मङ्गलबार, ११ असार २०८१
ताजा लोकप्रिय
राजनीति

मतभेद र सहकार्यबिच माधव–झलनाथको ६ दशक लामो सम्बन्ध

मङ्गलबार, २९ जेठ २०८१, १० : १६
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन मिति नजिकिँदै गर्दा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच मतभेद बढ्दै गएको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा नीति र नेतृत्वलाई लिएर दुई शीर्ष नेताबिच मतभेद बढेको हो ।

खासगरी नेपाल र खनालबिच कुनै स्वार्थपरक भन्दा पनि पार्टीको वैचारिक, सैद्धान्तिक पक्षमा मतभेद बढ्दै गएको देखिन्छ । पार्टीको आगामी नीति, कार्यक्रम र कार्यदिशालाई लिएर दुई शीर्ष नेताबिचको मतभेद सतहमै प्रकट भइरहेको छ ।

महाधिवेशनमा पेस गर्नका लागि एकीकृत समाजवादीले राजनीतिक, साङ्गठनिक प्रतिवेदनका साथै विधान र समाजवादी कार्यक्रमसम्बन्धी दस्ताबेज तल्ला कमिटीमा छलफलका लागि पठाएको छ ।

अध्यक्ष माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्ताबेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम विश्लेषण गरिएको छ ।

नेता झलनाथ खनालले तयार गरेको समाजवादी कार्यक्रमसम्बन्धी दस्ताबेजमा वैज्ञानिक समाजवादको अवधारणा, समाजवादको स्वरूप, आर्थिक रूपान्तरण लगायतका विषय समेटिएको छ ।

उपाध्यक्ष डा.बेदुराम भुसालले तयार गरेको विधान प्रतिवेदनमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ । महासचिव घनश्याम भुसालले तयार गरेको साङ्गठनिक दस्ताबेजमा पार्टीको सङ्गठन निर्माणमा देशभरका सबै पालिका वडा, टोलदेखि जिल्ला, प्रदेश र केन्द्रसम्मको सदस्यतालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिइएको छ ।

नेपाल र उनी निकट नेताहरू एमालेकै जस्तो जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने पक्षमा छन् । तर त्यसमा खनालले फरक व्याख्या गर्दै भनेका छन्, ‘अब जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न सक्दैन । मार्क्सवाद–लेनिनवाद नै हाम्रो मार्गदर्शक सिद्धान्त हो ।’

महाधिवेशनमा सकेसम्म एउटै राजनीतिक दस्ताबेज पेस गर्ने र सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी छ । तर नेपाल र खनालबिच नीति र नेतृत्वमा देखिएको प्रतिस्पर्धाले सहमतिको सम्भावना कमजोर बनाउँदै लगेको छ । २०७८ भदौ २ मा एमालेसँग विद्रोह गरी नयाँ पार्टी गठन गरेका नेपाल–खनालबिच मतभेद बढ्नुमा नीति र नेतृत्वको कार्यशैली प्रधान देखिन्छ । पार्टी गठनदेखि नै नेपाल र खनालबिच भिन्न मत रहँदै आएको छ ।

  • वैचारिक र राजनीतिक सवाल

एमाले विभाजन हुँदा खनाल मिर्गौला प्रत्यारोपणका लागि भारतको एपोलो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । खनालको स्वास्थ्य अवस्था बुझ्न र पार्टी विभाजनपश्चात उनलाई एमालेमै राख्न एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे भारत गएका थिए । त्यतिबेला खनालले ओलीसँगको सम्बन्ध तोड्दै नेपाललाई साथ दिए ।

अध्यक्ष नेपाल पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज) त्याग्न तयार भएपछि आफूले साथ दिएको खनालको दाबी छ । तर नेतृत्वले अहिलेसम्म पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको भन्दै उनी  अध्यक्ष नेपालसँग असन्तुष्ट छन् ।

‘एमाले विभाजन हुँदा म उपचारका लागि भारतमा थिएँ । पार्टी नेतृत्वले जबज त्यागेर समाजवादी कार्यदिशा अँगाल्ने भनेपछि मैले विभाजनलाई साथ दिएको हो’, रातोपाटीसँग खनालले भने, ‘तर अहिलेसम्म नेतृत्वले एमाले विभाजनको औचित्य पुष्टि गर्न सकेको छैन । पार्टीको मार्गदर्शक सिद्धान्त जबज नै मान्ने भए एमाले नै ठिक छ । अर्को पार्टी किन गठन गर्नुपर्‍यो ?’

यता नेपाल पक्षका नेताहरू समाजवादी क्रान्तिका कार्यदिशामा जान पार्टीभित्र कुनै मतभेद नभए पनि जबज छोड्नु गलत हुने तर्क गर्छन् । उपाध्यक्ष भुसालसहित राजेन्द्र पाण्डे, केशवलाल श्रेष्ठ लगायत नेताहरू मार्गदर्शक सिद्धान्त जबज छोड्न तयार देखिँदैनन् ।

‘समाजवादी कार्यदिशामा जान पार्टीभित्र कुनै मतभेद छैन । तर पार्टीको मार्गदर्शक सिद्धान्त जबज छाड्न सकिँदैन । यसको औचित्य सकिएको छैन,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘नेतृत्वको विषयमा मतभेद देखिएको छ । सहमतिमै नेतृत्व चयनको प्रयास महाधिवेशनसम्म जारी रहन्छ ।’

नेपाल र उनी निकट नेताहरू एमालेकै जस्तो जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने पक्षमा छन् । तर त्यसमा खनालले फरक व्याख्या गर्दै भनेका छन्, ‘अब जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न सक्दैन । मार्क्सवाद–लेनिनवाद नै हाम्रो मार्गदर्शक सिद्धान्त हो ।’

  • नेतृत्वमा टकराब

आगामी महाधिवेशनमा खनालले अध्यक्षमा नेपाललाई चुनौती दिने तयारी गरेका छन् । जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा खनालको जोड छ । विगतमा नीति एउटा र नेतृत्व अर्को हुँदा नेपाली कम्युनिस्ट आन्दोलनमा ठुल्ठुला क्षति भएकाले नीति र नेतृत्वमा समन्वय हुनुपर्ने खनालको तर्क छ ।

  • एमसीसी सम्झौताबारे मतभिन्नता

एमसीसी सम्झौता अनुमोदनमा २०७८ फागुन १५ गते अध्यक्ष नेपालले लिएको नीतिको खनालले कडा आलोचना गर्दै आएका छन् । तत्कालीन सत्तारुढ दल नेकपाका एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनाल सम्झौतामा असमान बुँदा भएकाले संसद्बाट अनुमोदन गर्न नहुने सुझाव नेतृत्वलाई दिएका थिए । एमाले नेतृत्वको सरकार २०७८ असार २९ मा ढलेपछि नेपालको नेतृत्वमा नयाँ पार्टी बनेको थियो ।

सुरुवाती चरणमा माधवकुमार नेपालले एमसीसीको विरोध गरेका थिए तर अन्त्यसम्म टिक्न सकेनन् । संसद्बाट एमसीसी अनुमोदनको पक्षमा उनले समर्थन गरे । तर राष्ट्रघाती सम्झौताको पक्षमा नेतृत्वले घुँडा टेकेको आरोप लगाउँदै खनालले नेपालको तीव्र आलोचना गर्दै आएका छन् ।

  • कांग्रेससँग गठबन्धन

तत्कालीन ओली सरकार विघटन, संसद् र संविधानको रक्षाका लागि कांग्रेससँग समीकरण बनाउनु उचित भए पनि अहिले त्यसको उपादेयता समाप्त भएको खनालको बुझाइ छ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्रपूर्वक पहलकदमी अगाडि बढाउनु पर्नेमा तथाकथित साँठगाँठको लाइन लिएर अगाडि बढ्दा पार्टीलाई ठुलो नोक्सानी भएको उनको विश्लेषण छ ।

नेतृत्व दक्षिणपन्थी यथास्थितिवादमा लाग्दा वामपन्थी शक्ति समाप्त हुने उनको बुझाइ छ । पछिल्लो समीकरणप्रति खनाल सकारात्मक भए पनि नेपाल सन्तुष्ट देखिएका छैनन् । वर्तमान सत्ता समीकरणलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा एकीकृत समाजवादीमा मतभेद कायमै छ ।

प्रदेश र सङ्घमा नेतृत्वले लिएको नीतिका कारण निर्वाचनमा पार्टी पराजय भएको खनालको विश्लेषण छ । दक्षिणपन्थी गठबन्धन बनाएर निर्वाचनमा जानुको सट्टा एक्लै गएको भए अहिलेको भन्दा राम्रो स्थिति हुने उनको बुझाइ छ ।

  • नागरिकतासम्बन्धी ऐनमा पार्टीको नीति

यस्तै नागरिकतासम्बन्धी ऐनमा नेतृत्वको नीति गलत भएको खनालको आरोप छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नयाँ ऐनले राष्ट्रियता कमजोर हुने खनालको तर्क छ । यसमा नेतृत्वले सही अडान लिन नसक्दा ऐन अनुमोदन भएको उनले आरोप लगाए ।

साथै संयुक्त मोर्चासम्बन्धी सवालमा विचार मिल्नेसँग मोर्चाबन्दी गर्ने कि दक्षिणपन्थीसँग गर्ने भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने खनालले बताएका छन् । यी विषयमा समीक्षा गरी क्रान्तिकारी समाजवादी नीति, सिद्धान्त र कार्यदिशा नबनाएसम्म नेतृत्व लिन नसक्ने उनको विश्लेषण छ ।

  • नेपाल–खनालको ६ दशक लामो सम्बन्ध

त्यसो त नेपाल र खनालबिच भिन्न मत र सहकार्य ६ दशकदेखि चल्दै आएको छ । २०१९ सालमा भएको नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनपछि नेकपा छिन्नभिन्न अवस्थामा गुज्रिएको थियो । छिन्नभिन्न भएका कम्युनिस्ट घटकहरूलाई एक ठाउँमा ल्याउने उद्देश्यले नेपाल र खनालले ०३२ सालमा अखिल नेपाल कोअर्डिनेसन केन्द्र (कोके) बनाएका थिए । कोकेमा सीपी मैनाली सचिव थिए । नेपाल, खनालसहित, रामचन्द्र यादव, मुकुन्द न्यौपाने, अमृत बोहरा, गोविन्द न्यौपाने र मणिलाल राई केन्द्रीय समितिमा थिए ।

०२८ को झापा विद्रोहको जगमा बनेको कोके ०३५ पुसमा पार्टी पुनर्गठन गरी माले भयो, जसको महासचिव मैनाली बने । माले गठन भएको केही वर्षभित्रै सो पार्टीले उतारचढाव बेहोर्‍यो । पार्टीको आगामी कार्यदिशा र महासचिव मैनालीको कार्यशैली लगायतका विषयमा पार्टीभित्र विवाद बढेको थियो । ०३७ सालमा मैनालीलाई महासचिवबाट हटाएर खनाललाई महासचिव बनाइयो । उनलाई त्यतिबेला नेपालले साथ दिएका थिए ।

एमालेको नवौँ महाधिवेशनमा अध्यक्षमा नेपाललाई खनालले साथ दिएका थिए । एकीकृत समाजवादी गठन गर्दासमेत खनालले नेपाललाई साथ दिएका थिए । तर पनि सबैजसो महत्त्वपूर्ण निर्णयमा दुई नेताबिच भिन्न मत देखिँदै आएको छ ।

त्यसपछि खनाल ०४४ सालसम्म मालेका महासचिव भए । यद्यपि खनाल र नेपालबिच वैचारिक र सैद्धान्तिक मतभेद कायमै थियो । पार्टीभित्र वैचारिक र सैद्धान्तिक बहसमा मतभिन्नता बढ्दै गयो । महासचिव खनाललाई हटाएर मदन भण्डारीलाई ल्याइयो । त्यतिबेला नेपालले भण्डारीलाई साथ दिएका थिए । ०४६ को राजनीतिक परिवर्तनपछि माले र मनमोहन नेतृत्वको नेकपा (मार्क्सवादी)बिच एकता भयो । ०४७ सालमा एमाले बन्यो र पार्टीको महासचिव भण्डारी र अध्यक्ष अधिकारी भए । पाँचौँ महाधिवेशनमा भण्डारीले विश्व कम्युनिस्ट आन्दोलनको विश्लेषण गरी जबज प्रस्ताव ल्याए । उक्त प्रस्तावलाई नेपालले साथ दिए । तर खनाल, मैनाली लगायत नेताहरूले फरक मत राखे ।

०५० सालमा भण्डारीको मृत्युपछि नेपाल नेतृत्वमा आए । करिब १४ वर्ष एमालेको नेतृत्व गरेका नेपालसँग खनालको मतभेद र सहकार्य कायमै रह्यो । ०५४ सालमा मैनालीसहित वामदेव गौतम, सहाना प्रधान लगायत नेताहरूले पार्टी विभाजन गर्दा खनालले नेपाललाई साथ दिएका थिए ।

०६४ को संविधानसभा निर्वाचनमा एमाले पराजित भएपछि नेपालले राजीनामा दिए । खनाल फेरि नेतृत्वमा आए । बुटवलमा भएको आठौँ महाधिवेशनमा खनाल पहिलोपटक कार्यकारी अध्यक्षमा निर्वाचित भए । त्यसबेला नेपालको साथ खनाललाई नभएर ओलीतिर थियो । ०६६ सालमा नेपाल नेतृत्वको सरकार ढाल्न खनालले भूमिका खेलेको आरोप लाग्ने गरेको छ । नेपालपछि खनाल आफैँ प्रधानमन्त्री भएका थिए ।

एमालेको नवौँ महाधिवेशनमा अध्यक्षमा नेपाललाई खनालले साथ दिएका थिए । एकीकृत समाजवादी गठन गर्दासमेत खनालले नेपाललाई साथ दिएका थिए । तर पनि सबैजसो महत्त्वपूर्ण निर्णयमा दुई नेताबिच भिन्न मत देखिँदै आएको छ । महत्त्वपूर्ण राष्ट्रिय राजनीतिक घटनाक्रम, पार्टीको सैद्धान्तिक कार्यक्रमदेखि सङ्गठनात्मक व्यवस्थापनमा समेत नेपालसँग खनालको मत बाझिँदै आएको छ । तथापि नेपाल र खनालबिच देखिएको वैचारिक र राजनीतिक मतभेदले पार्टी निर्माणलाई थप बल पुग्ने उपाध्यक्ष श्रेष्ठको बुझाइ छ ।

दक्षिणपन्थी अवसरवाद र दक्षिणपन्थी यथास्थितिवादलाई तोडेर जबसम्म समाजवादी नीति, सिद्धान्त, कार्यक्रम अगाडि बढाउन सक्दैनौँ, तबसम्म समाजवादी क्रान्ति अगाडि बढ्न सक्दैन र वैचारिक सङ्घर्ष गरिएन भने बुर्जुवाले कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तालाई रूपान्तरण गरिदिने खनालको विश्लेषण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप