नथिङका नयाँ स्मार्ट वाच र एयरबड नेपाली बजारमा
काठमाडौँ । नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन् । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले बड्स प्रो इयरबड र वाच प्रो स्मार्टवाच सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको विशेष अवसरमा कम्पनीले दुबै उत्पादनमा ५०० रुपैयाँ छुट दिएको छ । वाच प्रोको बजार मूल्य ११ हजार ९९९ रहेकोमा ग्राहकले ११ हजार ४९९ रुपैयाँमै खरिद गर्न सक्नेछन् । त्यस्तै आठ हजार ९९९ बजार मूल्य रहेको बड्स प्रो इयरबड आठ हजार ४९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।
कस्तो छ वाच प्रो ?
१.९६ इन्च एमोलेड डिस्प्ले रहेको यो स्मार्टवाचको रेजोलुसन ४१०*५०२ पिक्सेल रहेको छ । यसमा ६०० निट्स ब्राइटनेस पाउन सकिन्छ भने ५८ एफपीएसको रिफ्रेश रेट रहेको छ ।
ब्लुटुथ कलिङ सुविधा भएको यो स्मार्टवाचमा एआई न्वाइज रिडक्टसन फिचर दिइएको छ । ब्लुटुथ कल मात्र गर्ने हो भने यसको ब्याट्री १८ घण्टासम्म टिक्ने कम्पनीको दाबी छ । ३४० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाच सामान्य प्रयोगमा १३ दिनसम्म टिक्ने बताइएको छ ।
यसमा भ्वाइस असिस्टेन्ट, माइक्रोफोन र स्पिकर पनि समावेश छ । यो स्मार्टवाचमा स्याटलाइट पोजिसनिङ सिस्टम जीपीएस पनि दिइएको छ ।
स्लिप, स्ट्रेस र एसपीओटु समेत मनिटर गर्न सक्ने यो स्मार्टवाचमा ११० ओटा स्पोर्ट्स मोडहरू रहेका छन् ।
यसैगरी सीएमएफ बड्स प्रो इयरबडमा ४५ डेसिबलको हाइब्रिड एक्टिभ न्वाइज क्यान्सिलेसन र विन्ड न्वाइज रिडक्सनको सुविधा छ । इयरबडमा टच कन्ट्रोल सेन्सर पनि छ । यसबाट कल उठाउन, काट्न र म्युजिक फर्वार्ड गर्न सकिन्छ ।
अल्ट्रा बेस प्रविधि राखिएको यो इयरबड्स १० मिनेट चार्ज गर्दा पाँच घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । एक पटकको फुल चार्जमा यसलाई ३९ घण्टा प्रयोग गर्न सकिने बताइएको छ ।
स्पष्ट आवाजका लागि यसमा छ ओटा एचडी माइक र क्लियर भ्वाइस प्रविधि राखिएको छ । ब्लुटुथ ५.३ भर्सनमा आधारित यो इयरबडले आईपी ५४ रेटिङ पाएको छ ।
च्याटजीपीटी समेत समावेश रहेको सीएमएफ बड्स प्रोमा एआईसँग कुरा गर्न र एआईले भनेका कुरा सुन्न सकिन्छ । गुगल फास्ट पेयर, माइक्रोसफ्ट स्विफ्ट पेयर र इन-इयर डिटेक्सनको विशेष सुविधा पनि यसमा पाउन सकिन्छ । यो इयरबड प्रयोग गर्न नथिङ एक्स एप इन्स्टल गर्नुपर्ने कम्पनीले जनाएको छ ।