बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय
दसैँ

वर्षमा चारवटा दसैँ मनाइन्थ्यो !

शनिबार, २६ असोज २०८१, ०९ : ००
शनिबार, २६ असोज २०८१

आजकल नेपालमा दसैँ भन्नेबित्तिकै शरद ऋतुमा पर्ने बडादसैँलाई नै सम्झने गरिन्छ । हुन पनि यही समयमा पर्ने दसैँमा मात्र हिन्दुधर्मावलम्बीले नौ दिनसम्म घरमा र देवीको मन्दिरमा देवीको पूजाआजा गर्छन्, कतिपयले बलि दिन्छन्, जमरा राख्छन् र दशमीका दिन देवीको प्रसाद स्वरूप टीका जमरा लगाउँछन् । 

राजकीय वा सरकारी तवरमा पनि यही परम्परा अनुसार दसैँघरमा घटस्थापना गर्ने, जमरा राख्ने, गोरखा दसैँघरबाट सेनाद्वारा हनुमानढोकामा फूलपाती भिœयाउने, सरकार प्रमुखबाट त्यसको अवलोकन गर्ने र दशमीका दिन राज्य प्रमुखबाट टीका–जमरा लगाइदिने चलन चलिआएको देखिन्छ ।

यस्तो परम्परा देखिरहेका र भोगिरहेका मानिसलाई दसैँ चार किसिमका हुन्छन् भन्दा अचम्म लाग्न सक्छ । हाम्रो हिन्दु परम्परामा पहिला चार ऋतुमा (शास्त्रीय परम्परा ६ ऋतु भए पनि) चारवटै दसैँ मनाउने चलन थियो रे । हाल दुईवटा मात्र दसैँ मनाउने चलन छ । त्यसमा पनि चैतेदसैँले जेनतेन मात्र अस्तित्व जोगाएको छ । शारदीय दसैँ मात्र पूर्ण रूपमा मनाइन्छ । अरू दुईवटा दसैँ जनस्तर र सरकारी तवरमा पनि चलनमा छैनन् । 

राजा वीरेन्द्रले व्यक्तिगत तवरमा गोरखा दसैँघरमा चारवटै दसैँको परम्परालाई धान्नुभएको थियो भन्ने सुन्न पाइन्छ । 

चारैवटा दसैँको पौराणिक आधार राष्ट्रिय अभिलेखालयमा रहेको ‘पुष्पिका वाक्यहरू’ भन्ने पुस्तकमा दिइएको छ भनी संस्कृतिविद विनोदराज शर्माले उल्लेख गर्नुभएको छ । त्यो पुष्पिका वाक्यहरू कति सालमा कसले लेख्नुभएको हो ? सो पुस्तकमा ग्रीष्मकालीन र शिशिरकालीन दसैँका बारेमा कति कुरा उल्लेख गरिएको छ वा छैन भन्ने उहाँले केही उल्लेख गर्नुभएको छैन ।

प्रायः संस्कृतिविद्ले आफ्ना लेखमा चारवटा दसैँ भएको उल्लेख गरेको र शारदीय एवं चैतेदसैँका बारेमा मात्र थप चर्चा गरेको पाइन्छ । शिशिरकालीन र ग्रीष्मकालीन दसैँको सैद्धान्तिक वा पौराणिक कथाका बारेमा शुक्लपक्षको प्रतिपदादेखि दशमीसम्म मनाइन्छ भनेको मात्र पाइन्छ । योभन्दा बढी कुरा खासै पाइँदैन । 

चारैवटा दसैँको पौराणिक आधार राष्ट्रिय अभिलेखालयमा रहेको ‘पुष्पिका वाक्यहरू’ भन्ने पुस्तकमा दिइएको छ भनी संस्कृतिविद विनोदराज शर्माले उल्लेख गर्नुभएको छ । त्यो पुष्पिका वाक्यहरू कति सालमा कसले लेख्नुभएको हो ? सो पुस्तकमा ग्रीष्मकालीन र शिशिरकालीन दसैँका बारेमा कति कुरा उल्लेख गरिएको छ वा छैन भन्ने उहाँले केही उल्लेख गर्नुभएको छैन । 

यी चार दसैँका अलग अलग सांस्कृतिक मान्यता र कथा होलान् । हामीले आजकल सबै दसैँका कथालाई एउटै डालोमा हालेर नियाल्न खोज्दा मिलेको पाइँदैन । उदाहरणका लागि शारदीय दसैँमा देवीले असुरहरूको वध गरी देवताहरूको विजय गराएको कथा पाइन्छन् । वासन्तीय दसैँमा राम–रावणका कुरा र रामजयन्तीका कुरा उल्लेख गरिएको छ । 

चार ऋतुमा मनाउने चारै दसैँका नाम र व्यवहार यस प्रकार रहेको पाइन्छ ।

१) ग्रीष्मकालीन (जेठ, असार र साउन) दसैँ । जुन असारको शुक्लपक्ष प्रतिपदादेखि दशमीसम्म पर्छ । 

२) शारदीय (भदौ, असोज र कात्तिक) दसैँ । जुन असोजको शुक्लपक्ष प्रतिपदादेखि दशमी र कोजाग्रत पूर्णिमासम्म मनाइन्छ ।   

३) शिशिरकालीन (मंसिर, पुस र माघ) दसैँ । यो पुसको शुक्लपक्ष प्रतिपदादेखि दशमीसम्म पर्छ ।

४) वासन्तीय (फागुन, चैत र वैशाख) । यो दसैँ चैतको शुक्लपक्ष प्रतिपदादेखि दशमीसम्म पर्छ ।

माथिको समयलाई हेर्दा सबै दसैँहरू शुक्लपक्षमा मनाइने परम्परा देखिन्छ ।

१) ग्रीष्मकालीन दसैँ 

यो दसैँ असारको शुक्लपक्ष प्रतिपदादेखि दशमीसम्म सात्त्विक तवरले मनाइन्छ भनिएको छ । सात्त्विक भनेपछि यसमा बलिको कुरा थिएन रे । यसमा धुपदीप, फूल, अक्षता, वनस्पति तथा पाक नैवेद्य आदि चढाएर सामान्य पूजा गरिन्थ्यो रे । तर कुन देवताको वा देवीको वा प्रकृतिको पूजापाठ गर्ने भन्ने उल्लेख पाइँदैन । 

ग्रीष्मऋतुलाई वर्षाऋतु पनि भनिन्छ । हामी मनसुनी क्षेत्रमा रहेको हुनाले यही समयमा बढी वर्षा हुने बाढी–पहिरो जाने गर्दछ  । यसो हुँदा प्रकृतिलाई खुसी बनाउन पूजापाठ गरिएको पो थियो कि ! 

२) शारदीय दसैँ 

आश्विनको शुक्लपक्ष प्रतिपदादेखि दशमी र कोजाग्रत पूर्णिमासम्म राजसीय (रजोगुण युक्त) तवरले मनाइन्छ भनिएको छ । निद्रा भगवतीले विष्णुलाई ब्युँझाएर मधु र कैटभमाथि विजय प्राप्त गरेको, जगदम्बादेवीले शुम्भ र निशुम्भ अनि अम्बिकादेवीले महिसासुर आदि दैत्यलाई मारेर देवतालाई विजय गराएको सम्झनास्वरूप शारदीय दसैँ मनाइन्छ । 

यसैले आश्विन शुक्लपक्षको प्रतिपदादेखि देवीलाई नौ दिनसम्म (नवरात्रमा) उपासना गरेर दशमीका दिन देवी विसर्जन गरी देवीको प्रसाद मान्यजनका हातबाट टीका–जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ । टीका–जमरा पूर्णिमासम्मै लगाइन्छ । यो पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिन्छ । यस दिन साँझ चन्द्रमाको पूजा गरी (रातभरि जाग्राम बस्ने भएकाले कोजाग्रत भनेको भन्ने पाइन्छ) आकाशदीप बालेर दीपावलीको स्वागत गरिन्छ ।

दसैँको पहिलो दिन घटस्थापना दुर्गादेवीका विभिन्न नौ रूपलाई पूजा गरिन्छ । यो नवरात्रभरिमा घर–घरमा वा देवी मन्दिरमा मार्कण्डेय पुराण अन्तर्गतको चण्डी पाठ गरिन्छ । 

यो शारदीय दसैँमा यन्त्र तथा हातहतियारहरूको पूजा  (विश्वकर्मापूजा) गर्नेदेखि बलि र पञ्चबलिका कुरा पनि आउँछन् । याजकहरूको शक्ति आर्जन गर्न देवीलाई बलि चढाइएको भन्ने कथित प्रचलन र किंवदन्ती पाइन्छ । मांसाहार गर्नेहरूले पञ्चबलिमा राँगो, खसी, भेडो, कुखुरो र हाँसको बलि दिने गर्छन् । 

शाकाहारीले राँगाको सट्टा कुभिन्डो, बोकाको सट्टा बिमिरो, भेडाको सट्टा मुला, कुखुराको सट्टा उखु र हाँसको सट्टा अदुवाको बलि दिने गर्छन् । वास्तवमा यी पशुपक्षी वा वनस्पतिको बलिलाई मानिसमा भएको क्रोध, मोह, लोभ, मद र मात्सर्यका प्रतीक मानिन्छन् । त्यस्ता चिजको बलि दिएको भनेको मानिसमा भएका तामसी कुरालाई आफूभित्रैबाट दमन गरेको भन्ने अर्थ राख्छ । तर समाजमा बुझेर वा बुझ पचाएर र नबुझेर बलि प्रथा यथावत चलिरहेको पाइन्छ । 

३) शिशिरकालीन दसैँ 

पुसको शुक्लपक्ष प्रतिपदादेखि दशमीसम्म मनाइने दसैँलाई शिशिरकालीन दसैँ भनियो । यो दसैँका बारेमा खास पौराणिक कथा पाइँदैन । यसका पनि पौराणिक कथा हुँदा हुन् । संस्कृतिविद्हरूबाट यसका पौराणिक कथालाई खोज अनुसन्धान गरी बाहिर ल्याउन जरुरी छ । मात्रै यो दसैँमा वैश्य सम्प्रदायले तामसीय तरिकाले मनाउँछन् भनिएको छ । सायद हिउँदको समय भएको हुनाले रमाइलो गर्ने, जात्रा मनाउने आदि जस्ता काम गरिने रहेछ कि ! यसो भएर तामसीय (तमोगुण युक्त) तरिकाले दसैँ मनाइन्छ भनिएको होला कि ! जाडो हुने हिउँदको समयमा पर्ने दसैँ भएकाले र मानिस विभिन्न कामका लागि बाहिर जाने भएकाले यो दसैँको महत्त्व लोप भएर गएको होला भन्ने लाग्छ ।

४) चैतेदसैँ 

चैतको शुक्लपक्ष प्रतिपदादेखि दशमीसम्म मनाइने दसैँलाई वासन्तीय दसैँ वा बोलीचालीमा चैतेदसैँ भनिएको छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले सीता हरणका कारण लङ्काका राजा रावणसँग युद्घ गरी विजय गरेको सम्झनालाई लिएर चैत शुक्ल पक्षमा वासन्तीय दसैँ मनाउने गरेको कथा पाइन्छ । हाल चलन चल्तीमा अष्टमीका दिनलाई नै चैतेदसैँ भनेर अष्टमीव्रत गरिने चलन रहेको छ । यसैगरी नवमीका दिनलाई महानवमी वा रामनवमी वा रामजयन्ती भनेर मनाउने गरिन्छ । यसैले यो नवमीका दिन राम मन्दिरमा गई रामको पूजाअर्चना गरिन्छ । 

पहिला–पहिला यही वासन्तीय दसैँमा नै बडादसँै मनाउने चलन थियो रे । यो समयमा खेतीपाती लगाउने समय भएको, मौसम पनि गर्मी भएको, फलफूलको अपर्याप्तता, खानामा अपथ्यता आदि कारणले शारदीय दसैँलाई बडादसैँ मान्ने चलन ल्याएको भन्ने कथ्य सुन्नमा आएको छ । 

अन्त्यमा, हिन्दु संस्कारका चार दसैँमध्ये हाल शारदीय र वासन्तीय दुई दसैँको मात्र अस्तित्व रहेको पाइन्छ । बाँकी दुईको अस्तित्व नै छैन । यस विषयमा संस्कृतिविद्को ध्यान जानुपर्ने देखिन्छ । आफ्नो संस्कार र संस्कृतिमा रहेका चाडपर्व लोपै भएर जानु कुनै पनि समाजका लागि राम्रो होइन । आशा गरौँ, भविष्यमा संस्कृतिविद्को सक्रियता बढोस्, यस्ता चाडपर्व, भाषा, लवाइखवाई, लोक संस्कृतिमा रहेका बाजा र संगीत आदिले जीवन्तता पाउँदै रहून् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप