बा शब्द होइनन्, वाक्य हुन्
बाको सम्झना गर्ने दिनको रूपमा कुसेऔँसीलाई लिइन्छ । यसै पनि हिन्दु परम्परामा प्रत्येक दिन र तिथिलाई पावन दिनका रूपमा लिइन्छ र पुराणहरूमा तिनको अर्थपूर्ण महिमा दिइएको पाइन्छ । त्यसलाई धर्मको रूपमा र प्रकृति पूजाको रूपमा लिन सकिन्छ ।
कुसेऔँसी बाबुको सम्झनाको दिन प्रचलित छ । मृत बाबुको सम्झनामा तर्पण दिने र पिण्ड दिने दिनका रूपमा प्रचलित कुसेऔँसी अहिले बाबुको मुख हेर्ने दिनको रूपमा प्रख्यात छ ।
सधैँ स्मृतिमा आउने दुईवटा अनुहार हुन् बा र आमाको । मलाई पनि एउटा कुराले सधैँ कोक्याउँछ, बा अब हजुरसँग कहिले भेट होला ? पूर्वीय मान्यता सही हो भने बा र आमा स्वर्गमा सँगै हुनुहोला, हामीलाई नियालिरहनुभएको होला ।
मेरा बा (रामप्रसाद अधिकारी) ले ८५ वर्षको उमेरमा २०६१ भाद्र ३१ गते तिजको दर खाने दिन हामीलाई छाडेर जानुभयो ।
महाभारतको वनपर्वमा युधिष्ठिरलाई जब यक्षले पिताको परिचय सोध्छन्, युधिष्ठिरले पितालाई आकाशको रूपमा र मातालाई धर्तीको रूपमा परिभाषित गरेका हुन्छन् । आज पनि त्यही परिभाषा विश्वव्यापीरूपमा चलायमान छ, चर्चित छ । अहिले जब बा पनि हुुनुहुन्न र आमा भुवनेश्वरी उपाध्याय पनि हुुनुहुन्न । लाग्छ पृथ्वी र आकाश नभएको मेरो संसार यस्तैगरी चलिरहेको छ, चल्दोरहेछ ।
व्याकरणले ‘बा’लाई एउटा अर्थपूर्ण शब्दका रूपमा मात्र मान्ला तर मेरा लागि यो एउटा ब्रह्माण्ड नै हो र मैले होस सम्हालेदेखि बा भन्ने शब्दलाई सम्पूर्ण विश्व अटाउने एउटा सम्पूर्ण वाक्य मानेको छु । सम्भवतः आमा भन्ने सम्पूर्ण वाक्यको थालनीपश्चात् नै बा भन्ने ब्रह्माण्ड वाक्यको शब्दोच्चारण गर्न मैले सुरु गरेँ हुँला ।
मलाई लाग्थ्यो, मेरो बालाई कुनै पनि कालले लान सक्दैन, मैल बाको निधन सपनामा पनि कल्पना गर्न सक्दिनथेँ । तर म काठमाडौँ बस्थेँ, बुवा गाउँमा । बाले बेला मौकामा मेराबारे भन्नुहुन्थ्यो रे— के त्यो म मरेपछि मात्र आउँछ ? अलिअलि ज्वरो आउँदा पनि आमालाई कराउँदै भन्नुहुन्थ्यो रे— त्यसलाई छिटो आइज भन । यस्तो दिन आयो, बाले मलाई सम्झनै भ्याउनुभएन । बालाई ०६१ भदौ ३१ गते राति १२ बजे अचानक टाउको दुखेछ, उहाँले आमालाई समेत टाउको दुख्यो मात्र भन्न भ्याउनुभएछ र सदाका लागि हामीलाई छाडेर जानुभएछ । अहिले हामी अनुमान गर्न सक्छौँ कि त्यो कडा स्वरूपको मस्तिष्कघात हुनुपर्छ । हामीलाई लाग्थ्यो बालाई केही भएको छैन । झन्डै एकमानाको भात घिउसँग खाने उहाँलाई हामीले बलियो नै देख्थ्यौँ ।
व्याकरणले ‘बा’लाई एउटा अर्थपूर्ण शब्दका रूपमा मात्र मान्ला तर मेरा लागि यो एउटा ब्रह्माण्ड नै हो र मैले होस सम्हालेदेखि बा भन्ने शब्दलाई सम्पूर्ण विश्व अटाउने एउटा सम्पूर्ण वाक्य मानेको छु ।
त्यसको केही दिनअघि बुवा सीतापुरको स्वास्थ्य चौकीमा जानुभएको रहेछ, दाँत निकाल्नका लागि । रक्तचाप बढी देखेर स्वास्थ्य सहायकले भनेछन्—बाजे, हजुरको उच्च रक्तचाप देखियो, अलि नियन्त्रण भएपछि मात्र दाँत निकालौँला । अनि बाले हाँसेर भन्नुभएछ— बाबु, तिम्रो मेसिन बिग्रिएको होला ।
बाले जो भन्ने गर्नुहुन्थ्यो, ‘त्यो म मरेपछि मात्र किरिया गर्न आइपुग्छ ।’ नभन्दै त्यस्तै भयो ।
नीतिका कुरा गरेर मलाई नैतिकताको पाठ पढाउने बाले मलाई भन्नुभएको थियो— हेर छोरा, अठार पुराणको अन्त्यमा व्यासले भन्नुभएको छ कि अठार पुराणको निष्कर्ष भनेको परोपकार पुण्य हो, अनि अर्कालाई पीडा दिनुचाहिँ पाप हो । यही हो तँलाई मेरो उपदेश वा सन्देश ।
मैले थाहा पाएसम्म एकै समयमा लगातार १८ पुराण लगाएको बाले नै हो । हाम्रो समाजमा यस्तो अरुले गरेको मैले आजसम्म देखेको वा सुनेको छैन । उहाँले २०२३ सालदेखि २०२५ सालसम्म सिन्धुलीको ग्वाल्टारमा १८ पुराण लगाउनुभयो ।
मेरो बा राजनीतिक चेतना भएको व्यक्ति हुनुहुन्थ्यो र धेरै विद्यालयहरू खोल्ने चाहना राख्नुहुन्थ्यो । अहिले ग्वाल्टारमा रहेको कौशिका माध्यमिक विद्यालय जहाँ १२ कक्षासम्म पढाइ हुन्छ, यस विद्यालयको जन्मको एउटा कथा मैले सानैमा सुनेको थिएँ ।
कथा के थियो भने, २०१५ सालको आम निर्वाचनमा १४ र १५ नम्बर संसदीय क्षेत्रबाट नेपाली कांग्रेसले हारेको थियो । एउटा क्षेत्रबाट सूर्यप्रसाद उपाध्याय र अर्को क्षेत्रबाट कुलचन्द्र कोइरालालाई उम्मेदवार बनाइएको थियो । प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको मन्त्री मण्डलमा सूर्यप्रसाद उपाध्यायजी गृहमन्त्री हुनुभएको थियो । उहाँ तत्कालीन पूर्व २ नम्बर, बडीमुहान चिसापानीका ढुङ्गेल हुनुहुन्थ्यो । उहाँलाई हारे पनि बीपीले गृहमन्त्री बनाउनुभएको थियो । मेरा पिताजी रामप्रसाद उपाध्याय अधिकारी र काका कुलचन्द्र कोइराला गृहमन्त्री उपाध्यायलाई भेट्न जानुभएको रहेछ, सम्भवतः २०१७ सालको सुरुतिर ।
उहाँहरुले भन्नुभएछ— केही विकासका काम, विद्यालय र बाटो चाहियो ।
तर सूर्यबाबुले मेरा पिताजीलाई भन्नुभएछ— म त पूर्व २ नम्बरलाई केही पनि काम गर्दिनँ, किनभने मलाई त्यहाँका मानिसले चुनाव हराएका हुन् ।
अनि मेरा पिताजीले भन्नुभएछ— त्यसो भए हाम्रा भोट फिर्ता गर्नुस्, हामी अनि बेनीबहादुरजी र जितबहादुर कार्कीको घरमा जाउँला विकास माग्न । यो एउटा गफ पनि थियो र साँच्चै जनताको आवाज पनि थियो ।
कुरै कुरामा आवाज ठुलो भयो, भित्र सुतिरहनुभएका बीपीले हल्लाखल्ला सुनेर बाहिर आउनुभएछ र सोध्नुभएछ— होइन यो केको हल्लाखल्ला हो पूर्व २ नम्बरका साथीहरूको ?
मेरो पिताजीले ख्याल ख्याल जस्तै गरी सबै कुरा भन्नुभएछ । तत्कालै बीपीले यो कुरालाई गम्भीरताका साथ लिई शिक्षामन्त्री परशुनारायण चौधरीलाई १० वटा जति प्राथमिक विद्यालयको कोटा १५ क्षेत्रलाई दिन अह्राउनुभएछ । सम्भवतः सूर्यबाबुकै भाइ शारदाप्रसाद उपाध्याय शिक्षा विभागका हाकिम हुनुहुन्थ्यो क्या रे, तत्कालै विद्यालयको कोटा प्राप्त भयो । त्यही कोटाबाट ग्वाल्टार, तीनमाने, टाढी, राम्चे, किराँते, भीमथान, बेल्घारी, बाँझे, फलामे, टङ्सार लगायत स्थानमा विद्यालय खोलिएको भन्ने सुनिएको हो ।
यसरी खुलेको कौशिका प्राथमिक विद्यालयको भवन शिलान्यास भएको दिन २०१७ सालको कोजाग्रत पूर्णिमाको दिनलाई सायद जन्मदिनको रूपमा मानिएको हो र कक्षा सञ्चालन चाहिँ २०१७ सालको पुस १ गतेबाट भएको हो । त्यो दिन मेरो कक्षा १ को पहिलो दिन थियो ।
मलाई विद्यालयमा पु-याएर पिताजी बिसीमा १४ मुरेको खलो काट्न जानुभएको थियो । त्यसको धेरैपछि मात्र मैले उहाँलाई देख्न पाएँ । त्यसको कारण थियो, राजाले सैनिक कु गरेका रहेछन् । पिताजी, कुलचन्द्र काकाहरू पक्राउ पर्ने डरले भूमिगत बस्नुभएको रहेछ ।
आफ्नो सिन्धुली र रामेछाप अर्थात् पुरानो पूर्व २ नम्बर क्षेत्रमा शिक्षा र सामाजिक कामका लागि दानवीरका रूपमा प्रख्यात मेरा बाले २००८ र २०१५ सालमा नै कमला हाइस्कुल चलाउन उसै बेलामा एक–एक हजार रुपैयाँ पटकपटक दिनुभएको रहेछ ।
उहाँको दृष्टिकोण कस्तो थियो भने दाहिने हातले दिएको देब्रे हातले थाहा पाउनु हुँदैन । ग्वाल्टार, तीनमाने, बतासे, राम्चे, किराँते, फलामे, बाँझे, तीनपाटनमा विद्यालय खोल्दा लाग्ने खर्च समेत बेहोर्ने मेरा बाले हामीलाई कहिल्यै पनि ती कुरामा घमण्ड नगर्न सम्झाइरहनुभयो । म नियतिले विद्यालय शिक्षक हुनु, नेपाल शिक्षक संघको संस्थापकमध्ये एक हुन पाउनु र शिक्षाका लागि मात्र खोलिएको काठमाडौँ शिक्षा क्याम्पसको संस्थापक समेत हुनुमा उहाँको त्यही शिक्षाप्रतिको पुरानो लगावले नै मनोवैज्ञानिक काम ग¥यो कि भन्ने पनि लाग्छ ।
बाविना कोही पनि यो संसारमा आएको छैन र आउने पनि सायद छैन । अनि बाको छहारी नभएको जीवनले सिर्जनशीलतालाई अगाडि बढाउन सक्छ र भन्ने प्रश्न त सधैँ ताजा नै रहनेछ । त्यसैले आजको दिनमा ती साँच्चै नै ईश्वरका अवतारलाई सम्झनु नै कृतज्ञ सन्ततिको कर्तव्य हुन जान्छ । सायद त्यसैले पूर्वीय दर्शनमा बालाई सम्झने दिनको पनि व्यवस्था गरेको होला ।