तोडिएला त आईपीएलको इतिहासमा क्रिस गेलको नामसँग जोडिएका यी तीन गजबका कीर्तिमान ?
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण मार्च २२ तारिखदेखि सुरु हुँदैछ । आईपीएलको यो १८ औँ संस्करण हो । सहभागी १० वटै टोली अहिले प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त छन् ।
प्रतियोगिताको उद्घाटन खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेलिने छ । करिब दुई महिना चल्ने आईपीएलको १८ औँ संस्करणमा पनि विश्वका चर्चित खेलाडीहरु विभिन्न टोलीबाट मैदानमा ओर्लनेछन् । आईपीएलको प्रत्येक संस्करणमा खेलाडीले थुप्रै कीर्तिमान पनि बनाउँदै आएका छन् ।
यसपटक पनि खेलाडीहरुले ब्याटिङ, बलिङ र फिल्डिङमा थुप्रै कीर्तिमान बनाउने छन् । तर, आईपीएलको इतिहासमा एक क्यारेबियन खेलाडीले १२ वर्षअघि बनाएको कीर्तिमान भने अझसम्म कसैले तोड्न सकेको छैन । वेस्ट इन्डिजका प्रभावशाली ब्याट्सम्यान क्रिस गेलले सन् २०१३ को आईपीएलमा बनाएको त्यो लोभलाग्दो कीर्तिमान तोड्न त्यसपछिका हरेक संस्करणमा थुप्रै खेलाडीले प्रयास गर्दै आएका छन् । तर, सफलता भने कसैले हात पार्न सकेको छैन ।
आईपीएलको १८ औँ संस्करणमा पनि थुप्रै ब्याट्सम्यानले क्रिस गेलको त्यो कीर्तिमान तोड्ने प्रयास गर्नेछन् । तर, गेलको नाममा रहेको त्यो गजबको कीर्तिमान यसपटक पनि तोडिने सम्भावना भने निकै कम देखिन्छ । आखिर के हो त, विगत १२ वर्षदेखि क्रिस गेलको नामसँग जोडिँदै आएका तीनवटा कीर्तिमान ? गेलले बनाएको त्यो कीर्तिमान आईपीएलको १८ औँ संस्करणमा तोडिएला त ? खासमा, सन् २०१३ को आईपीएलमा अप्रिल २३ तारिखका दिन गेलले ती तीनवटा कीर्तिमान बनाएका थिए ।
त्यतिबेला क्रिस गेल रोयल च्यालेन्जर्स बेंगलुरुबाट खेल्थे । उनले पुणे वारियर्सविरुद्धको खेलका क्रममा अविजित एक सय ७५ रन बनाएका थिए । ओपनर ब्याट्सम्यान गेलले केवल ६६ बलको सामना गरी १७ छक्का र १३ वटा चौका हिर्काएका थिए । आईपीएलको हालसम्मको इतिहासमा कुनै पनि ब्याट्सम्यानले बनाएको यो नै सर्वाधिक रन हो ।
गेलको नामसँग जोडिएको यो कीर्तिमान आजसम्म कसैले तोड्न सकेको छैन । त्यो खेलमा गेलले केवल ३० बलमा आफ्नो शतक पुरा गरेका थिए । आईपीएलको इतिहासमा यो कुनै पनि ब्याट्सम्यानले सबैभन्दा कम बलमा बनाएको शतक हो । गेलको नामसँग गाँसिएको यो दोस्रो कीर्तिमान हो ।
त्यो खेलमा उनले अर्धशतक पुरा गर्न १७ बल खर्चिएका थिए । जबकी ३० बलमा उनले शतक नै बनाएका थिए । यसबाट पनि गेलको आक्रामक ब्याटिङको कल्पना गर्न सकिन्छ । यसैगरी, त्यही खेलमा गेलले १७ वटा छक्का प्रहार गरेका थिए । आईपीएलको इतिहासमा हालसम्म एउटै खेलमा कुनै पनि ब्याट्सम्यानले प्रहार गरेको यो नै सबैभन्दा बढी छक्का हो ।
गेलको यो कीर्तिमान पनि हालसम्म कसैले तोड्न सकेको छैन । गेलकै अविश्वासिलो ब्याटिङका कारण त्यो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु एक सय ३० रनले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा ब्राजिलको खस्कँदो लय: भिनिसियसको जादुले छोप्यो टोलीको कमजोरी
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण