बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

गंगा दशहराका अवसरमा बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो

आइतबार, ०२ असार २०८१, १९ : ३७
आइतबार, ०२ असार २०८१

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । जेठ शुक्ल पक्ष दशमी तिथिमा यो मनिदरमा गंगा दशहरा पूजा तथा मेला लाग्ने गर्दछ ।

बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष पदमराज जोशीका अनुसार असार २ देखि ५ गतेसम्म मेला लाग्नेछ । आइतबार मेलाको पहिलो दिन ३ लाखभन्दा बढी दर्शनार्थी आएको जोशीले बताए ।

बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले दर्शनार्थी, आगन्तुक एवं धार्मिक पर्यटकलाई लक्षित गरी सतर्कता बढाएको छ । समितिका अध्यक्ष जोशीले मन्दिर तथा मेलाको सुरक्षाका लागि सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिनुको साथै स्वयंसेवक समेत परिचालन गरिएको जानकारी दिए ।

मेलामा खानेपानीको व्यवस्था गरिनुको साथै शौचालय, बस व्यवसायीहरूको सहकार्यमा धनगढीदेखि मन्दिरसम्म बस सञ्चालन गरिएको छ ।  

यसैबिच धनगढी उपमहानगरपालिकाले आइतबार  गंगा दशहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्दिर क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने उद्देश्य रहेकाले स्थानीय बिदाको रूपमा आइतबार सार्वजनिक बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

बेहडाबाबा मन्दिर सुदूरपश्चिमको मात्रै नभइ मुलुककै बहुचर्चित धार्मिक आस्थाको केन्द्र मानिन्छ । यो मन्दिरमा विभिन्न मनोकांक्षा लिएर भक्तजन आउने गर्दछन् ।

बेहडाबाबा मन्दिर कैलाली सदरमुकाम धनगढी बजारस्थित क्याम्पस चोकबाट करिब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करिब ६ किलोमिटर दक्षिणमा अवस्थित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप