हुम्लाका ७ वटै स्थानीय तहले ल्याए बजेट
हुम्ला । हुम्लाका सात वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात वटै पालिकाले उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै जनमुखी बजेट ल्याएका हुन् ।
सदरमुकाममा रहेको सिमकोटले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथमिकता राख्दै आगामी आवका लागि रु ६४ करोड ९५ लाख २८ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष विजय भण्डारीका अनुसार घर बिमा, नवयुवाका लागि सीप विकासलगायत कार्यक्रमलाई अघि सारिएको छ ।
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ३८ करोड ९७ लाख ८८ हजार २१८ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहका अनुसार कुल बजेटमध्ये रु १९ करोड २० लाख ९६ हजार २१८ चालुतर्फ र रु १९ करोड ७६ लाख ९२ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ । गाउँसभामा प्रस्तुत बजेटमा विकास निर्माण, प्रभावकारी सेवाप्रवाह तथा स्थानीय जनताको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको छ ।
खार्पुनाथ गाउँपालिकाले रु ४९ करोड ९५ लाख ५७ हजार २८८ बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार रु २१ करोड ९८ लाख पुँजीगततर्फ र रु २७ करोड ९७ लाख ५७ हजार २८८ चालुतर्फ विनियोजन गरिएको छ । स्मार्ट गाउँपालिका, रैथाने बाली प्रवर्द्धन तथा माटोका छानामुक्त घर निर्माणलाई प्राथमिकता दिइएको उनले जानकारी दिए ।
त्यसैगरी, ताँजाकोट गाउँपालिकाले रु ३५ करोड ५७ लाख १० हजार ९६६ को बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष लालकेश जैशीका अनुसार शिक्षा, स्वास्थ्य, उत्पादन, घर बिमा तथा ‘अध्यक्षसँग नवयुवा’ कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले पर्यटन, आयआर्जन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै रु ३५ करोड ३२ लाख १५ हजार ८८८ को बजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिए ।
मध्यक्षेत्रमा रहेको सर्केगार्ड गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ५४ करोड २७ लाख ९४ हजार १२ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार आएको बजेटलाई विषयगत समितिमा विनियोजन गरी आवश्यक छलफलपश्चात् बजेट पारित गरिने बताए ।
चङ्खेली गाउँपालिकाले रु ४२ करोड २९ लाख २० हजार ११० को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीका अनुसार कुल बजेटमध्ये रु २३ करोड ९० लाख २७ हजार ११० चालुतर्फ र रु १८ करोड ३८ लाख ९३ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ । गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उनले बताए ।
सात वटै गाउँपालिकाले उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधार विकासलाई केन्द्रमा राखेर आगामी आवको बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका सबै गाउँपालिकाले पहिलो पटक एकैदिन गाउँसभाको आयोजना गरी बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण