बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

महानगर अध्यक्षलाई गरिएको कारबाही २४ घण्टाभित्र फिर्ता लिन चेतावनी

शनिबार, ०१ असार २०८१, २२ : ३५
शनिबार, ०१ असार २०८१

विराटनगर । नेकपा एमाले मोरङको चरम विवाद उत्कर्षमा पुगेको छ । एमाले मोरङका निवर्तमान अध्यक्ष ऋषिकेश पोखरेलको योजनामा विराटनगर महानगर अध्यक्ष सागर थापासहितलाई निलम्बन गरिएपछि विवादले उग्र रूप लिएको हो । एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले शुक्रवार विराटनगर अध्यक्ष सागर थापासहित तीन जनालाई निलम्बन गरेको विषय सार्वजनिक भएको थियो । 

त्यसको भोलिपल्ट शनिबार थापालाई गरिएको कारबाही २४ घण्टाभित्र फिर्ता लिन महानगरका १९ वटै वडाका इन्चार्ज, अध्यक्ष र सचिवहरूले जिल्ला अध्यक्ष कार्कीलाई चेतावनी दिँदै ज्ञापन पत्र दिएका छन् ।

उनीहरुले विराटनगर–३ मा रहेको मानगढ खानेपानीको विषयमा अध्यक्ष थापासहित तीन जनालाई गरेको कारबाहीको विरोध गरेका छन् । पार्टीको आधिकारिक निर्णय समेत नभएको विषयमा कामचलाउ जिल्ला सङ्गठन समितिको अध्यक्ष कार्कीले जिल्ला कमिटीको बैठकमा निर्णय र माइन्यूट नै नभएको विषयमा विधान विपरीत कारबाहीको चिठ्ठी दिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

उनीहरुले खानेपानी संस्थामा निर्वाचनको बहानामा एमालेलाई नै सिध्याउने खेल भएको भन्दै कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन् ।  एमाले मोरङको पार्टी कार्यालय विराटनगरस्थित पाञ्चालीमा पुगेर उनीहरुले ज्ञापन पत्र बुझाउँदै स्थानीय कार्यकर्ताहरूको भावना विपरीत निर्णय गरेर पार्टीकै छवि धुमिल बनाउन खोजेको आरोप लगाए ।

नेकपा एमाले मोरङले अध्यक्ष सागर थापा, महानगर कमिटी कार्यालय सदस्य नवराज नेपाल र मानगढ खानेपानीको अध्यक्षका उम्मेदवार भएका एमाले वडा कमिटी ३ का अध्यक्ष लालमणि भट्टराईलाई कारबाही गरेको थियो ।

यस्तै वडा नम्बर ३ का वडा सदस्य सुरज न्यौपाने र जिल्ला सदस्य मुकेश बुढाथोकीलाई स्पष्टीकरण सोधेको थियो । पार्टीको निर्णय विपरित उम्मेदवार बनेको, उम्मेदवारको प्रचार प्रसार गरेको आरोप उनीहरूलाई लागेको छ । 

१९ वटै वडाको तर्फबाट जारी गरिएको अपिलमा भने अमुक नेताको व्यक्तिगत कुण्ठा पुरा गर्न पार्टीको गरिमामय पदको दुरुपयोग भएको भन्दै नेकपा एमाले पार्टीलाई विराटनगर महानगरपालिका भित्र कमजोर बनाउन षड्यन्त्र गरिएको उल्लेख गरिएको छ ।

‘...मानगढ खानेपानी संस्थाको नियमित निर्वाचनमा उम्मेद्वारी दिएको, समर्थन गरेको आधारमा कारबाही गरिनु पार्टी विधान बर्खिलाप कार्य हो । अमुक नेताको व्यक्तिगत कुण्डा पुरा गर्न पार्टीको गरिमामय पदको दुरुपयोग हो भन्ने हाम्रो ठहर छ । ....सम्पूर्ण कारबाहीको प्रक्रिया नियोजित हो र नेकपा एमाले पार्टीलाई विराटनगर महानगरमा कमजोर बनाउने षड्यन्त्र हो भन्ने हाम्रो ठहर छ,’ अपिलमा उल्लेख छ । 

२४ घण्टाभित्र कारबाही फिर्ता नगरे हुने क्षतिको जिम्मा जिल्ला पार्टी कमिटीका नेतृत्वले लिनुपर्ने चेतावनी अपिलमा उल्लेख गरिएको छ । ‘पार्टी महानगर अध्यक्षजस्तो सम्मानित पदलाई पार्टी राजनीतिसँग असम्बन्धित उपभोक्ता समितिको सामान्य निर्वाचनको विषयलाई लिएर लिखित स्पष्टीकरण समेत नसोधी पार्टी सदस्यता समेत निलम्बन गरिनु खेदजनक छ,’ उक्त अपिलमा भनिएको छ, ‘.... हामी सम्पूर्ण वडाका पदाधिकारी, महानगर सदस्य, जिल्ला सदस्य लगायतका सिङ्गो पार्टी परिवार विधिको शासन, स्वतन्त्र न्यायपालिका र पार्टी विधान र पद्धतिको रक्षाका लागि यो अवैधानिक कार्य २४ घण्टाभित्र फिर्ता लिए मिसन २०८४ सफल पार्न जोगदार माग गर्दछौँ ।’

आफूहरूको आग्रहलाई बेवास्ता गरिए त्यसको क्षतिको जिम्मेवारी जिम्मेवार नेतृत्वकै हुने अपिलमा उल्लेख छ ।  यस्तै पार्टी कार्यालय पाञ्चालीमा भेला भएका १९ वटै वडाका पदाधिकारी तथा अध्यक्षहरूले शुक्रवार बसेको वडा कमिटी अध्यक्षको बैठकको निर्णयको माइन्यूट समेत हस्तान्तरण गरेका छन् ।

के हो विवाद ?

गत जेठ १९ गते विराटनगर ३ को मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा एमाले समर्थक लालमणि भट्टराई र राम घिमिरे उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा अध्यक्ष पदको लागि घिमिरे आधिकारिक उम्मेदवार रहेको एमाले मोरङका अध्यक्ष कार्की पक्षको जिकिर छ ।

थापा पक्षले भने अध्यक्षका अर्का उम्मेदवार लालमणि भट्टराईलाई समर्थन गरेका थिए । सोही कारण एमाले जिल्ला समितिले महानगर अध्यक्ष थापा र उपसचिव नेपालमाथि कारवाहीको डन्डा चलाएको हो । भट्टराई एमाले ३ नम्बर वडा समितिका अध्यक्ष पनि हुन् । 

घिमिरेलाई भने खानेपानीको अध्यक्ष भएर २७ वर्ष चलाउँदा भ्रष्टाचार गरेको आरोप छ । त्यसबेलै विवाद देखिएपछि एमाले जिल्ला समितिको जेठ १८ गते बसेको बैठकले सो प्रकरणमा छानविन गर्न जिल्ला कमिटी उपसचिव शान्ति लिम्बूको संयोजकत्वमा रविन थापा र काजीबहादुर बस्नेत सदस्य रहेन गरी समिति गठन गरेको थियो । सो समितिका सिफारिसका आधारमा तीन जनामाथि कारबाही र एक जनालाई स्पष्टीकरण सोधिएको थियो । 

उता, मानगढ खानेपानीको निर्वाचनमा भने मतदानकै समयमा विवाद भएको थियो । सोही विवादकै कारण मतगणना भने अझै हुन सकेको छैन । निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेस निकटकाले उच्च अदालतमा रिट दर्ता गरेका छन् । सोही रिटका आधारमा अदालतले तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ । उक्त मुद्दाको पेशी आउँदो असार ३ गतेलाई तोकिएको छ । 

एमालेले अन्य जिल्लामा अधिवेशन सम्पन्न गरिसक्दा मोरङमा भने अझै हुन सकेको छैन । एमाले मोरङको नेतृत्वमा रहेको ऋषिकेश पोखरेल पक्षले अधिवेशनमा आफ्नो टिम पराजित हुने भयका कारण अधिवेशन नगरेको र अधिवेशनलाई प्रभावित गर्ने गरी खानेपानीको निर्वाचनलाई बहाना बनाएर अर्को पक्षलाई कारबाही गरेको थापा पक्षको आरोप छ ।

eeee

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप