आइतबार, ३० असार २०८१
ताजा लोकप्रिय
कला

बुद्ध महिला जहाँजहाँ जान्छिन्, सौन्दर्य अनि शान्तिलाई बाँड्दै जान्छिन्

आइतबार, ०२ असार २०८१, १० : १०
आइतबार, ०२ असार २०८१

‘इन्स्पायर इन्क्लुजन– २०२४’ नामक एक समूहगत कला प्रदर्शनी क्लासिक ग्यालरीमा सम्पन्न भयो । गत २३ मार्चदेखि २० अप्रिलसम्म भएको यो कला प्रदर्शनीमा २९ महिला युुवा कलाकारका ४१ वटा कला प्रदर्शन गरिएको थियो । जसमा १७ कलाकारले चित्र; सात कलाकारले ‘प्रिन्ट मेकिङ’ र पाँच कलाकारले सेरामिक्सका सिर्जनशील काम लिएर देखापरेका थिए । 

गएका दशकदेखि प्रिन्ट मेकिङका काम सिर्जनशील कामको रूपमा देखिँदा यो कलाले एउटा लहर समातेको छ । हिजो–आज प्रिन्ट मेकिङकै मात्रै अलग्ग कला वर्कसप पनि हुने गर्छ । सिक्ने र सिकाउने क्रियाकलाप हुने हुँदा प्रिन्ट मेकिङको कला वर्कसप अलग्ग प्रकारको देखिन्छ । 

प्रिन्ट मेकिङ कला बढी प्राविधिक हुन्छ अर्थात् यस कलामा भावनाभन्दा प्राविधिक पक्ष बढी आउँछ । सीपमूलक तालिम लिनजस्तै कलाकारहरु पैसा तिरेर यस्ता वर्कसपमा भाग लिने गर्छन् । 

प्रिन्ट मेकिङ अर्थात् आफ्नो कलाको निकैवटा प्रिन्ट निकाल्न मिल्ने भएकाले बिक्रीको सम्भावना रहन्छ, त्यसैले यो विधामा हिजो–आज युवा कलाकारको आकर्षण बढेको छ । 

परम्परागत ‘सेरामिक आर्ट’ (माटोको कला) भावना अनि अभिव्यञ्जनासहित समसामयिक कलामा प्रवेश हुन थालेपछि यसको पनि गति बढेको छ । मूर्तिकलाका अन्य माध्यम (शिला, काठ वा धातु)भन्दा सेरामिक सजिलो र सस्तो माध्यम हो । यसो हुँदा यसप्रति युवा मूर्तिकारको आकर्षण बढ्न गएको छ ।  

IMG_20230806_153640

  • युवा महिला कलाकारका लागि विशेष स्पेस 

क्लासिक ग्यालरीले युवा महिला कलाकारलाई सहयोग र स्पेस प्रदान गर्दै आएको छ । यहाँ कुनै न कुनै बहानामा युवा महिला कलाकारको कलालाई प्राथमिकताका साथ प्रदर्शनी गरिन्छ । 

यस ग्यालरीको व्यवस्थापक, क्युरेटर वा निर्देशक जे भनौँ महिला कलाकार सरिता डंगोल हुन्, सायद यसो हुँदा पनि यहाँ हुने कार्यक्रमका प्रमुख अतिथि प्रायः महिला हुने गर्छन् । यसले गर्दा युवा महिला कलाकार यस ग्यालरीबाट प्रोत्साहित हुने नै भए । नेपाली सामाजिक संरचना र आर्थिक व्ययभार आदि कारण महिला कलाकारबाट निरन्तर सिर्जना हुनु कठिन देखिन्छ, त्यस कारण महिला कलाकारलाई प्रोत्साहन गर्ने कार्य आवश्यक छ ।

अलिकता पाका महिला कलाकारलाई ल्याउने र सम्मान गर्ने परम्परा पनि यस ग्यालरीमा देखिन्छ । यसर्थ पनि यो कला दीर्घा अन्य कला दीर्घाभन्दा अलिकता फरक नै देखिन्छ । 

यसपालिको कला प्रदर्शनीमा सबैभन्दा पाकी महिला कलाकार शशिकला तिवारी (जन्म सन् १९५०) हुन् । उनका चित्र यहाँ देखिन्छन्, उनी कहिले प्रदर्शनीमा आएको देखिन्न । उनी नआउनुका पछाडि उनका आफ्नै व्यक्तिगत कुरा होलान् ।  

उनीसँगै अलि पाका कलाकारमा चन्दा श्रेष्ठ, सीमा शाह छन् । स्वभावतः यी तीनैजनाका चित्र पनि अलि पुरानै संरचना, विषय र प्रस्तुतिमा देखिन्छन् । 

IMG_20240409_113250

यस्तै, यसपालिको प्रदर्शनीमा अञ्जली तामाङ, विनिता खड्का, चन्दा श्रेष्ठ, दीपमाला महर्जन, इन्दु पन्त, लाछेन नार्तेन तामाङ, मुना भडेल, मनिषा साह, नम्रता सिंह, प्रमिला वज्राचार्य, रोनिषा श्रेष्ठ, सारा टुनिच कोइँच, सरिता डंगोल, सरोजा खड्गी, सुविधा लामा, सुनिता राणा, शर्मिलादेवी तामाङ, रबिता किसि, रुकुमणि श्रेष्ठ, सम्झना राजभण्डारी, सौरगंगा दर्शनधारी, सीमा शर्मा, श्रीया दुवाल, चाँदनी बज्राचार्य, जुनु खनाल शर्मा, ज्योति प्रिया ठाकुर, सुमित्रा बराल र यमुना श्रेष्ठका काम प्रदर्शन गरिए । 

  • पाका कलाकार

उमेरले ७५ टेक्न लागेकी शशि कला तिवारीका समकालीन महिला अन्य चित्रकार आजका दिनमा त्यति सक्रिय देखिँदैनन्, छैनन् । यसर्थ तिवारीका चित्रले विशेष अर्थ राख्छन् । 

वर्षौंदेखि एउटै शैली अनि विषयमा स्थिर रहेर चित्र बनाउने तिवारीको स्वभाव केही चञ्चल र बोलिरहनुपर्ने खालको देखिन्छ । उनको स्वभावभन्दा नितान्त फरक छन् उनका काम— शान्त र स्निग्ध । अथाह समुद्रभित्र मन्द गतिमा बगेका बहावजस्ता लाग्छन् उनका कला । उत्ताउलो वा चहक रङ उनका कलामा देखिँदैनन् । 

बिस्तारै लय समातेको जस्तो भएर पात्रहरू चित्रपटमा सङ्गठित हुँदा उनको कला एक तमासको देखिन्छ । एकैजसो ‘मोनोक्रोम्याटिक कलर स्किम’मा बनेका उनका कलाहरूले भावकको मन भताभुङ्ग हुँदैन । 

शशिकलाकोे कलागत संरचनाले अलग्ग पहिचान बनाएको देखिन्छ । उनले आफ्ना कलाकृतिमा सिग्नेचर गर्दिनन्, तर कला अवलोकन गरिरहनेले उनका कला सजिलै चिन्छन् पनि । उनको कलामा कतै अवरोध छैन जसरी अमूर्तताभित्र आकारहरू देखिन्छन्; हावा र हुस्सुले कतै देखिँदै र हराउँदै जाँदाको भ्रान्ति भावकले उनका कलामा महसुस गर्न सक्छन्, यही नै उनको कलागत विशेषता हो । 

यसपालि प्रदर्शित उनको एउटा चित्र जोडी मयुरको परिकल्पना गरिएको छ । यस चित्रमा सम्पूर्णमा हरियोपन र चिसो शीतल रङ प्रयोग गरिएको छ । लयका साथ कवितात्मक रूपमा बगेका रङहरूले भावकमा स्पष्ट रूपमा सौन्दर्यताको सम्प्रेषण भएको देखिन्छ । यस चित्रमा मयुरमाथि आसीन महिलाको छोपिँदै–देखिँदै गरेको परिदृश्य आभास हुन्छ, जुन बडो मार्मिक लाग्छ ।

यस्तै, अर्को चित्रमा उनले यस्तै शीतल रङमा ठुल्ठुला पातहरू अग्रभागमा समायोजन गर्दै प्रकृति स्वयंलाई अमूर्तमा पस्कने जमर्को गरेकी छन् । 

उमेरले ६८ टेकिसकेकी कलाकार चन्दा श्रेष्ठ (जन्म सन् १९५६) यथार्थवादी चित्रकार हुन् । तथापि नेपाली संस्कृति र संस्कारलाई भित्र्याइहाल्ने लालसाले उनका कलामा कल्पनाशीलताको पनि आभास हुन्छ । यसो हुँदा उनका चित्रशैली अलि पुरानो ढङ्गबाट सिर्जना हुन पुगेको देखिन्छ । 

IMG_20240409_113308

नेपालमा आधुनिक कला उदय हुन थोरैअघि देखापरेको पश्चिमी कला पद्धतिमा केही कल्पनाका साथ नेपाली संस्कृति जोडेर कला सिर्जना गर्ने उनको शैली देखिन्छ । सन् १९३० ताका कलकत्ताबाट कलाको विधिवत् अध्ययन गरेर फर्केपछि मूर्धन्य चित्रकार चन्द्रमानसिंह मास्केले पश्चिमी कला शैली र नेपाली कला शैलीको फ्युजन गरी एक अलग्ग शैलीको विकास गरेका थिए । उत्तरआधुनिक कलाको विकास तीव्र गतिमा हुँदै गएपछि आज कसैले पनि यो शैलीमा काम गर्दैनन्, तर चन्दाले यो शैलीको प्रयोग र अभ्यास आज पनि गर्दै छन् । 

अलिकति यथार्थ, अलिकति स्वच्छन्दवादीजस्तो भएर देखिने यो शैली खासगरी नेपाली संस्कृति र संस्कार कलामा झल्काउन प्रयोग हुँदै आएको देखिन्छ । 

भारतमा जन्मेकी कलाकार सीमा शाह (जन्म सन् १९६६) नेपाली कलाकार उमाशंकरसँग बिहे गरेर नेपाल आइन् । सुरुका दिनदेखि नै प्रिन्ट मेकिङ कलामा उत्कृष्ट काम गर्दै आएकी उनले नेपाली मठ–मन्दिर, कला संस्कृतिको विषयवस्तु कलामा ल्याएकी छन् । उनैले गर्दा पनि नेपालमा प्रिन्ट मेकिङ कलाको पुनर्उत्थान भएको थियो । झन्डै हराइसकेको यो विधा उनैको सत्प्रयासले आज कलाको मूल धारमै देखिन्छ । अहिले प्रिन्ट मेकिङ कला गर्ने अधिकांश युवा उनैका चेला हुन् ।  

नेपालको कला इतिहासमा सन् २००० को उत्तरकालमा वैकल्पिक कलाको नयाँ धारको प्रवेश भयो । यतिबेला सक्रिय भई तीनजना महिला कलाकार (सरिता, सुनिता, प्रमिला) लागेका थिए । कलाका कैयौँ प्रयोगात्मक काम प्रशस्तै मात्रामा गरिसकेका यी तीन महिला कलाकार हिजोआज भने पुनः क्यानभासमा ओर्लेर सामान्य विषयवस्तु लिएर सरल र सहज ढङ्गका काम पनि गरिरहेका छन् ।

यसपल्टको प्रदर्शनीमा सरिताले गतका वर्षहरूदेखि गर्दै आएको ‘खुर्सानी सिरिज’को काम नै छ । बाल्यकालदेखि नै खुर्सानी उनको स्मृतिमा गडेर बसेको छ । तिनै स्मृतिलाई उनले आफ्ना कलामा ल्याउने गर्छिन् ।

प्रमिला यसपल्ट अलि फरक ढङ्गको अमूर्ततामा देखापरेकी छन् । गतका दशकदेखि कडा चहक रङमा दृश्यचित्रको अमूर्ततालाई पस्कने प्रमिलाले सँगसँगै धेरैथोरै अभिव्यञ्जना बोकेर महिलाका आकारमूलक (मूर्त) चित्र बनाउँदै आएकी छन् । 

स्वैरकाल्पनिकतामा, सपना र कल्पनाका साथ ‘डेकोरेटिभ फर्म’मा सुनिताका कला देखिन थालेको धेरै भइसक्यो । यसपल्टको काममा पनि उनले यसैलाई निरन्तरता दिएकी छन् । उनी भन्छिन्— ‘मानव स्वयं धेरै ठाउँ र समाजबाट घेरिएको हुन्छ तर उसको विचार कुनै बाउन्ड्रीमा घेरिएको हुँदैन । उसको विचार कसैको अधिन र हस्तक्षेमा हुँदैन, वा कसैले यसलाई होल्ड गर्न सक्तैन । विचारहरू निरन्तरता अनि अन्तहीन हुन्छन् । तपाईं आफ्नो कल्पनामा अनन्त उडानमा उड्न सक्नुहुन्छ । गहिराइमा जान सक्नुहुन्छ । त्यस कारण मेरा चित्रमा विचारको कल्पना (इम्याजिनेसन अफ थट) पाउनुहुन्छ । स्वभावतः म एक महिला हुँ । यसर्थ पनि म बढी फिमेल फिगरसँग खेल्छु । अनुभव, अभिव्यञ्जना पनि यसैको वरिपरि नै हुने गर्छ ।’ 

  • युवा महिला कलाकार 

सन् २००० को उत्तरकालमा भएको कलागत आन्दोलनले जन्माएको नयाँ नौलो प्रवृत्तिले आजका युवा कलाकारलाई अत्यधिक प्रभाव पारेको देखिन्छ । यसो हुँदा ‘कन्सेपचुअल’ ढाँचामा काम गर्ने युवा कलाकार थुप्रै जन्मिएका छन् । यसको छनक यो कला प्रदर्शनीमा पनि देख्न सकिन्छ । यस कला प्रदर्शनीमा यस्ता युवा कलाकार छन्, जसले आफ्नो कलागत सिग्नेचर बनाइसकेका छन् । यसमध्ये सम्झना राजभण्डारी, सौरगंगा दर्शनधारी, दीपमाला महर्जन, मुना भडेल, नम्रता सिंह, सरोजा खड्गी, रबिता किसि, रुकुमणि श्रेष्ठ आदि छन् । 

सौरगंगा पर्फर्मेन्स कलादेखि प्रिन्ट मेकिङ कलामा शक्तिशाली काम गर्ने सक्रिय कलाकार हुन् । उनले अधिकांश प्रिन्ट मेकिङ कला वा पर्फर्मेन्स कला महिलाका सवाललाई लिएर गर्ने गर्छिन् । यसपालि ‘माया सेकेन्ड’ नामक उनका कृतिमा परम्परादेखि देखिँदै आएका देवी–देवताका जोडी अनि अग्रभागमा आजका स्वाभाविक आसनमा बसेका जोडीलाई संयुक्ततामा प्रस्तुत गरिएको छ । यो काम थोरै अनौठो तर अर्थपूर्ण रूपमा देखिन्छ । 

खासगरी धर्मलाई लिएर आज युवामा जन्मिरहेको विचारलाई उनले सामञ्जस्यतापूर्ण ढंगले प्रतिविम्बित गरेको आभास हुन्छ । हाल प्राज्ञ रहेकी उनी बिन्दु भन्ने कला संस्थामा समेत संलग्न छन्, यस्तै कला क्याम्पसमा पढाउँछन् पनि । 

सम्झनाको काम उडकट (प्रिन्ट मेकिङ कलाको एउटा उपविधा)मा आकर्षण ढंगबाट प्रस्तुत भएको छ । गतका सालदेखि उनले नेपाली पाँच पैसाको सिक्कालाई आफ्नो काममा समेटेकी छन् । 

यस्तै, चाँदनीको काम पनि आकर्षक देखिन्छन् । दीपमालाको ‘मदरहुड स्लिपलेस नाइट’ नामक चित्र छ, जुन ऊनको धागोबाट कपडामा बनाइएको छ । धेरै वर्षदेखि उनी यही शैलीलाई किसिम–किसिमबाट प्रस्तुत गर्दै आएकी छिन् । उनको कलामा आफैँ आमा बन्दै गर्दा वा बनिसक्दा भोगेका अनुभव प्रतिविम्बित भएको देखिन्छ । यसपल्टको काम पनि यसैको थप पाइला हो । आमा र बच्चाको यो मार्मिक चित्रको सिरिजमा एकपल्ट उनले आफ्नै आमालाई पनि संलग्न गराएर कोल्याबोरेटिभ काम गरेकी थिइन् । 

रबिताको ढुङ्गेधाराको सिरिज चर्चामा रहेको काम हो । यसमा उनले नेपाली परम्परागत ढुङ्गेधारामा अनेकौँ सवाललाई उठाएकी छन् । मनिषा मिथिला कलामा सक्रिय रूपमा काम गर्दै, सिकाउँदै अनि अनेकौँ कलाका कार्यक्रमलाई आयोजना गर्दै आएकी अब्बल कलाकार हुन् । 

नम्रताले मिथिला लोककलाका विम्बलाई विशेष गरेर महिलाका व्यक्ति चित्रलाई पात्रका रूपमा उभ्याई संयोजन गर्ने गर्छिन् । अलिकता लोककलाको सुगन्ध अनि समसामयिक कलाको नौलो प्रवृत्तिलाई फ्युजन गर्ने यी दुवै (मनिषा र नम्रता)को निजी शैली हो । दुवै कलाकार महिलाकै सवाललाई लिएर बढी मात्रामा काम गर्छन् । 

IMG_20240409_113506

सरोजा खड्गी पूर्वी नेपाल मोरङको पथरी भन्ने सानो सहरकी बासिन्दा हुन् । उनैको सक्रियतामा पथरी अहिले कलामय बनेको छ । यसपालि उनले ‘द लेडी बुद्ध’ नामक चित्र प्रस्तुत गरेकी छन् । यस चित्रमा पाँचकोण भएको क्यानभासमा पाँचैवटा कुनामा पाँचवटा फूलका गुच्छालाई रातो गरम रङले सजाइएको छ । यसको बिच भागमा मदमस्त अर्धनयनमा एक सुन्दर युवतीको व्यक्तिचित्र बनाइएको छ । शान्त, सुकुमार, डेकोरेटिभ फर्ममा देखापरेको ‘लेडी बुद्ध’ निकै आकर्षक देखिन्छ । प्रतिकूलतामा पनि लचिलो भई ढकमक्क फुलेको फूलजस्तो भई बुद्ध महिला जहाँजहाँ जान्छिन्, सौन्दर्य अनि शान्तिलाई बाँड्दै जान्छिन् भन्ने कलाकारको विश्वास पनि यसैमा समेटिएको छ । 

बौद्ध धर्ममा महात्मा बुद्धबाहेक अनेक बोधिसत्व प्राप्त नारीहरू छन्, तर बुद्धलाई नारीकै रूपमा प्रस्तुत गर्नुचाहिँ सर्वथा नौलो सोच हो । बुद्ध आफैँ पनि कुनै नाम वा पुरुषको पर्यायवाची शब्द होइन, ज्ञानी सर्वगुणले भरिपूर्ण बुद्धत्व प्राप्त भएको प्राज्ञिक व्यक्ति विशेषको प्रतिविम्ब हो । यो चित्रमा पञ्चशील, पञ्चतत्व आदि–इत्यादि विम्बहरू आएका छन् । त्यसैले यो कला थोरै अद्भुत दृश्यावलोकन हुन्छ । यहाँनेर नारी किन बुद्ध हुन नसक्ने भन्ने सन्दर्भलाई कलाकारले जोड्न खोजेको प्रसङ्ग पनि रमाइलो नै छ । 

साराको ‘रिचार्ज एटीएमकार्ड’माथि बनेका मानवीय फिगरहरू, ज्योतिको ‘ब्ल्याक पोलिस वेयर’मा बनेका माटाका मूर्ति आदि पनि अलग्गै स्वादका साथ देखापरेका छन् । 

‘हार्मोनी इन् ट्रान्जिसन’ नाम दिएर जनजातिको वेशभूषामा नाक र मुखबिनाकी महिलाको मुखाकृतिसहितको व्यक्तिचित्र अञ्जली तामाङले प्रस्तुत गरेकी छन् । रोनिषाले ‘फाइन्डिङ सेल्फ सेकेन्ड’ नामक चित्रमा आफ्नै व्यक्तिचित्रलाई पक्षीको मुखाकृतिलाई जोड्न पुगेको परिदृश्य रमाइलो नै देखिन्छ । यसमा उल्लु अनि मोनालिसाको सङ्गम घतलाग्दो छ । 

मुना भडेल अलिक अलग्ग पाराले सुपररियालिस्टिक फर्ममा काम गर्ने शक्तिशाली कलाकार हुन् । महिलाले लगाउने लुगा–गहनामा उनको काम केन्द्रित हुने गर्छ । लुगा–गरगहनाको कलात्मक प्याट्रन, बुट्टा डिजाइन आदिले महिलाको व्यक्तित्वलाई प्रतिनिधित्व गर्छ भन्नेमा उनी विश्वास गर्छिन् । अझ आफ्नो पहिचान वा संस्कृति झल्काउने र वकालत गर्ने सन्दर्भ यही पहिरनमा आश्रित हुन्छ भन्ने पनि उनको परोक्ष अवधारणा गाँसिएको हुन्छ । 

समग्रमा यसपालिको प्रदर्शनीमा आमभावकले यी र यस्तै कलालाई अचम्म मान्दै घोरिएर अवलोकन गरेको देखियो । युवा महिला कलाकारको काम, त्यसले दिएको भावनात्मक र वैचारिक सन्देशप्रति चासो तथा चिन्ता देखिनु यो कला प्रदर्शनीको सबैभन्दा सबल पक्ष हो । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप