बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

स्टक ब्रोकर एसोसिएसन अध्यक्षलाई प्रश्न : ब्रोकर एसोसिएसनबिचको मर्जरबाट लगानीकर्ताले के पाउँछन् ?

बिहीबार, २० मङ्सिर २०८१, १० : २६
बिहीबार, २० मङ्सिर २०८१

काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २९ औँ साधारणसभा तथा अधिवेशन आज हुँदैछ । दुई स्टक ब्रोकरको ‘मर्जर’पछि आज पहिलोपटक नयाँ नेतृत्व चयन हुन लागेको हो । कात्तिक २८ गते दुई संस्थाबिच मर्जरमा जाने समझदारी (एमओयू) भएको थियो । आजको अधिवेशनपछि मर्जर प्रक्रियाले पूर्णता पाउनेछ । 

नेपाल धितोपत्र बोर्डले गत वर्ष नयाँ स्टक ब्रोकरहरूलाई लाइसेन्स दिएपछि आएका नयाँ स्टक ब्रोकरहरूले पुरानो संस्थामा ठाउँ नपाएको भन्दै ‘धितोपत्र ब्रोकर्स एसोसिएसन’ नामक नयाँ संस्था गठन गरेका थिए । तर दुईवटा संगठन हुँदा यो क्षेत्रको सवालको विषयमा आवाज एकत्रित हुन नसकेको भन्दै तीन साता अघि मात्रै दुई संस्था मर्जरमा जाने सम्झौता गरेका थिए । 

उक्त सम्झौता अनुसार ‘धितोपत्र ब्रोकर्स एसोसिएसन’का सबै सदस्यहरूले ‘स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल’को सदस्यता प्राप्त गर्ने र त्या संस्थालाई खारेजीमा लैजाने समझदारी भएको थियो । सदस्यता पाएका संस्थाको महाधिवेशन आउनै लागेकोले त्यही महाधिवेशनबाट नयाँ नेतृत्व टुङ्ग्याउने गरी त्यति बेला सम्झौता गरिएको थियो ।  

आजको महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै धर्मराज सापकोटा नेतृत्वको कार्यसमिति निवर्तमान बन्दैछ । प्रस्तुत छ, नयाँ महाधिवेशनअघि सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंश :

  • स्टक ब्रोकर एसोसिएसनको मर्जरपछि सेयर बजारका लगानीकर्ताले के पाउँछन् ? 

पुँजी बजारमा जति पनि स्टेकहोल्डर छन्, उनीहरूले काम गर्ने भनेको लगानीकर्ताको हितको लागि नै हो । स्टेकहोल्डर सबैले आफ्नो तर्फबाट के गर्न सकिन्छ, त्यही योगदान गर्ने हो । ब्रोकरको दायित्व पनि पुँजी बजारको विकास र विस्तार गर्ने र लगानीकर्ताको हकहितलाई संरक्षण गर्ने नै हो । त्योसँगै आफ्नो व्यापार व्यवसाय पनि अगाडि बढोस् भन्ने हो । 

मर्जर हुँदा र नहुँदामा धेरै फरक हुने त होइन, सबैले आ–आफ्नो हिसाबले काम गरिरहेकै थिए । तर, एउटै व्यवसायमा छुट्टाछुट्टै संस्था हुँदा आवाजहरू पनि अलि बलियो रूपमा प्रकट गर्न नपाइने, फुटाएर फाइदा लिन खोज्नेहरूले फाइदा भएकोले हामी मर्जरमा गएका हौँ । अब यी समस्या समाधान हुने भए । 

  • अहिले ब्रोकरबाट लगानीकर्ताले गरेको मुख्य अपेक्षा भनेको मार्जिन कारोबार हो । तपाईँहरूको मर्जरपछि यो विषयमा कति प्रगति होला ? 

मार्जिन ट्रेडिङ राम्रोसँग कार्यान्वयनमा आउनको लागि धितोपत्र बोर्डले २/४ वटा काम गरिदिनुपर्छ । उहाँहरू हाम्रो मुख्य अभिभावक हो । उहाँहरूले गरिदिने कानुनी प्रबन्धभित्रै रहेर हामीले काम गर्ने हो  । यसका लागि हामीले मुख्यतया तीनवटा कुरा आवश्यक छ भनेका छौँ । 

यसको पहिलो नम्बरमा ऋण रिकभरीको लागि कानुनी ब्याकअप चाहियो भनेका छौँ । दोस्रो, स्रोतको उपलब्धता बढाउने सुनिश्चितता हुनुपर्‍यो भनेका छौँ । र तेस्रो, मार्जिन कारोबार र सामान्य कारोबारलाई छुट्याउने गरी प्राविधिक पाटो मिलाउनुपर्छ पनि भनेका छौँ । 

मर्जर हुँदा पनि भन्ने कुरा चाहिँ त्यही नै हो । यसको सम्बोधन गर्ने काम धितोपत्र बोर्डको कोर्टमा छ । उहाँहरूले जति छिटो यो व्यवस्था गरिदिनुहुन्छ, उति छिटो मार्जिन ट्रेडिङको काम अगाडि बढ्छ, बजारमा सर्वसुलभ हुन्छ । 

मार्जिन ट्रेडिङ ब्रोकरले नै गर्नुपर्छ भन्ने त अन्तर्राष्ट्रिय प्रचलन नै हो । त्योभन्दा बाहिर रहेर सोच्ने भन्ने त कुरा नै हुँदैन । 

  • तपाईँहरूले मर्जरको एमओयू गर्दा साधारणसभापछि बन्ने कार्यसमितिबारे कुनै सहमति भएको थियो ? 

त्यस्तो केही छैन । हाम्रो विधानले नै के भन्छ भने सबै सदस्य साधारणसभामा भाग लिने र जुनसुकै पदमा पनि उम्मेदवारी दिन योग्य हुन्छ । यसमा को हुन पाउने को नपाउने भन्ने कुनै क्राइटेरियाहरू छैनन् । 

अब नेतृत्वमा जाने मान्छेले आफूहरूका आवाज नियामक निकाय, सरकार, संसद्देखि पब्लिक फोरमसम्म पुर्‍याउन सक्छ कि सक्दैन भन्ने हो । त्यो पुर्‍याउन सक्ने र त्यस्तो आवाज समग्र इन्डस्ट्रीको बृहत्तर हितमा हुने खालको हुनुपर्‍यो । यी दुई योग्यता भएको व्यक्ति नै नेतृत्वमा आउने हो । 

यहाँ आकाङ्क्षा राख्न जोकोहीले पनि पाउँछ । आकाङ्क्षीहरू मध्ये साधारणसभामा सहभागी सदस्यहरूले जसलाई विश्वास गर्नुहुन्छ उहाँहरूले नै नेतृत्व गर्नुहुन्छ । एकल उम्मेदवारी भए निर्विरोध चयन हुन पनि सक्नुहुन्छ । हामीले मर्जर सम्झौताकै समयमा कुनै त्यस्तो सम्झौता गरेका थिएनौँ, छैनौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप