमा बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग केवल एक रनले पराजित भएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रनमात्र बनाउन सकेको थियो ।

dipendra singh

नेपाली टोलीका बलरको लगातारको आक्रमणसामु दक्षिण अफ्रिका ब्याट्सम्यान दबाबमा आएका थिए । ‘पावर प्ले’ मै पनि दक्षिण अफ्रिकाले गतिलो सङ्ख्यामा रन बटुल्न सकेको थिएन । कुशल भुर्तेलले चार र दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिएका थिए । समग्रमा नेपाली टोलीका बलरको प्रदर्शन उत्कृष्ट थियो ।

जावफी ब्याटिङमा ओलिएको नेपालले पालीको सुरुआत पनि गतिलो गरेको थियो । लामो समयदेखि नचलेको नेपालको ओपनिङ जोडीले पनि ३५ रनको साझेदारी गरेको थियो । ओपनर आसिफ शेखले ४२ र कुशल भुर्तेलले १३ रन बनाएका थिए ।

यसका अतिरिक्त चौथो नम्बरका ब्याट्सम्यान अनिल साहले पनि २७ रन बनाएका थिए । तर, यसअघिका खेलमा राम्रो प्रदर्शन गर्दै आएका कप्तान रोहित पौडेल यो खेलमा असफल देखिए । उनले खातासम्म खोल्न सकेनन् ।

अर्का अनुभवी अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि ब्याटिङमा जम्न सकेनन् । उनी ६ रन बनाउँदै पेभेलियन फर्किए । कुनै समय नेपाली टोलीलाई जितका लागि आवश्यक रनभन्दा खेल्न बाँकी बल निकै बढी रहेको अवस्थासम्म थियो ।

तर, यही हुँदा पनि नेपाल जितसम्म पुग्न सकेन । नेपाललाई अन्तिम एक बलमा जितका लागि केवल दुई रन आवश्यक थियो । तर, रन लिन दौडिएका नेपाली टोलीका ब्याट्सम्यान गुलसन झा दुर्भाग्यपूर्ण तरिकाले रन आउट हुन पुगे । त्यो रन पुरा भएको भए खेल ‘सुपर ओभर’ मा पुग्ने थियो ।

समग्रमा अन्तर्राष्ट्रिय प्रतियोगिताको लामो अनुभव बटुलेका प्रभावशाली ब्याट्सम्यानहरुले सम्हालिएर खेल्न नसक्नु र त्यसपछि आएका ब्याट्सम्यानहरुले तनावपूर्ण अवस्थामा दबाबलाई उचित तरिकाले झेल्न नसक्नु नै उक्त खेलमा नेपालको हारको कारण बन्न पुग्यो ।

  • समूहका अन्य टोलीको प्रदर्शन

बंगलादेशले भने आफ्नो पहिलो खेलमा श्रीलंकालाई दुई विकेटले हराउँदै विश्वकप यात्राको सुरुआत गरेको थियो । आफ्नो दोस्रो खेलमा बंगलादेशी टोली दक्षिण अफ्रिकासँग चार रनले पराजित भएको थियो । तेस्रो खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो ।

bangladesh

नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेदरल्यान्ड्सको टोली दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेदरल्यान्ड्सको टोली बंगलादेशसँग २५ रनले हारेको थियो ।

पूर्वविजेता श्रीलंकालको प्रदर्शन भने जारी विश्वकपमा बिर्सनलायक रह्यो । श्रीलंका सन् २०१४ को विश्वकप विजेता राष्ट्र हो । यसदेखि बाहेक पनि श्रीलंका दुईपटक फाइनलमा पुगिसकेको छ । यस्तो गौरवशाली इतिहास बोकेको श्रीलंकाले यो विश्वकपमा भने आफ्ना समर्थकलाई निराश बनायो ।

श्रीलंकाली टोली आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भयो । त्यसपछि दोस्रो खेलमा पनि श्रीलंकाली टोली बंगलादेशसँग दुई विकेटले पराजित भयो । नेपाल र श्रीलंकाबिचको खेल भने वर्षाका कारण रद्द भयो ।

  • बंगलादेशसँग बदला लिने गतिलो अवसर

आईसीसी टी–२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो ।

nepali cricket team

त्यो विश्वकपमा आईसीसीको पूर्णकालीन सदस्यमध्ये पहिलोदेखि आठौँ वरीयतामा रहेका राष्ट्र सिधै ‘सुपर टेन’ चरणमा पुगेका थिए । आईसीसीको पूर्णकालीन सदस्यमध्ये नवौँ र १०औँ वरीयतामा रहेका टोली बंगलादेश र जिम्बाबेले भने छनोट चरण पार गरेर आएका ६ वटा एसोसिएट्स सदस्य राष्ट्रसँग प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेका थिए ।

त्यतिबेला नेपालसँगै आयरल्यान्ड, अफगानिस्तान, नेदरल्यान्ड्स, संयुक्त अरब इमिरेट्स (यूएई) र हङ्कङ गरी ६ वटा एसोसिएट्स सदस्य राष्ट्रले छनोट चरण पार गरेर त्यो विश्वकपमा सहभागिता जनाएका थिए ।

त्यो विश्वकपको प्रारम्भिक चरणमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा आयोजक बंगलादेश, अफगानिस्तान र हङ्कङ पनि थिए । समूह ‘बी’ मा भने जिम्बाबे, नेदरल्यान्ड्स, आयरल्यान्ड र यूएई रहेका थिए । दुवै समूहबाट एक–एक टोली ‘सुपर टेन’ चरणमा पुग्ने प्रावधान थियो ।

नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई ८० रनले हराएको थियो । दोस्रो खेलमा नेपाली टोली टेस्ट राष्ट्र बंगलादेशसँग आठ विकेटले पराजित भएको थियो । समूहगत चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई नौ रनले हराएको थियो ।

bangladesh 2

समूहगत चरणमा नेपाल र बंगलादेश दुवैले दुई–दुई खेलमा जित र एक–एक खेलमा हारको नतिजा निकालेका थिए । बंगलादेशी टोली भने हङ्कङसँग दुई विकेटले पराजित भएको थियो । समूहगत चरणमा नेपाल र बंगलादेशको चार–चार अङ्क थियो ।

तर, नेट रन रेटमा नेपालभन्दा अगाडि रहँदै बंगलादेश ‘सुपर टेन’ चरणमा पुग्न सफल भएको थियो । बंगलादेशको नेट रन रेट १.४६६ र नेपालको नेट रन रेट ०.९३३ रहेको थियो । त्यो विश्वकपमा नेपाल झिनो अन्तरका कारणमात्र ‘सुपर टेन’ चरणमा पुग्नबाट वञ्चित भएको थियो । त्यसैले आइतबार हुने खेल नेपालका लागि बंगलादेशसँग १० वर्षअघि भोगेको नमिठो हारको बदला लिने गतिलो अवसर हो । 

  • उमेर समूहको प्रतियोगितामा हराइसकेको प्रतिद्वन्द्वी

नेपालको सिनियर टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म आईसीसीको पूर्णकालीन सदस्य राष्ट्रलाई हराउन सकेको छैन । तर, उमेर समूहको प्रतियोगितामा भने नेपाली टोलीले विभिन्न टेस्ट राष्ट्रलाई हराइसकेको छ ।

nepali fan 2

नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तान, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिजजस्ता बलिया राष्ट्रलाई पराजयको स्वाद चखाएको छ । यू–१९ विश्वकपमै नेपालले बंगलादेशलाई पनि हराएको थियो । सन् २००२ को यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो ।

त्यही विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो । समूहगत चरणको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । त्यो विश्वकपमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता पनि बनेको थियो ।

प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीलाई जिम्बाबेले एक सय ३७ रनले हराएको थियो । त्यसअघि नेपालले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशी टोलीलाई २३ रनले पराजित गरेको थियो ।

  • स्पिनरलाई साथ दिने पिच

नेपालले किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा दोस्रो खेल खेल्न लागेको हो । यसअघि नेपालले दक्षिण अफ्रिकाविरुद्धको खेल पनि यही स्टेडियममा खेलेको थियो । यो स्टेडियमको पिच खासगरी स्पिनर बलरलाई साथ दिने प्रकृतिको छ । नेपाल र दक्षिण अफ्रिकाबिचको खेलमा स्पिन बलरले कुल १२ विकेट लिएका थिए । 

  • वर्षाले खेल बिथोल्ने सम्भावना

नेपाल र बंगलादेशबिच खेल हुने दिन आइतबार किङ्सटाउनमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खेल हुने समयमा वर्षाको सम्भावना देखिएको समाचारमा जनाइएको छ । यसअघि नेपाल र श्रीलंकाबिचको खेल पनि वर्षाबाट प्रभावित भएको थियो ।

  • सम्भावित टोली

नेपाल : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिल साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्नस झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।

बंगलादेश : नजमुल होसैन सान्तो (कप्तान), तानजिद हसन, लिटन दास (विकेटकिपर), सकिब अल हसन, तोहिद हृदोय, महमुदुल्लाह, जाकेर अली, रिसाद होसैन, तानजिम हसन, तास्किन अहमद र मुस्तफिजुर रहमान । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप