बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

बाढी र पहिरोले ताप्लेजुङका २५ घरपरिवार विस्थापित

कैयौँ घर जोखिममा
आइतबार, ०२ असार २०८१, २० : ०६
आइतबार, ०२ असार २०८१

विराटनगर । तीन दिनदेखि लगातार परेको वर्षाका कारण आएको बाढी र गएको पहिरोको कारण ताप्लेजुङको जनजीवन प्रभावित भएको छ । प्राप्त सूचना अनुसार ताप्लेजुङको सिरिजंगा गाउँपालिका ६ मामांखेका २५ घरपरिवार विस्थापित भएका छन् भने केही घर जोखिममा परेका छन् ।

यस्तै पहिरोले खानेपानीको पाइप बगाएपछि तीन सय बढी घरपरिवार खानेपानीको अभावमा परेका छन् । पालिकाका अध्यक्ष लालकृष्ण चौहानले विस्थापित परिवारलाई स्थानीय विद्यालयमा सारिएको बताए । ‘उद्धारका लागि पालिकाको उपाध्यक्ष चित्रकुमारी लिम्बूसहितको टोली मामांखेमा पठाइएको छ,’ अध्यक्ष चौहानले भने, ‘राहत सामाग्री बाटो बिग्रिएको कारण पुर्‍याउन सकिएको छैन । भोली राहत पुर्‍याउँछौं ।’

taplejung pahiro (2)

वडा नम्बर ६ का सचिव विशालकुमार शाहका अनुसार भीममाया गुरुङ र गौरीमाया लिम्बुको घर पहिरोले पूर्णरुपमा पुरेको छ । गुरुङकोमा तीन र लिम्बुकोमा दुई जना बस्दै आएका थिए । पूर्णरुपले विस्थापित हुनेमा हर्कमाया लिम्बू, रनबहादुर लिम्बू, पर्शुराम लिम्बू, गंगाकमारी गौतम, भीमकुमार लिम्बू, शेरबहादुर लिम्बू, मनोज राई र कल्पना लिम्बूको परिवार रहेका छन् ।

यस्तै, मानबहादुर लिम्बू, जगतबहादुर लिम्बू, वीरबहादुर लिम्बू, इन्द्रबहादुर भट्टराई, यामबहादुर लिम्बू, बुद्धिराज लिम्बू, रविबहादुर लिम्बू, रनकुमार लिम्बू मावो, सरस्वता लिम्बू, नारायणप्रसाद भट्टराई, जानुका भट्टराई र पूर्णप्रसाद गौतमको परिवार विस्थापित भएका छन् । पहिरोबाट २४ घर उच्च जोखिममा रहेको बताइएको छ । गाउँपालिका अध्यक्ष चौहानले दिउँसो १२ बजेदेखि वर्षा रोकिएको कारण उद्धारमा सहज भएको बताए । ‘पानी पर्ने क्रम रोकिएको छ । अब पानी परेन भने राहत पुर्‍याउन थप सहज हुने थियो,’ उनले भने । 

taplejung pahiro (1)

यसैबिच फुङलिङ नगरपालिका–९ हाङदेवाको हिरिया खोलाले मे १ ज २५७९ नम्बरको बोलेरो गाडी बाढीले बगाएको छ । फुङलिङ नगरपालिका–११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बाढीले बगाएको हो ।

खोलाभित्र पसेपछि गाडीको स्टार्ट बन्द भएकाले र त्यहीबेला आएको लेदोले बगाएर १५ मिटर तल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिए । गाडीमा रहेका चालक राजकुमार पौडेल सकुशल रहेका छन् । यस्तै सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मोटरबाटोमा झरेको पहिरोले को १ झ २९५८ नम्बरको बोलेरो गाडी पुरिएको छ । पुरिएको गाडीलाई निकालिएको प्रहरीले जनाएको छ । गाडीका चालक कुमार भट्टराई भने सकुशल छन् । 

taplejung pahiro (3)

यसैबिच माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले आफ्ना कार्यकर्तालाई उद्धार र राहतमा जुट्न आग्रह गरेका छन् । ‘यस वर्षको मनसुनको सक्रियतासँगै आएको अविरल वर्षाको कारण पूर्वी पहाड ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा ठुलो जनधनको क्षति भएको छ र थुप्रै घरपरिवार विस्थापित रहेको छ,’ उनले भनेका छन्, ‘अझै पनि वर्षा जारी रहेको कारण थुप्रै गाउँ बस्ती उद्धारको पर्खाइमा रहेको भन्ने बुझिन आएकोले यथाशीघ्र उद्धार र राहतको लागि केन्द्र सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु । साथै सम्बन्धित क्षेत्रका नेता कार्यकर्तालाई आवश्यक समन्वय र उद्धार कार्यमा जुट्न अपिल गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप