निर्माण सुरु भएको २७ वर्षपछि नाम्दु–मार्बु–क्षेत्रपा सडकमा ढलान
चरिकोट । दोलखाको नाम्दु–मार्बु–क्षेत्रपा सडक अन्तर्गत कान्ले पात्ले खण्डमा ढलान गर्न सुरु गरिएको छ । शुक्रवारदेखि सो सडक खण्डमा ढलान गर्न थालिएको हो ।
२७ वर्षअघि निर्माण सुरु भएको सो सडकमा एक दशक अघिदेखि सवारी साधन नियमित रूपमा सञ्चालन भइरहेका छन् । निकै लामो समयसम्म सो सडक को निर्माण सम्पन्न हुन नसक्दा स्थानीय सर्वसाधारणले सास्ती खेप्दै आएका थिए । सडकका लागि पटक–पटक छुट्टाइएको बजेट सही सदुपयोग नहुँदा सडक निर्माण हुन सकेको थिएन ।
लामो समयदेखि सो क्षेत्रका जनताले सडक पिच गर्न माग गर्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गरेको गुनासो गर्दै आएका थिए । यो वर्ष पहिलो चरण कान्लेदेखि ३६० मिटर सडक ढलान कार्य सुरु भएको छ । बैतेश्वर गाउँपालिका र सडक डिभिजन कार्यालयले अहिले सो सडक स्तरोन्नतिको काम गरिरहेको छ । सडक ढलान हुने भएपछि स्थानीय सर्वसाधारण खुसी भएका छन् ।
सडक डिभिजनले स्तरोन्तीका लागि १ करोड बजेट छुट्ट्याएको बताइएको छ । सो सडक बैतेश्वर गाउँपालिकाका वडा नम्बर ६, ७, ८ हुँदै गौरीशङ्कर गाउँपालिकाको जुँगसम्म पुगेको छ । वैतेश्वर गाउँपालिका– ७ का वडाध्यक्ष मीनकुमार शिवाकोटीले आफ्नो कार्यकालमा मार्बु छापसम्म ढलान पिच गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । सडकको ढलान कार्य सुरु भएपछि उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्– ‘नआत्तिनुस् केही समय समस्या होला तर मेरो कार्यकालमा मार्बु छापसम्म सडक ढलान पिच गर्ने कार्यमा प्रतिबद्ध छु, निरन्तर प्रयास जारी छ।’
सो सडक तत्कालीन नाम्दु गाउँ विकास समितिका अध्यक्ष शान्तबहादुर उप्रेतीको पालामा (२०५३ साल) र अर्का गाविस अध्यक्ष माधवप्रसाद घिमिरेको पालामा (२०५४ सालदेखि) स्थानीय श्रोत र साधनको प्रयोग गरेर निर्माण सुरु गरिएको थियो । तर त्यसयता खासै प्रभावकारी काम नहुँदा सो क्षेत्रका जनताले सास्ती खेप्दै आएका थिए ।
वैकल्पिक सडक प्रयोग गर्न आग्रह
सडक ढलानको काम सुरु भएपछि नाम्दु–मार्बु–क्षेत्रपा सडकबाट चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । वैतेश्वर–७ वडा कार्यालयले एक सूचना जारी गरी एक महिनाका लागि नाम्दु–च्यानडाँडा– छाप सडक र खकालेश्वरी माझीबुस्ती सडकबाट आवतजावत गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

शुक्रवार क्षेत्रपा उखुबारी जाने सार्वजनिक यातायात माझीबुस्ती हुँदै आवतजावत गर्न सुरु गरेका छन् । तर उक्त सडकमा सार्वजनिक सवारी साधन चलाउन निकै कठिनाइ भइरहेको सर्वसाधारणले दुखेसो पोखेका छन् । सो सडकको निर्माणमा समेत सम्बन्धित निकायले बेवास्ता गरेको र जनताले सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण