बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

लागुऔषध र मादक पदार्थमा फस्दै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक

बिहीबार, ३१ साउन २०८१, ११ : ३०
बिहीबार, ३१ साउन २०८१

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका कतिपय नेपालीहरू लागुऔषध र मादक पदार्थको केसमा फस्दै गएका छन् । मलेसिया तथा खाडी मुलुकमा नेपाली श्रमिकहरू लागुऔषध र मादक पदार्थको केसमा फस्ने क्रम दिन प्रतिदिन बढ्दो छ । सम्बन्धित देशमा रहेका नेपाली अधिकारीहरूले यसलाई चिन्ताको विषय मानेका छन् ।

कोही सेवनकर्ताको रूपमा पक्राउ पर्ने गरेका छन् भने कोही ओसारपसार तथा बेचबिखनमा फस्दै गएका हुन् । साउदी अरेबियाको जेलमा रहेका नेपालीमध्ये ७० देखि ८० प्रतिशत यस्तै केसमा परेका हुन् । साउदीको जेद्दामा रहेको नेपाली कन्सुलेट जनरलका कार्यवाहक महावाणिज्यदूत शत्रुधन प्रसाद पोखरेलले साउदीको जेलमा हाल करिब ५८० नेपाली रहेको बताए । तीमध्ये ७० देखि ८० प्रतिशत नेपाली मादक पदार्थ सेवन तथा लागुऔषधका केसमा परेको उनको भनाइ छ ।

त्यसरी जेल पर्नेमा कतिपय लागुऔषध तथा मादक पदार्थ कारोबारी नै छन् भने कतिपय झुक्किएर परेका छन् । गाडी चलाउँदा अरुले गाडीमा राखिदिएको हुने र त्यही बेला प्रहरी चेकिङ हुँदा पक्राउ पर्ने गरेकासमेत छन् । कतिपय व्यक्ति भने दुईचार पैसाको लोभमा लागेर ओसारपसार गर्न जाँदा पक्राउ पर्ने गरेका छन् ।

केही महिना अगाडि साउदीमा एक जना व्यवसायी सम्पर्कविहीन बने । सोधीखोजी गर्दैै जाँदा उनी प्रहरी हिरासतमा भेटिए । प्रहरीले उनलाई मादक पदार्थ सेवन तथा ओसारपोसारको केसमा पक्राउ गरेको रहेछ । ती व्यवसायीले आफैँले खानको लागि गाडीमा रक्सी राखेको बताएका थिए । तर, प्रहरी चेकिङको क्रममा फेला परेपछि उनी पक्राउ परेका थिए ।

केही महिना अगाडि साउदी प्रहरीले दुई जनालाई पक्राउ ग¥यो । जसमा एक जना विभिन्न सामाजिक कार्यमा सक्रिय नेपाली थिए । उनी साथीको गाडीको चढ्दा पक्राउ परेका थिए । त्यसको कारण थियो, गाडीमा रक्सी फेला पर्नु । 

प्रहरीले चेकिङ गर्ने क्रममा रक्सी फेला पारेपछि दुवै जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेपछि दूतावासका अधिकारीहरू भेट्न गए । दूतावासका अधिकारीहरूले प्रहरीसँग कुरा गरेपछि झण्डै एक महिना हिरासत बसाइपछि दुवै जना रिहा भएका थिए ।

गत वर्षमात्रै एक जना नेपालीलाई साउदीको अदालतले साढे सात वर्षको जेल सजाय तोक्यो । जेलभित्र गाडीमा खाना सप्लाईको काम गर्दै आएका उनी सोही क्रममा पक्राउ परेका थिए । गाडी खानतलासी गर्ने क्रममा प्रहरीले गाडीमा लागुऔषध फेला पारेको थियो । बयानको क्रममा उक्त लागुऔषधबारे आफूलाई कुनै जानकारी नरहेको उनले बताए । तर, अरू कसले राखेको भन्ने प्रमाण नहुँदा दोषी उनी नै ठहरिए । हाल उनी जेल सजाय काटिरहेका छन् ।

१७ वर्षदेखि काम गर्दै आएका दुई जना नेपाली साउदीमा पक्राउ परे । रक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई केही दिन हिरासतमा राखेर नेपाल डिपोर्ट गरिदियो । सोही कारण १७ वर्षसम्म काम गर्दा कम्पनीले दिने ‘इण्ड अफ बेनिफिट’, उपदान लगायतका सुविधा पाएनन् । लामो समय काम गरेर अवकाश पाउने बेला पाउनुपर्ने सुविधाबाट बञ्चित हुन पुगे ।

जानकार हुँदाहुँदै फस्छन् नेपाली  

साउदी धेरै नेपाली लागुऔषध तथा मादक पदार्थको केसमा फस्दै आएका छन् । कतिपति अवस्थामा अरुले फसाउने गरेको देखिन्छ भने केही भने दुईचार पैसाको लोभमा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन खोज्दा पक्राउ पर्ने गरेका छन् ।

‘साँच्चै किन बढ्यो भन्ने कुरा त अनुसन्धान गरेपछि देखाउँला । तर पनि ट्रेण्ड बढेको छ । त्यसको पछि लोभलालचमा पर्ने, कतिपय अवस्थामा झुक्किएर पनि हुने गरेको छ । खाएर हो हल्ला गर्ने । त्यसपछि कसैले सूचना दिने र प्रहरी आएर समात्ने गरेको देखिन्छ,’ पोखरेलले भने ।  

साउदीमा रक्सी खाएको, उत्पादन गरेको तथा बेचबिखन गरेको पाइएमा २ वर्षसम्म जेल सजाय हुने गरेको छ भने लागु औषधको केसमा १० वर्षसम्म जेल सजाय हुने गरेको छ ।

कानुनले निषेध गरेको काम किन गर्छन् ?

इस्लामिक कानुनी व्यवस्था रहेको साउदीले लागुपदार्थको ओसारपसार, कारोबार तथा प्रयोगलाई निषेध गरेको छ । साउदी सरकारले लागुऔषध दुरूपयोग र तस्करीविरुद्ध लड्न उच्च प्राथमिकतामा राख्दै आएको छ । इराक र यमनबाट आफ्नो सिमानामा लागुऔषधको कारोबार हुने गरेको भन्दै साउदीले निकै कडाइ गर्दै आएको छ ।

कानुनले निषेध गरेका कारण साउदीमा मादक पदार्थ खान नहुने पोखरेलको सुझाव छ । त्यस्तै ओसारपोसार नगर्ने, आफ्नो कोठामा कसैले राखेको पो छ कि, कसैले गाडीमा राखिदिएको छ कि भनेर त्यसबारे सचेत हुनुपर्ने उनको भनाइ छ ।

कतारमा पनि समस्या उस्तै  

कतारमा समेत मादकपदार्थ तथा लागुऔषधको केसमा फस्ने नेपालीहरूको सङ्ख्या बढ्दो छ । विशेषगरी भरियाको रूपमा त्यस्ता केसमा नेपालीहरू फस्ने गरेको पाइएको हो ।

लागुऔषधभन्दा पनि मादकपदार्थ सेवन, ओसारपोसार र बेचबिखनको केसमा धेरै नेपाली फसिरहेका छन् । कतारस्थित नेपाली राजदूतावासका कन्सुलर टीकाराम न्यौपानेले यस्ता केस बढ्दो क्रममा रहेको बताए ।

करिब दुई वर्ष अगाडि एक नेपाली महिला कतारको एयरपोर्टमै पक्राउ परिन् । नेपालबाट लागुऔषध बोकेर कतार पुगेकी उनलाई एयरपोर्टमै प्रहरीले पक्राउ गरिएको थियो ।

पक्राउ परेकी उनलाई अदालतले १० वर्षको जेल सजाय सुनाएको थियो । अहिले उनी कतारमै जेल सजाय काटिरहेकी छन् । जेल सजाय काटिरहेकी उनले जेलमै रहँदा बच्चा जन्माएकी छन् ।

जेलमै बच्चा जन्माएपछि उनले दूतावासमा जन्मदर्ताको अनुरोध गर्दै आएकी छन् । नेपालको कानुन अनुसार जन्मदर्ता स्थानीय तहमार्फत मात्रै हुने गरेको छ । जसले गर्दा उनको बच्चाको जन्मदर्ता गराउन नसकिएको दूतावासले जनाएको छ ।

‘कतिपय एयरपोर्टबाट ल्याएर समातिने पनि छन् । भरियाका रूपमा समेत देखिएका छन् । रक्सीको केसमा त धेरै छन् । गाडीमा हालेर एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन सहयोग गर्नेहरू छन्,’ न्यौपानेले भने ।  

कतारको जेलमा हाल ६२ जना नेपाली छन् । तीमध्ये आधाजति लागुऔषध र मादकपदार्थ सेवनको केसमा पक्राउ परेकाहरू छन् ।

त्यस्तै नेपालीहरू आफैँले समेत रक्सी उत्पादन गर्ने गरेका छन् । रक्सी उत्पादन गर्ने, बेचबिखन गर्नुका साथै खाएर झै–झगडा गर्ने गरेका छन् । जसले गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गर्ने र कानुन अनुसार कारबाही गर्ने गरेको छ ।

पछिल्लो समय कतारले रक्सीको केसमा पक्राउ गरेर नेपाल पठाइदिने गरेको छ । यसअघिसम्म पक्राउ गरेर मुद्दा चलाउने गरेको थियो । तर, यो सङ्ख्या निकै बढ्न थालेपछि कतारी प्रहरीले पक्राउ परेकाहरूलाई सिधै नेपाल डिपोर्ट गरिदिने गरेको हो ।

कुवेतमा पनि उस्तै

कुवेतमा मादक पदार्थ भन्दा पनि लागुऔषधको केसमा बढी फस्ने गरेका छन् । हाल कुवेतको जेलमा रहेका ५१ जना नेपालीमध्ये धेरै जसो लागुऔषधको केसमा फसेका छन् ।

उनीहरू लागुऔषध प्रयोगकर्तासँगै कारोबारीसमेत देखिएका छन् । त्यस्तै कतिपय साथीभाइको लहैलहैमा लागेर फसेका छन् । कोही पैसाको लोभले एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन खोज्दा पक्राउ परेका छन् ।

कुवेतमा अवैध रक्सी उत्पादन गर्ने, कारोबार गर्ने नेपाली पनि छन् । करिब ६ महिना अगाडि चार जना नेपालीलाई कुवेती प्रहरीले रक्सीको कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो । उनीहरूलाई ५ वर्षको जेल सजाय तोकिएको थियो ।

कुवेतस्थित नेपाली राजदूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले रक्सी खानेलाई जेल नहाली डिपोर्ट गर्ने गरेको बताए । रक्सीको कारोबार गर्नेलाई भने पक्राउ परेर जेल सजाय नै हुने गरेको उनको भनाइ छ ।  

यूएईमा झन् विकराल अवस्था  

संयुक्त अरब इमिरेट्स (यूएई) मा लागुऔषध तथा मादक पदार्थको सेवन अत्यधिक बढेको छ । नेपालीहरू रक्सी खाएर होहल्ला गर्ने, झगडा गर्ने जस्ता क्रियाकलाप बढेपछि स्थानीय प्रशासनले दूतावासमार्फत नै सचेत गराएको छ ।

रोजगारी र व्यवसाय गर्ने नेपालीहरूमध्ये अधिकांशले मदिरा पिएर झै–झगडा गर्ने प्रवृत्ति बढेपछि स्थानीय प्रहरी प्रशासनले अबुधाबीमा रहेको नेपाली नियोगमार्फत सचेत गराएको हो ।

गत मंगलबार दूतावासले सूचना जारी गर्दै नेपाली आफैँमा सद्भावना राजदूत रहेको हुँदा मदिरा पिएर हो–हल्ला नगर्न र कार्यस्थलमा समेत सभ्य व्यवहार गर्न आग्रह गरेको थियो ।

जारी सूचनामा दूतावास बाहिर पनि मदिरा सेवन गरी हुल हुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई अपशब्द प्रयोग गरी गाली गर्नेलाई स्थानीय कानुनअनुसार पक्राउ गरी कारबाही भएको हुँदा सचेत रहन आग्रह गरिएको छ । यूएईको स्थानीय ऐन कानुन, नीति नियम र मूल्य मान्यताको पूर्ण पालना गर्दै सोहीअनुसारको व्यवहार गर्न दूतावासले आग्रह गरेको छ ।

विशेषगरी भिजिट भिसामार्फत यूएई पुगेका नेपालीहरूमा यस्तो खालको प्रवृत्ति बढेको दूतावासले जनाएको छ । एक लाखको हाराहारीमा नेपालीहरू भिजिट भिसामार्फत यूएई पुगेका छन् ।

उनीहरूमा रोजगारीको समस्या, सुपथ मूल्यमा सजिलै जहाँ पनि रक्सी किन्न र पिउन पाउने हुँदा यस्तो विकृति बढेको दूतावासको बुझाइ छ । साउदी, कतार, यूएई, कुवेतसँगै मलेसिया, बहराइन, ओमान लगातयका मुलुकमा समेत मादक पदार्थ र लागु औषधको केसमा धेरै नेपालीहरू फस्न थालेका छन् । ती देशको जेलमा रहेका धेरैजसो नेपाली लागुऔषध र मादक पदार्थको केसमा परेको देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप