चौतारीमा यसरी खोसियो राजेशको अध्यक्ष पद
काठमाडौँ । नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन सुरु हुन दुई दिन अघि उपाध्यक्ष राजेश राई र एमाले प्रचार विभाग सचिव गणेश पाण्डेले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत राईले १० औँ राष्ट्रिय महाधिवेशनमा आइपुग्दा आफूसँग जम्मा दुईवटा विकल्प रहेको पनि बताएका छन् ।
‘पहिलो, अध्यक्षको जिम्मेवारी लिएर नेतृत्व गर्ने । दोस्रो, संगठनबाट बिदा लिएर नयाँ मोर्चामा काम गर्ने’, राईले लेखेका छन् । अरू उपाध्यक्षहरूले अवसर पाइसकेको भन्दै अध्यक्षमा आफ्नो दाबेदारी स्वाभाविक र जिम्मेवारी न्यायपूर्ण हुने राईको दाबी छ ।
एमाले स्रोतका अनुसार उपाध्यक्ष राईले यस्तो घोषणा गर्दै गर्दा चौतारीको अध्यक्ष पद भने बालुवाटारले एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेलाई दिइसकेको बताइएको छ । उपाध्यक्ष राई त्यस विषयमा जानकार रहेको बताइन्छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको पुस्तकका लेखक समेत रहेका पाण्डेलाई २ दिन अघि नै बालुवाटारले अध्यक्षका लागि ग्रिन सिग्नल दिएको बुझिएको छ ।
नेकपा (एमाले) जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई बोलाएर अध्यक्ष ओलीले ६ चैत गते पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएका छन् । तर त्यो पद अध्यक्ष ओलीले १६ फागुन २०८१ मा अर्का उपाध्यक्ष राईलाई दिएका थिए ।
अध्यक्ष ओलीले १६ फागुन २०८१ मा उसैगरी नेकपा (एमाले) जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई बोलाएर राईलाई अध्यक्ष, पाण्डेलाई प्रचार तथा प्रकाशन विभागका सचिव बनाउन निर्देशन दिएका थिए ।
सोही अनुसार गत १८ फागुनमा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको एमाले सचिवालय बैठकले पाण्डेलाई प्रचार विभागको सचिव पदमा नियुक्त गरेको थियो । एक पदाधिकारीका अनुसार यो निर्णयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रश्न उठाएपछि अध्यक्ष ओलीले सबैको रिपोर्टिङका आधारमा राई अध्यक्ष र पाण्डे सचिव बनाउने निर्णय गरिएको बताएका थिए ।
तर उक्त सहमति र नेताहरूको प्रतिवद्धताविपरित राष्ट्रिय महाधिशेनको मुखमा राईको अध्यक्ष पद खोसिएको छ । अध्यक्ष पद खोसिएपछि राईले चुनाव लड्ने घोषणा गरेका छन् ।
उनले भनेका छन्– ‘सङ्गठनका मेरो आदरणीय अध्यक्ष गणेश बस्नेतले पनि तिम्रो दाबेदारी स्वाभाविक छ भन्नुभएको छ । पार्टी नेतृत्वसँग कुरा गर्दा पनि त्यही भन्नुभएको छ । यस हिसाबले मलाई पार्टी नेतृत्वले केन्द्रीयताको अभ्यासबाटै अवसरको नेतृत्व दिनुहुन्छ भन्ने गहिरो विश्वास छ । दोस्रो अर्थात् जनवादको अभ्याससम्म जानै नपर्ने वस्तुगत अवस्था हो । उल्लेखित तथ्यबाट हेर्दा न्यायपूर्ण पनि यही हुनेछ ।’
अध्यक्ष पद खोसिएपछि राईले नेताहरूलाई भेटेर आफूमाथि अन्याय भएको बताएका छन् । चौतारीका उपाध्यक्ष पाण्डेलाई प्रचार विभाग सचिव बनाउँदा प्रेस चौतारी र एमाले पङ्क्तिमा राजेश राईलाई नै अध्यक्ष बनाउने तयारी रहेकै सन्देश गएको थियो । किनकि अरू दुई उपाध्यक्ष सविन प्रियासन र देविका घर्तिमगर नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिमा निर्वाचित भइसकेका छन् । सविन केन्द्रीय सचिव र देविका केन्द्रीय सदस्य छन् ।
अध्यक्ष पदका अर्का आकाङ्क्षी हुन्, महासचिव हिरामान लामा । तर लामा र राईबिच एक अर्कालाई छोड्न समस्या नरहेको बताउँदै आएका छन् ।
यसैबिच एमाले प्रचार विभाग सचिवमा मनोनयन भएका पाण्डेले सो पदबाट शुक्रबार राजीनामा दिएका छन् । उनले प्रेस चौतारी नेपालको आगामी महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने भन्दै राजीनामा दिएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण