बेलायतमा पनि ऐतिहासिक सफलता रच्दै ‘पूर्णबहादुरको सारङ्गी’
लन्डन । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले बेलायतमा पनि ऐतिहासिक सफलता प्राप्त गरेको छ । पछिल्लो समय देश विदेशमा सर्वाधिक लोकप्रिय बनेको यो चलचित्र बेलायतको चलचित्र प्रदर्शन गृह ‘सिनेवर्ल्ड’ मा भव्यताकासाथ प्रदर्शन भइरहेको छ ।
फाट्टफुट्ट नेपाली चलचित्र प्रदर्शन भएपनि केहि दिन मात्र चल्ने र पर्याप्त दर्शक नहुने सिने वर्ल्डमा यसपटक भने दैनिक शो सङ्ख्या थपिँदै गएको भने हल खचाखच भरिने क्रम जारी छ । अझै एक सातासम्मका लागि विभिन्न सहरमा शो निर्धारण भइसकेका छन् ।
यसअघिका चलचित्रमा हलमै गएर टिकट काटेर हेर्न सम्भव थियो भने ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न पहिला नै टिकट काट्नुपर्ने बाध्यता छ । बाबुछोराबिचको सम्बन्धमा आधारित यो चलचित्र हेर्न बेलायतका नयाँ पुस्तासमेत आकर्षित देखिएका छन् ।
बेलायतका दुई दर्जन बढी सिने वर्ल्डहरूमा प्रदर्शन गरिँदै आएको ‘पूर्णबहादुरको सारङ्गी’ले एक साता पुग्न लाग्दा पनि राम्रै दर्शक पाइरहेको छ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा विजय बराल र प्रकाश सपुतसहित अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, माओत्से गुरूङलगायतको भूमिकाले चलचित्रको कथावस्तुलाई न्याय दिएको धेरैको धारणा छ । १ सय ४५ मिनेट लामो चलचित्र पूर्ण बहादुरको सारङ्गी हेर्दा समय बितेको पत्तै नहुने दर्शक प्रतिक्रिया छ ।
नेपालीहरूको बाक्लो बस्ती भएका सहरहरू अल्डरसट, हन्स्लो, फेल्थम, आसफोर्ड, ब्लेक्स्लीहिथ, वेम्ब्ली, वार्टफोर्ड, रइस्लीप, एडिनबरा, ग्लास्गो, बेलफास्टलगायत क्षेत्रका दर्जनौँ सिनेवर्ल्डमा चलचित्रले एक साता बित्न लाग्दा पनि स्थान पाइरहेको छ ।
सोसल मिडिया प्लाटफर्म र ‘वर्ड अफ माउथ’ का कारण नै बेलायतका नेपाली दर्शक तान्न सफल भएको छ यो चलचित्र । आफ्नो सन्तानप्रति बाबुको भूमिका कस्तो हुनुपर्छ र उनीहरूको सफल भविष्यका लागि कतिसम्म पीडा भोग्न तयार हुन्छन् भन्ने कुरा बुझाउन विदेशमा बस्ने पछिल्लो पुस्तालाई (अंग्रेजी अनुवादमा) पनि देखाउन जरुरी हुने धेरैको बुझाइ छ । सुरुमा आमाको भूमिकाप्रति नकारात्मक भावना देखिएपनि छोराको भविष्यको लागि घरपरिवार त्याग्न बाध्य भएको स्पष्ट छ ।
लन्डनस्थित एकजना बुद्धिजीवी नारायण गाउँले ग्रामीण परिवेश र दैनन्दिन क्रियाकलापमा आधारित चलचित्रमा धेरै जसो दृश्य ‘जेनेरिक’ जस्ता र पट्यारलाग्दा हुने भएपनि यस फिल्ममा कुनै दृश्य अर्घेलो लाग्ने वा झ्याउ लाग्ने खालको नभएको बताउँछन् ।
'सिनेमाको उद्देश्य मनोरञ्जन नै हुन्छ । पढ्न र सिक्न धेरै मान्छे हलमा जाँदैनन् । सिनेमा मनोरञ्जक छ । सुरुदेखि अन्त्यसम्म बाँध्न सक्नु एउटा सिनेमाको सफलता नै हो', गाउँलेले प्रतिक्रिया दिए, 'सबैभन्दा ठुलो र सार्थक क्रान्ति शिक्षा नै हो भन्ने स्थापित मतलाई सिनेमाले समर्थन गरेको छ ।'
सिनेमाको अब्बल पक्ष अभिनय नै रहेको उनको ठम्याइ छ । 'विजय बरालको क्षमतालाई निर्देशकले ठुलो न्याय गरेका छन् । बरालले पूर्णेको चरित्रलाई साँच्चै जीवन्त बनाइदिएका छन् । सँगसँगै अन्यको अभिनय पनि खोटरहित छ', उनले भने ।
चलचित्र 'पूर्ण बहादुरको सारंगी'ले नेपालमासमेत ऐतिहासिक सफलता प्राप्त गरेको छ । यसअघि राम्रो व्यवसाय गर्ने चलचित्रको कीर्तिमानीसमेत यस चलचित्रले तोडिसकेको छ ।
लक्ष्मीपूजा अर्थात कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।
निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिएका छन् । फिल्म अझै चलिरहेकाले यसको कमाइ बढ्ने निश्चित छ ।
छोटो समयमा धेरै कमाउने र अत्यधिक शो पुन सफल यो चलचित्रले देशबाहिर युरोप, अस्ट्रेलिया, अमेरिकालगायत विभिन्न मुलुकमा पनि उत्तिकै सफलता हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो
-
क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प, १० औं हजार मानिस प्रभावित
-
प्रदेशका तीन सडक समस्याग्रत घोषित
-
ऊर्जामन्त्री खड्का हुल बाँधे्र पुगे जमुनी सिँचाइ आयोजना हेर्न
-
१२ बजे, १२ समाचार : वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाइदेखि एनपिएलमा भारतीय गिरोहको सट्टेबाजीसम्म
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान