सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रले भदौमा हुने मधेस प्रदेश सम्मेलनको तयारीस्वरूप बढायो गतिविधि

शुक्रबार, ११ जेठ २०८१, १६ : १६
शुक्रबार, ११ जेठ २०८१

काठमाडौँ । माओवादी केन्द्रले भदौमा मधेस प्रदेश सम्मेलन गर्ने गरी कार्यक्रम अगाडि बढाएको छ । माओवादीले कार्यविभाजनसँगै सोही अनुसार प्रदेशमा राजनीतिक गतिविधिलाई अगाडि बढाएको छ ।

पार्टीले निर्वाचन तथा जिल्ला तहमा कार्यक्रम अगाडि बढाएको मधेस प्रदेशका सहइन्चार्ज विश्वनाथ साहले बताए । मधेस प्रदेशका पाँच वटा जिल्लाको कार्यक्रम सम्पन्न भइसकेको छ । बाँकी ३ जिल्लामध्ये धनुषामा शुक्रबार कार्यक्रम भइरहेको छ । महोत्तरी र सिरहामा कार्यक्रम हुन बाँकी छ ।

महोत्तरी, धनुषा तथा सिरहामा अलि बढी नै विवाद रहेकाले समय लागेको बताउँदै उनले बाँकी जिल्लामा पनि समन्वय गरेर चाँडै कार्यक्रम गरिने जानकारी दिए ।

माओवादी केन्द्र मधेस प्रदेश समितिको सम्मेलन अगामी भदौमा गर्ने निर्णय पार्टीले गरेको छ । सोही अनुसार तल्लो तहदेखि कार्यक्रम भइरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवले बताए ।

उनले भने, ‘मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरूलाई क्षेत्रमा खटाइएको छ । पालिका तथा वडाको सम्मेलन गरी समिति बनाउने र कार्यविभाजन गर्ने काम भइरहेको छ ।’

मधेस प्रदेशमा यो खालको गतिशीलता पहिलो पटक देखिएको यादवको भनाइ छ । सबै नेताहरू आ–आफ्नो क्षेत्रमा खटिएका र समितिहरू बताउँदै कार्यविभाजन गरेर काम अगाडि बढाइरहेको उनले बताए ।

पार्टीका कार्यक्रम गर्नुको साथै मधेस प्रदेशमा देखिएको विवाद समाधानका लागि पनि पहल भइरहेको छ । केही जिल्लामा पार्टीका आन्तरिक विवाद रहेको र त्यसलाई कसरी समाधान गर्ने भन्नेबारे पनि छलफल भइरहेको उनले बताए ।

सहइन्चार्ज साहले हालसम्म विवाद जहाँको त्यहीँ रहेको र समाधानको प्रयास जारी रहेको जानकारी दिए । उनले भने, ‘वडा तहदेखि समिति निर्माण हुँदै माथिसम्म आउँदैछन्, कार्यविभाजन पनि भइरहेकाले पार्टीभित्र देखिएका विवाद आफैँ समाधान हुँदै जाने विश्वास लिएका छौँ ।’

समिति गठन गरी कार्यविभाजन गरेर पार्टीलाई क्रियाशील गराएपछि सबै आ–आफ्नो काममा व्यस्त हुने र विवाद पनि आफैँ समाधान हुने उनको बुझाइ छ ।

केन्द्रीय सदस्य यादवले तीन महिने अभियानमा पनि माओवादीले थुप्रै काम गरेको बताए । ‘भइसकेका कामलाई आत्मसात् गर्दै अरु बाँकी कामलाई अगाडि बढाउने तयारी भइरहेको छ,’ उनले भने ।

‘जनतासँग माओवादी’ नाम दिएर पार्टीले तीन महिने अभियान सञ्चालन गरेको थियो । त्यतिबेला जनतासँग घुलमिल गर्दै दुःखसुखको कुरा भन्ने काम भएको बताए ।

त्यतिबेला सङ्गठन बनाउनुभन्दा पनि माओवादी अझै क्रियाशील छ भन्ने सन्देश दिने र जनतासँग घुलमिल हुने उद्देश्यले कार्यक्रम गरिएको उनको भनाइ छ ।

जनताको विश्वास अझै माओवादीमाथि देखिएको बताउँदै यादवले पार्टीभित्रका विवाद व्यवस्थापन गरेर साङ्गठनिक कामलाई अगाडि बढाएमा अहिले पनि मधेसमा माओवादीको धेरै सम्भावना रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप