कोशी प्रदेशको आवधिक योजना सार्वजनिक
विराटनगर । कोशी प्रदेश योजना आयोगले प्रदेशको दोस्रो आवधिक योजना सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार एक कार्यक्रम गर्दै योजना आयोगले आवधिक योजना सार्वजनिक गरेको हो ।
आवधिक योजनामा आर्थिक वर्ष २०८५/०८६ सम्ममा कोशी प्रदेशको आर्थिक वृद्धिदर ७.५५ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० मा २.३८ प्रतिशत आर्थिक वृद्धिदर थियो भने आर्थिक वर्ष २०८०/०८१ मा ३.५१ प्रतिशत थियो ।
प्रदेश योजना आयोगले बिहीबार सार्वजनिक गरेको दोस्रो आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५/०८६ मा प्रतिव्यक्ति कुल ग्रार्हस्थ उत्पादन १६४५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा १२९९ अमेरिकी डलर थियो भने आर्थिक वर्ष २०८०/८१ मा १३३६ अमेरिकी डलर थियो ।
त्यसैगरी आर्थिक वर्ष २०८५/८६ सम्ममा गरिबीको रेखामुनी रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १७.५० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका थिए भने गएको आर्थिक वर्षमा यसमा ०.३० प्रतिशत घटेर १७.२० प्रतिशत पुगेको छ ।
यसैगरी अहिले १० प्रतिशत रहेको बेरोजगारी दरलाई आर्थिक वर्ष २०८५/८६ सम्ममा ५.४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।
आर्थिक वर्ष २०८५/०८६ मा कोशी प्रदेशका जनताको अपेक्षित आयु ७२ वर्षको हुने अनुमान गरिएको छ । मातृ मृत्यु दर (प्रतिलाख जीवित जन्ममा) ७० मा झार्ने अनुमान गरिएको छ । त्यस्तै पाँच वर्ष मुनिको बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) २० मा झार्ने अनुमान गरिएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८५/०८६ सम्ममा साक्षरता दर ९० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ भने श्रमशक्ति सहभागिता दर ६० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । लैङ्गिक विकासको सूचांक ०.९२ पुर्याउने लक्ष्य राखिएको छ भने मानव विकासको सूचांक ०.६२ पुर्याउने लक्ष्य छ ।
आवधिक योजनामा डिजिटल साक्षरता ९० प्रतिशत पुर्याउने अनुमान गरिएको छ भने विद्युत् उत्पादन २२०० मेगावाट अनुमान गरिएको छ ।
आवधिक योजनामा उल्लेख भएको क्षेत्रगत परमाणात्मक लक्ष्य अनुसार कुल ग्रार्हस्थ उत्पादन (उपभोक्ता मूल्यमा) १३१७.९५ अर्बमा पुर्याउने लक्ष्य रहेको छ भने कृषि क्षेत्रको वार्षिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । उद्योग क्षेत्रको वार्षिक वृद्धिदर १०.५६ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०८५/०८६ सम्ममा सेवा क्षेत्रको वार्षिक वृद्धिदर ७.४१ प्रतिशत पुर्याउने अनुमान गरिएको छ । प्रतिव्यक्ति कुल गार्हस्थ (उत्पादन उपभोक्ता मूल्यमा) १६४५ अमेरिकी डलर पुर्याउने लक्ष्य अनुमान गरिएको छ ।
कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले पञ्चवर्षीय आवधिक योजनाको मुख्य मुख्य आयोजनाहरू प्रस्तुत गर्दै दोस्रो आवधिक योजनाको सोच ‘सुशासित, खुसी, आर्थिक रूपले गतिशील र समुन्नत प्रदेश’ रहेको जानकारी दिए । उनका अनुसार आवधिक योजनाको मुख्य उद्देश्य कृषि, उद्योग र सेवा क्षेत्रमा लगानीको वातावरण तयार गरी प्रविधिमैत्री उत्पादन तथा उत्पादकत्व वृद्धिमार्फत सम्पन्न नागरिक र समुन्नत प्रदेश निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा लगायतका सामाजिक विकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी सामाजिक न्यायसहित नागरिकमा खुसी वृद्धि गर्ने, प्रदेशका भौतिक तथा सामाजिक पूर्वाधारको उच्चतम उपयोग गरी उपयोग गरी समृद्धि हासिल गर्ने, प्रदेशमा सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सेवा प्रवाह नागरिकमैत्री बनाई प्रत्येक नागरिकमा शान्ति, सुरक्षा तथा सुशासनको अनुभूति गर्न सक्ने वातावरण तयार गर्ने रहेको छ ।
आवधिक योजना, नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आवधिक योजना एकातिर नीति तथा कार्यक्रम र बजेट अर्कोतिर गइरहेको बताएका छन् । पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकासको आधारको रूपमा रहेको आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेट मिल्न नसकोको बताउँदै अबका दिनमा यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
आवधिक योजनालाई अबको केही दिनमा नै कर्मचारी, सांसद सबैको हात हातमा पुर्याउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले कर्मचारी र सांसदहरुले राम्रोसँग अध्ययन गर्नुपर्नेमा जोड दिए । आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलाउनको लागि सबैले अध्ययन गरेर सोही अनुसारको योजना मात्र अगाडि सार्नुपर्ने उनको भनाइ छ । आगामी दिनमा सोही अनुसार अगाडि बढ्न पनि उनले आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इक्वेडरलाई सजिलै हराउँदै सह-आयोजक मेक्सिको अन्तिम १६ मा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण