सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप, सत्तारुढ दलहरू सभामुखको बचाउमा

शुक्रबार, ११ जेठ २०८१, १५ : ५५
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पनि कांग्रेसले अवरोध गरेको छ । 

कांग्रेसको अवरोधको कारण प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो । बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए भने सांसदहरूले बोल्नका लागि समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले बोल्नका लागि वातावरण बनाउन भन्दै बसेर सहयोग गर्न आग्रह गरेका थिए । तर का‌ग्रेस सांसदहरू बस्न तयार नभएपछि सभामुखले कुनै कार्यसूची अगाडि नबढाई बैठक स्थगित भएको जानकारी गराएका थिए । 

बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका सांसदहरूले सभामुख सत्ताको इसारामा चलेको आरोप लगाए । सांसद प्रदीप पौडेलले सभामुखले काँग्रेस सांसदहरूलाई बोल्न नदिएको भन्दै संसद् प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरिएको बताए । उनले सत्ताको इराशामा संसद् एकलौटी ढंगले चलाउन खोजिएको आरोप लगाए ।

उनले भने,‘प्रतिपक्षले बोल्न पाउनुपर्‍यो भन्दा सभामुखले बोल्न दिनुभएन । संसद् प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालको संसद्ले उल्लंघन गरेको छ । सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ । सभा सुरु हुनु अगाडि प्रतिपक्षको कुनै सांसदले बोल्न पाएको स्थिति थियो । आज त्यो पनि बन्द गरिएको छ । त्यसबाट संसद् एकलौटी ढंगबाट चलाउने, जर्बजस्त गर्ने, सभामुख सम्पूर्ण रूपमा सत्ताको इसारामा चल्ने स्थिति बनेको छ ।’

यता, सत्तारुढ दल नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलका सांसदहरूको अवरोधका कारण आफूहरूले बोल्न नपाएको बताए । प्रमुख प्रतिपक्ष दलका सांसदहरू पालैपालो बोलिरहेका भएपनि सत्ता पक्षका सांसदहरू भने बोल्न नपाएको उनको भनाई छ । उनले कांग्रेस सांसदहरूले सभामुखप्रति धारे हात लगाएर नाराबाजी गर्ने गरेर अशिष्ट र अशोभनीय शैली अपनाएको बताए । उनले छिटोभन्दा छिटो संसद् खुल्नुपर्नेमा जोड दिए ।

उनले भने,‘ यो संसदमा प्रमुख प्रतिपक्षले जे कुरा राख्नुभयो, बोल्न पाउनुपर्छ भन्नेकुरा त्यही कुरा हामी सत्तापक्षले पनि भन्दै आएका छौँ । प्रमुख प्रतिपक्षको कारणले गर्दा कोहीपनि सांसदहरूले बोल्न पाएनन् । देशभरका समस्याहरू संसदमार्फत् सरकारलाई सुनाउने, सरकारलाई खबरदारी गर्ने सांसदको अधिकार हो । त्यो अधिकार दुई महिनादेखि नेपाली कांग्रेसका माननीयज्युहरुले अवरोध गरिरहनु भएको छ । कांग्रेसका माननीयज्यूहरुले त बोलिरहनु भएको छ । पालो फेरि फेरि सबैलाई पुर्‍याउनु भएको छ । बोलिरहनु भएको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले  कांग्रेसले विगतमा आफू बोल्ने र संसद् अवरोध गर्ने गरेको भन्दै शुक्रबारको बैठकमा बोल्ने भए सबैलाई बोल्ने वातावरण बनाउनेगरी बैठक अगाडी बढाउन खोज्नुभएको बताए । उनले कार्यव्यवस्था परामर्श समितिको सल्लाहमा काँग्रेस सांसदहरूलाई बोल्न नदिने नभनिएको स्पष्ट पारे । प्रमुख सचेतक परियारले सहकारी प्रकरणमा छानबिन समिति बनाउने विषयमा आइतबारसम्म सहमति जुट्ने बताए ।

उनले भने,‘प्रतिपक्षले बोल्न दिएन भनेर आरोप लगाउन स्वाभाविक भयो । बोल्न नदिएको अवस्थामा । तर विगत लामो समयदेखि सदन चल्ने, सदन बस्ने अनि विरोध गर्ने । विरोध पछाडि प्रमुख प्रतिपक्षले अथवा कोही अमुक सांसदले केही कुरा राख्ने आफ्नो मुद्दा स्थापित गर्ने र सदन बन्द गर्ने हिँड्ने । यो खालको भएको थियो । सभामुखको आजको भनाई के मात्र हो भने बोल्नलाई सबैजना बोल्ने । तर बोल्नका लागि तपाईँहरू वातावरण बनाउनुस् भन्ने हो । कुनै कार्यव्यवस्थामा सल्लाह भएर उहाँहरूलाई बोल्न नदिने भनिएको होइन । सभामुखज्यूलाई जे उचित लाग्यो त्यो गर्नुभयो । आइतबारसम्म सहमति जुट्ने र संसद् अगाडि बढ्नेछ ।’

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षलाई संसदमा बारम्बार बोल्न दिइएको बताए । उनले समस्या समाधानका लागि प्रधानमन्त्रीले प्रयास गरिरहेको बताए । समस्या समाधानका लागि कार्यदलले निचोड निकाल्ने उनको भनाई छ ।

त्यस्तै नेकपा(माओवादी केन्द्र)कै सांसद लेखनाथ दाहालले  कांग्रेसको अवरोधका कारण महिनौदेखि संसदमा बोल्न नपाएको बताए । उनले कांग्रेस सांसदहरूले आफूहरुको मौलिक हकको अपहरण गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप