बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था समिति बैठक

राज्यव्यवस्था समितिमा एनजीओको खाजा, गृहमन्त्री लामिछानेको बहिष्कारपछि बैठक नै स्थगित

आइतबार, ०२ असार २०८१, १९ : ००
आइतबार, ०२ असार २०८१

काठमाडौँ । आइतबार बिहान सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक कक्षमा अचम्मको दृश्य देखियो । बिहान ८ बजेका लागि बोलाइएको बैठकको विषय थियो– ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ।’  

तर बैठक कक्षमा पुगेका सांसदहरू आश्चर्यमा परे । उनीहरूको टेबल अगाडि चम्चा काँटा र स्पेसल खाजाको व्यवस्था थियो ।  छलफलका लागि बोलाइएको गृहमन्त्री रवि लामिछाने समयमै बैठक कक्षमा पुगेका थिए । सांसदहरू बैठक कक्षमा छिर्ने बित्तिकै उनीहरूलाई पाइलट पेन र डायरी बाँडियो । रेस्टुरेन्टको स्टाइलमा नेप्किन, काँटा चम्चासहित खाजाको व्यवस्था देखेपछि सांसदहरू चकित परेको स्रोतले बतायो ।  

सांसदहरूले सोधे– ‘के हो आज समितिमा यस्तो नयाँ चीज पो देखियो त ।’ त्यसपछि समिति सभापति रामहरि खतिवडाले ठट्टा गर्दै भने– ‘आज बैठकमा माननीय गृहमन्त्री आउनुभएको भएर विशेष व्यवस्था गरिएको हो ।’

त्यसपछि कांग्रेस सांसद हृदयराम थानीले यो विषय मजाक रमाइलो त होला तर विषय गम्भीर पनि हो भन्ने कुरा राखे । उनले समितिमा कहिलेदेखि यस्तो सुरुवात गरिएको हो, पहिले कहिले देखिएको थिएन । समितिमा हामीले यसरी खाजा खुवाउन थाल्ने हो भने भोलिदेखि अरू समितिले पनि माग गर्ने होलान्, हामीले कति धान्न सकिन्छ भन्ने कुरा राखे । 

कांग्रेसका सांसदहरू हृदयराम थानी, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रास्वपा सांसद चन्दा कार्की लगायतले समितिमा ल्याइएको खाजाको बारेमा प्रश्न उठाएको स्रोतको भनाई छ ।   

त्यसपछि गृहमन्त्री लामिछानेले के हो यस्तो नयाँ चिज देखियो, यसबारे प्रस्ट पार्नुपर्‍यो भनेर सभापति खतिवडालाई आग्रह गरे । सभापति खतिवडाले यो हाम्रै चिज हो, आन्तरिक रूपमा व्यवस्थापन गरिएको भनेर जवाफ दिए । खाजा खाउन्जेल समितिको कार्यकक्षको दुवै ढोका लगाउन उनले मर्यादा पालकलाई निर्देशन समेत दिएको स्रोतले बतायो । 

त्यसपछि आन्तरिक रूपमा यसरी स्पेसल खाजाको व्यवस्था गर्ने हो भने समितिले धान्न सक्दैन भन्ने कुरा सांसदहरूले उठाए । खाजाको विषयमा विवाद चर्किएपछि समिति सचिव सुरज दुराले खाजा स्पोन्सर्ड अर्थात कसैले प्रायोजन गरेको बताए । त्यसपछि खाजा कसले प्रायोजन गरेको हो भन्ने विषयमा सांसदहरूले प्रश्न उठाए ।

प्रायोजन हो भने बाहिरको मान्छेको होला, हामीले समितिमा छलफलका लागि बोलाउने र उनीहरुले दिएको खाजा खाने यो त भएन, यो अलि अशोभनीय देखियो भन्ने कुरा गरे । खाजाको विषयमा विवाद चर्किएपछि एनजिओ प्रतिनिधि जुरुक्क उठेर सबैलाई नमस्कार गरे । उनले आफ्नो संस्थाले खाजाको व्यवस्था गरेको बताए ।  ती व्यक्तिले सांसदहरूलाई होटलमा लगेर छलफल गराउने कुरा पनि भएको तर संसदीय समितिमै छलफल गर्ने भनेर व्यवस्था गरेको भनेर भूमिका बाँध्न थाले । 

त्यसपछि गृहमन्त्री लामिछानेले भूमिका बाँध्नुपर्दैन, संसदीय समितिमा छिरेर खाजा किन दिनुपर्‍यो त्यो पहिला भन्नुस् भन्दै प्रश्न गरेका थिए । अन्यथा होइन बाहिर होटलमा कार्यक्रम गर्नुभन्दा संसदीय समितिमै कार्यक्रम गरौँ, खाजा पनि खाऔँ भनेर यस्तो गरिएको एनजिओ प्रतिनिधिले बताए । 

राज्यको प्रतिनिधिको समिति जहाँ राज्यका लागि बनाइने कानुनको विषयमा छलफल हुने, कानुन के बनाउने कस्तो बनाउने छलफलमा अर्कैले प्रायोजन गरेको खाजा खाएर छलफल गराउन खोजेपछि यसमा धेरै शंका गर्ने ठाउँ देखियो, यसरी छलफल अगाडि बढाउनु हुँदैन भन्दै जुरुक्क उठेर गृहमन्त्री लामिछाने समितिको हलबाट बाहिरिएर मन्त्रालय तर्फ लागे । 

गृहमन्त्री लामिछाने उठेर गएपछि अरू सांसदहरूले पनि सभापति ज्यू समितिको बैठकमा यो राम्रो भएन । मन्त्री नै गएपछि अब छलफल अगाडि बढाउने कुरा भएन, हामी पनि यहाँ बस्ने कुरा भएन भन्दै बैठक कक्षबाट बाहिरिएका थिए । 

मन्त्री र सांसदहरूले खाजाको विषयमा प्रश्न उठाउँदै बैठक नै बहिष्कार गरेपछि समितिको बैठक स्थगित भएको थियो ।  समितिका सचिव सुरज दुराले बैठक समितिको आफ्नै भए पनि संस्थाको तर्फबाट लजिष्टिक सहयोग मात्रै गरेको बताए । एलएक्सपिटीडी भन्ने संस्था जनसङ्ख्या र विकाससम्बन्धी काम गर्ने संस्था रहेको उल्लेख गरे । 

आजको बैठक स्थगित भएको बताए । सांसदहरूले बाहिरको व्यक्ति संस्थाको खाजा समितिमा नल्याइयोस्, खाजा खुवाउने हो भने नेपाल सरकार अर्थ मन्त्रालयबाट बजेट मागेर ल्याउन सांसदहरूले आग्रह गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप