मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा स्थानीय र प्रहरीबीच झडप : प्रहरीद्वारा हवाइफायर, ५ प्रहरी घाईते

सोमबार, २४ वैशाख २०७५, ०८ : २१
सोमबार, २४ वैशाख २०७५

पर्सा । पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानीय र प्रहरीबीच झडप हुँदा गोली चलेको छ । 

मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई छुटाउन ईलाका प्रहरी कार्यालय सेढुवा पुगेकी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा रहेका स्थानीय र प्रहरीबीच सोमबार विहान झडप भएको बताइएको छ । 

झडपका क्रममा प्रहरीले २७ राउण्ड हवाइफायर गरेको छ ।

भारतको बेतिया जिल्ला भंगहा थाना अन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो,  दिनदयाल महतो लाई चेकजाँचका क्रममा मापसे गरेको र भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चार जना सवार रहेको फेला पारेपपछि आईतबार साँझ ८ बजेतिर नियन्त्रणमा लिएर ईप्रका सेढवामा राखेको थियो । मोवाईल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका सुपा लामा र दिनेश लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएर सेढवामा राखेको थियो ।

पक्राउ परेकाहरुलाई छुटाउन पुगेका स्थानीय र प्रहरीबीच लामो समय विवाद भएपछि प्रहरीले सामान्य बल प्रयोग गरेर सेढवाबाट जिल्ला प्रहरी कार्यालय पर्सातर्फ लगेको थियो । 

तर, स्थानीयले ईलाका प्रहरी कार्यालयको प्रतिक्षालय तोडफोड गर्दै प्रहरीको मोटरसाईकलमा आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिनका लागी हवाई फायर गरिएको इन्सपेक्टर ज्ञान कुमार महतोले जानकारी दिएका छन् ।

झडपमा परी पाँच जना प्रहरी घाईते भएका हुन् । घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव रहेका छन् । 

प्रहरी जवान यादवको अवस्था गम्भिर रहेको बताईएको छ ।

स्थिती नियन्त्रणमा लिनका लागी प्रहरीले २३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । स्थानियले प्रहरीको बा २ ब ५७०५ नम्बरको सरकारी मोटरसाईकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाईकल जलाईदिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको गाडी समेत स्थानियले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप