शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्थायित्वको माग गर्दै शिक्षक र कर्मचारीद्वारा नेपाल खुला विश्वविद्यालयमा तालाबन्दी

बुधबार, १२ मङ्सिर २०८१

काठमाडौँ । स्थायित्वको माग गर्दै शिक्षक (प्राध्यापक) र कर्मचारीहरूले नेपाल खुला विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । लामो समयदेखि काम गर्दै आएका प्राध्यापक र कर्मचारीहरूले विश्वविद्यालयले पटकपटक गरेको निर्णय कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै तालाबन्दी गरेका हुन् ।

शिक्षक कर्मचारी संघर्ष समिति नै गठन गरेर उनीहरू सोमबारदेखि आन्दोलन गर्दै आएका छन् । उनीहरूले विश्वविद्यालयमा तालाबन्दी गरेर माग पुरा नहुँदासम्म नखोल्ने चेतावनी दिएका छन् ।

संर्घष समितिका संयोजक उपप्राध्यापक डाक्टर भोजराज घिमिरेले स्थापनाकालमा नै खुला विज्ञापनमार्फत विभिन्न चरणका अन्तर्वार्ता दिएर प्रवेश गरेका शिक्षक कर्मचारीहरू आन्दोलित बनेको बताए ।

‘त्यतिखेर खुला प्रतिस्पर्धा गरेर विश्वविद्यालयमा प्रवेश गर्‍यौँ । ६ वर्षसम्ममा स्थायित्व सम्बन्धी कुनै काम भएन । विश्वविद्यालयको सभाले नीतिगत रूपमा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने भनेर निर्देशनात्मक आदेश दिँदा समेत हामीलाई नजरअन्दाज गरेर यो काम गरिएन,’ उनले भने ।

प्राध्यापक तथा शिक्षकहरूले दुईवटा माग अघि सारेका छन् । विश्वविद्यालयको पदपूर्ति समितिले निर्दिष्ट गरेको मापदण्ड पुरा गरी विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय बमोजिम हालसम्म नियमित रूपमा करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीको विश्वविद्यालयको सातौँ सभाले दिएको निर्देशन बमोजिम विशेष आन्तरिकको विषयका सन्दर्भमा हालससम्मको सेवा अवधिलाई कदर गर्दै विशेष आन्तरिक मार्फत स्थायित्व गर्नुपर्ने उनीहरूको माग छ ।

त्यस्तै श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ ले निर्दिष्ट गरेको शिक्षक तथा कर्मचारीको न्यूनतम आधारभूत माग (सामाजिक सुरक्षा कोष, उपदान लगायत, महँगी भत्ता) को बारेमा अविलम्ब व्यवस्था गर्नुपर्ने उनीहरूको अर्को माग रहेको छ ।

दुई बुँदे माग अघि सारेर विश्वविद्यालयका ३५ जना शिक्षक र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

शिक्षक र कर्मचारीहरूसँग विश्वविद्यालयले कार्यकारीको बैठक बसेर लिखित सहमति गर्ने समझदारी भएको थियो । तर, सोमबार अचानक अर्को सूचना जारी नभएसम्मका लागि कार्यकारी परिषद्को बैठक स्थगित भएको सूचना जारी भएको थियो ।

त्यसपछि शिक्षक र कर्मचारीहरूको गलत मनसाय रहेको भन्दै तालाबन्दी गरेका हुन् ।

‘लिखित सहमति गर्ने भनेर बैठकका लागि पत्र समेत पठाउनुभयो । तर, सोमबार अचानक अर्को सूचना नआएसम्मका लागि कार्यकारीको बैठक स्थगित भनिदिनुभयो,’ उनले भने, ‘त्यसपछि उहाँहरूको नियती गलत हो भन्ने लागेर तालाबन्दी गरेका हौँ । जुन बेलासम्म कार्यकारीको बैठकले हाम्रा यी मागहरू सम्बोधन भयो भनेर निर्णय गरेर लेखेर दिँदैनन् त्यो दिनसम्म हामी यो तालाबन्दी जारी राख्छौँ ।’

विश्वविद्यालयका प्राविधिक देवेन्द्र कटुवालले आफू साढे ५ वर्षदेखि काम गर्दै आएको तर, हालसम्म पनि स्थायी हुन नसकेको बताए । स्थायीका लागि विश्वविद्यालयबाट पटक पटक निर्णय हुने गरेको तर, कार्यान्वयन नहुने उनको भनाइ छ ।

‘कम्प्युटर परीक्षण, लिखित, अन्तर्वार्ता सबै प्रक्रिया पुरा गरेर करारका कर्मचारी राखेको थियो । त्यो बेला स्थायी गराउने भनेको थियो । तर, यतिका वर्ष पुरा भयो अहिलेसम्म केही भएको छैन,’ कटुवालले भने ।

शिक्षक कर्मचारीले तालाबन्दी गरेपछि विश्वविद्यालयभित्र प्रहरी प्रवेश गरेर ताला खोल्ने प्रयास गरेको थियो । उपकुलपतिको पत्रका आधारमा प्रहरी आएर आफूहरूमाथि धरपकड गर्न खोजेको कटुवालको भनाइ छ ।

उपकुलपति प्राडा शिलु मानन्धर बज्राचार्यले बैठक बसेर निर्णय लिइने बताइन । भोली बिहीबारका लागि बैठक बोलाइएको र त्यहीबाट निर्णय लिइने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया