शनिबार, ०८ असार २०८१
ताजा लोकप्रिय

सस्तो मूल्यमा मकै बेचेर महँगोमा दाना खुवाउँदै किसान

उपमहानगरले दिएको पशुपालन तालिमपछि आफै दाना उत्पादन गर्ने
मङ्गलबार, २९ जेठ २०८१, ०८ : ४२
मङ्गलबार, २९ जेठ २०८१

बारा । पशुपालक किसानहरूले आफूले उत्पादन गरेको मकै सस्तो मूल्यमा बिक्री गरेर गाई भैँसीलाई महँगो मूल्यमा दाना किनेर खुवाउने गरेको छन् । 

ग्रामीण भेगका किसानहरूले आफूले उत्पादन गरेको कृषि उपजहरू (धान, मकै, गहुँ, मुसुरो) बाटै घरमा दाना बनाउन सकिन्छ भन्ने ज्ञान नहुँदा महँगो दाना, चोकर किनेर खुवाउन बाध्य भएका हुन् । 

पशु चिकित्सक डा.सुदीप कुमार शर्माले पशु,चौपायहरुबाट दुध र मासु उत्पादन बढाउन किसानहरूले घरमै बनाएको दाना उत्तम हुने बताएका छन् । 

उनले ग्रामीण भेगमा किसानहरूले आफूले उत्पादन गरेको मकै २५ देखि ३० रुपैयाँ प्रतिकिलोमा बेचेर ७०÷८० रुपैयाँ किलोमा दाना किनेर खुवाउने गरेको बताए । 

‘किसानले २५ रुपैयाँ÷३० रुपैयाँ किलोमा मकै बेच्ने तर महँगोमा दाना किन्ने रहेछन्, दानाको राजा मकै हो, यहि दानालाई हामीले सदुपयोग गरेर गाई, भैँसी, बाख्राहरूलाई खुवायो भने आर्थिक रूपमा बचत त भयो नै गाईभैँसीले दुध पनि धेरै दिन्छ’ पशु चिकित्सक डा. शर्माले भने ‘हामीले आफ्नै घरमा भएका धान, मकै, गहुँबाट दाना बनाएर खुवायो भने बाँझोपनको र दुध घट्ने समस्या निराकरण गर्न सकिन्छ ।’

पशु चिकित्सक शर्मा गाईभैँसीमा थुनेला रोगको ठुलो समस्या देखिएको र यसको लागि दुध दुहुने तरिका र खानपानमा सही भयो भने ९० प्रतिशत थुनेलोको समस्या समाधान हुन बताएका छन् । 

प्रायः किसानहरूले गाईभैसीलाई बिहान र बेलुका मात्रै दाना खुवाउने गर्दछन् । तर  दिउँसो दाना खान नदिँदा पेटमा ग्याँस बढ्ने  र यसको प्रत्यक्ष असर दुध उत्पादनमा देखिने गर्दछ । 

‘बिहान १० किलो बेलुका १० किलो दाना दिनुहुन्छ भने त्यसलाई ३ भाग, ४ भाग लगाएर खुवाउनु भयो भने दुधपनि कम भएन, जनावरको पेटमा शुष्म जीवले काम गर्ने तरिका पनि ब्यालेन्स हुन्छ’ शर्माले भने ।

ग्रामीण भेगमा अधिकांश स्थानीयहरूको मुख्य पेशा पशुपालन र कृषि नै हो । किसानहरूले आफूले उत्पादन गरेको कृषि उपजहरूको महत्त्व बुझ्न  बुझाउन जीतपुर सिमरा उपमहानगरले वडा नं १७ र १८ का पशुपालन गर्ने किसानहरूलाई आजदेखि ५ दिने एडभान्स पशुपालन तालिम सञ्चालन गरेको छ । 

p4

जीतपुर सिमरा उपमहानगर उद्यम विकाश शाखाका कार्यक्रमका सहजकर्ता दिपनारायाण रायले  पशुपालन सम्वन्धि तालिम मार्फत पशुपालन किसानहरूलाई आफूले उत्पादन गरेको कृषि उपजको महत्त्व बुझाउने बताएका छन्  । ‘हाम्रो तालिमको मुख्य उद्देश्य भनेको पशुपालक किसानहरूलाई अझ व्यावसायिक र सक्षम बनाउने घरेलु उत्पादनबाटै दाना बनाउने, पशुहरूका देखिएको बाझोपना, दाना खुवाउने तरिक, थुनेलो लगायतका समस्या समाधान गर्ने हो’ कार्यक्रम सहजकर्ता रायले भने । 

तालिममा सहभागी जीतपुर सिमरा वडा नं १७ जैतापुरकी उत्पतीदेवि चौधरीले ७÷८ वर्षदेखि बाख्रा सोही पालन गर्दै आएकी छिन् । उनको गोठमा अहिले १० वटा खसी,बाख्रा छन् । 

उनले आफ्नो खेतमा उत्पादन गरेको मकै सस्तो मूल्यमा बेचेर दाना खुवाउने गर्दथिन् । तर पछिल्लो समय उनले मकै, धान, सख्खर मिसाएर घरमै बनाएको दाना खुवाउने गर्दछिन्  । ‘बाहिर किनेको दाना भन्दा आफूले घरमा बनाएको दाना खुवाउँदा धेरै फाइदा हुदोरहेछ’ चौधरीले भनिन् ‘बरु पालिकाले हामीलाई समूह बनाएर दाना बनाउने तालिमसँगै मेसिन पनि दियो भने धेरै राम्रो हुन्थ्यो ।’

जीतपुर सिमरा १८, बडहर्वाकी अनुदेवि पुलामी मगरले घरमा पर्याप्त मकै फले पनि दाना बनाउने तरिका थाहा नहुँदा बजारबाट महँगो मूल्यमा दाना किनेर खुवाउने गरेको बताएकी छिन्  ।

‘आफ्नै घरमै सबैथोक फल्छ तर दाना बनाउन नजान्दा धान, मकै सस्तोमा बेचेर पठाउने र धेरै महँगोमा दाना किनेर खुवाउने गरेका छौ’ पशुपालक कृषक पुलामीले भनिन् ‘नगरपालिकाले गाई, भैँसी , बाख्राको लागि घरमै कसरी दाना बनाएर खुवाउने भन्ने तालिम सिकायो भने अव बनाउन सक्छु ।’

p3

उपमहानगले आयोजना गरेको पशुपालन तालिममा सहभागी भएका सोही वडाका अर्का पशुपालक किसान कालेबहादुर राईले गाई, भैँसी, बाख्रालाई दुध डेरीबाट दाना ल्याएर खुवाउने गरेको बताएका छन् । ‘मकै हामीले ३५ रुपैयाँ किलोमा बेच्ने र ६५÷७० रुपैयाँ किलोको दाना किनेर खुवाउने गरेका छौ, मकैबाट दाना बनाउन सकिन्छ भन्ने हामीलाई थाहा पनि छैन’ राईले भने ‘गाईभैँसीको गोबर सोर्‍यो, गोठालो बस्यो दुध बेचेर दाना, चोक्कर खुवाउनै ठिक्क भएको छ, केही फाइदा छैन ।’

आफूले उत्पादन गरेको कृषि उपजहरूको महत्त्व बुझ्न नसक्दा किसानहरू महँगोमा दाना, चोकर किनेर खुवाउन बाध्य छन्  । 

साना किसान कृषि सहकारी संस्था सिमराकी अध्यक्ष कमला कुमारी रिमालले पशुपालन तथा खेतीपाती गर्ने किसानहरूलाई तालिम लिएर व्यवसायकी रूपमा काम गर्न सुझाव दिएकी छिन् । 

उनले व्यावसायिक रूपमा पशुपालन गर्न चाहने किसानहरूलाई कृषि सहकारीले ५० लाखसम्म लगानी गर्ने भएकोले इच्छुक कृषकहरूलाई सहकारी जोडिन आग्रह गरेकी छिन् ।

p2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप