बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमतीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीबिच कलह

आइतबार, ०२ असार २०८१, १९ : २५
आइतबार, ०२ असार २०८१

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाबिच कलह उत्पन्न भएको छ ।

बजेटको आकार र बजेट विनियोजनमा स्पष्टता नहुँदा मुख्यमन्त्री जम्कट्टेल आर्थिक मामिलामन्त्री थपलियासँग रुष्ट बनेका हुन् । आर्थिक मामिलामन्त्री थपलियाले सरकारको योजना र रणनीति विपरीत बजेटको आकार बढाएको र आफू अनुकूल बजेट परिचालन गरेको भन्दै मुख्यमन्त्री जम्कट्टेल असन्तुष्ट थिए ।

उनीहरूबिच शनिबार राति भनाभन भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार मुख्यमन्त्रीको विश्वासमाथि आर्थिक मामिलामन्त्री थपलियाले घात गरेका छन् ।

‘बजेटको आकार बढाउने सोचमा सरकार थिएन । बजेटको आकार चालु आर्थिक वर्षको हाराहारीमा ल्याउने थियो । तर, पछि बजेटको आकार बढ्यो । सरकारको सहमति विपरीत आर्थिक मामिलामन्त्रीले बजेटको आकार बढाएका हुन्,’ ती कर्मचारीले भने, ‘मुख्यमन्त्रीले विश्वास गरेर बजेट निर्माणमा कुनै ब्यारियर लगाउनु भएन । खुला रूपमा काम गर्न दिनुभयो । तर, आर्थिक मामिलामन्त्रीले विश्वास घात गर्नुभयो ।’

उनका अनुसार मुख्यमन्त्रीले सांसद र स्थानीय तहलाई लक्षित विशेष कार्यक्रमका लागि बजेट दिने योजना बनाएका हुन्छन् । बजेट सन्तुलित बनाउने, सरकारलाई सहज रूपमा सञ्चालन गर्न र बजेटका विषयबारे मुख्यमन्त्रीमा जवाफदेहीता रहने उनको भनाइ छ ।

ती विषयलाई समेत बेवास्ता गरेर आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट समेत कटौती गरेको उनले बताए ।

प्रदेश सांसद युवराज चौलागाईंका अनुसार बजेट सन्तुलित हुन नसकेको र आर्थिक मामिलामन्त्रीले दलगत रूपमा विनियोजन गर्न खोजेको देखिन्छ ।

कार्यकारी पदमा रहेका व्यक्तिले कुशलतापूर्वक काम गर्न नसकेको उनको भनाइ छ । बजेटमा सांसदले पाएको सिलिङ अनुसार स्थानीय तहको सिफारिसका योजना समेटिन नसकेको उनको भनाइ छ ।

विशेषगरी आर्थिक मामिला मन्त्री र मुख्यमन्त्रीको भूमिका नै स्पष्ट नभएको चौलागाईंले बताए । यस विषयमा छलफल गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

समन्वयमा अभाव थियो, अहिले समस्या छैन : मुख्यमन्त्री जम्कट्टेल

मुख्यमन्त्री जम्कट्टेलले बजेट निर्माणको क्रममा समन्वय अभाव महसुस भएको बताए । बजेट निर्माणका क्रममा सरकारको योजना र आर्थिक मामिलामन्त्रीको बुझाइमा फरक भएको उनले बताए ।

प्रदेशको स्रोत अनुसार बजेटको आकार निर्धारण गर्ने र त्यसमा सन्तुलन कायम गर्ने रणनीति सरकारको रहे पनि समन्वय अभावका कारण समस्या भएको उनले बताए । यसबारे आर्थिक मामिलामन्त्री र आफूबिच छलफल भएको जानकारी पनि उनले दिए ।

‘थोरै समस्या समन्वयका कारण भयो । त्यस विषयमा हामीले छलफल गरेका थियौँ,’ मुख्यमन्त्री जम्कट्टेलले भने, ‘सरकारको सोच र आर्थिक मामिलामन्त्रीको बुझाइ फरक भयो । जसले गर्दा बजेटको आकार र सन्तुलनका विषयमा समस्या भयो ।’

तर मन्त्रीपरिषदबाट बजेट पारित भइसकेकाले अब कुनै समस्या नरहेको उनले प्रस्ट पारे । ‘प्रदेश सरकारको बजेट ६४ अर्ब ५४ करोड रुपैयाँ हो । त्यसैमा रहेर काम गर्नुपर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप