विपन्नका लागि वडाले ल्यायो ‘जनता औषधि कार्यक्रम’
झापा । स्वास्थ्य बिमामा नसमेटिएकाका लागि औषधिमा सहुलियत पुर्याउने उद्देश्यले अर्जुनधारा नगरपालिका–३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान सावित भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को पुसबाट सुरु भएको सो कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या २८ हजार नाघेको वडाध्यक्ष सीताराम भट्टराईले बताए । ‘सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सबै परिवार जोडिएका हुँदैनन्’, वडाध्यक्ष भट्टराईले कार्यक्रमबारे जानकारी दिँदै भने, ‘हामीले सुरु गरेको जनता औषधि कार्यक्रमबाट बिमामा जोडिएका र नजोडिएका सबै नागरिकले सहुलियत प्राप्त गर्नुहुन्छ ।’
वडामा रहेको खुदुनाबारी स्वास्थ्य चौकीमार्फत यो कार्यक्रम सञ्चालन गरिएको छ । बिमामा नपाइने अर्थात् बिरामीले खरिद गर्नुपर्ने औषधिमा स्वास्थ्य चौकीले ७५ प्रतिशतसम्म छुट दिने गरेको वडाध्यक्ष भट्टराई बताउँछन् ।
‘जनता औषधि कार्यक्रम’लाई व्यवस्थित बनाउन वडाले कार्यविधि निर्माण गरेको छ । बर्सेनि वडाले कार्यक्रम सञ्चालनका लागि रु पाँच लाख बजेट विनियोजन गर्दै आएको छ । कार्यक्रम सुरु भएसँगै यहाँ सेवा लिन आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको खुदुनावारी स्वास्थ्य चौकीका प्रमुख डम्बर मिश्रले बताए । बजारमा महँगो मूल्यमा किन्नुपर्ने औषधि सुलभ मूल्यमा पाइने भएपछि दैनिक २०० सम्म बिरामी आउने गरेको उनले बताए ।
‘यो सेवा सुरु गर्नुअघि दैनिक २५ देखि ३० जनामात्र बिरामीले सेवा दिने गरेका थिए’, उनले भने, ‘हाल दैनिक २०० बिरामीले सेवा लिइरहनुभएको छ, औषधिमा हामी मुनाफा खोज्दैनौ, सेवा पुर्याउने उद्देश्य राखिएको छ ।’ वडा कार्यालयले रु पाँच लाख बजेट दिएर सुरु भएको कार्यक्रम लोकप्रिय बनेपछि हाल एकैपटकमा रु १४ लाख बढीको औषधि खरिद गर्न सक्ने अवस्थामा स्वास्थ्य चौकी पुगेको उनले जानकारी दिए ।
सेवा लिन अर्जुनधाराका अरु वडावासीमात्र होइन, छिमेकी पालिका बिर्तामोड, बुद्धशान्ति र मेचीनगरका बिरामीसमेत आउने गरेको मिश्रले बताए । उनले कतिपय औषधि शतप्रतिशत बोनसमा आउने र कतिपय एक बट्टा खरिद गर्दा तीन बट्टा सित्तैमा आउने हुँदा जनताले अत्यधिक सहुलियतमा गुणस्तरीय औषधि पाउने गरेको उनको भनाइ छ । नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बिमा कार्यक्रमको तुलनामा यो कार्यक्रम बढी प्रभावकारी भएको उनले दाबी गरे ।
सरकारको स्वास्थ्य बिमा कार्यक्रममा निःशुल्क औषधि दिइने भनिए पनि धेरैजसो औषधि बीमाको सूचीभित्र पर्दैनन् । त्यसका कारण नागरिकले महँगो मूल्यमा औषधि खरिद गर्नुपर्ने बाध्यता छ । अर्जुनधारा वडा नं ३ मा बिमाको सूचीमा नपर्ने औषधिसमेत सहुलियतमा पाइने भएकाले वडावासी खुसी भएको वडाध्यक्ष भट्टराई बताउँछन् ।
प्रमुख मिश्रले वडा नं ३ मा तीन हजार ६०० दीर्घरोगका बिरामी रहेको बताए । तीमध्ये २० प्रतिशतमात्र स्वास्थ्य बिमामा आबद्ध छन् । खुदुनावारी स्वास्थ्य चौकीमा उपचार सेवालाई व्यवस्थित र भरपर्दो बनाउन विभिन्न दातामार्फत रु ८५ लाखभन्दा बढीको उपकरण निःशुल्क जडान गरिएको उनले बताए ।
गत आर्थिक वर्षमा १७ हजार ५०० र चालु आवको छ महिनामा ११ हजार बढीले जनता औषधि कार्यक्रमबाट सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख मिश्रले जानकारी दिए । चालु आवमा २५ हजार बिरामीलाई सेवा दिने स्वास्थ्य चौकीको लक्ष्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
तनहुँमा २७ वन्यजन्तुको उद्धार
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
-
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
-
नदीजन्य पदार्थ उत्खनन रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण