दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री

काठमाडौँ । दुबईबाट नेपाल आउने यात्रुहरूलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली गरेको आरोपमा पसल सञ्चालकसहित ७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दुबईबाट सामान मगाई पसल सञ्चालन गर्ने मोरङको विराटनगर उपमहानगरपालिका–१५ घर भई हाल जिल्ला काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने ३० वर्षीय रसिद आलम रहेका छन् । त्यस्तै दुबईबाट सामान ल्याउने महोत्तरीका २८ वर्षीय राकेश गिरी, पाल्पाका ४१ वर्षीय ताराबहादुर रेस्मीमगर र पाँचथर घर भएकी ३५ वर्षीया कमला फिया तथा सामान लिने मकवानपुर घर भई काठमाडौँको सीतापाइला २६ वर्षीय चित्रबहादुर मल्ल ठकुरी, मकवानपुर घर भई सीतापाइला बस्ने २४ वर्षीय हुकुमबहादुर मल्ल र उदयपुर घर भई हाल बौद्ध बस्ने ३१ वर्षीय सुमित केसी रहेका छन् ।
दुबईबाट नेपाल आउने यात्रुहरूलाई ल्यापटप र मोबाइल १/१ थान गरी नेपाल पठाउने र एक जना यात्रुले १/१ थान ल्यापटप र मोबाइल ल्याउँदा भन्सार छुट हुने प्रावधान रहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीकाअनुसार धेरै जना व्यक्तिहरूलाई १/१ थान ल्यापटप र १/१ थान मोबाइल ल्याउन लगाई भन्सार छली चोरी तस्करी भइरहेको भन्ने सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
सोही विषयमा अनुसन्धान गर्दै जाँदा सोमबार दुबईका विभिन्न उडानद्वारा नेपाल अवतरण भएका ३ जना यात्रुहरू मार्फत १/१ थान ल्यापटप र मोबाइल लिई आएका यात्रुहरूलाई गौशाला बत्तिसपुतलीबाट सामानसहित नियन्त्रणमा लिइएको हो । उनीहरूले ल्याएका सामानहरू लिनका लागि आएका अन्य ३ जनालाई समेत सोही स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सामान लिन आउने व्यक्तिहरूको प्रारम्भिक अनुसन्धान गर्दा उल्लेखित सामानहरू न्युरोडको संकटा मन्दिर नजिक एलिटेड सप्लायर्स प्रालि नामको ल्यापटप पसल सञ्चालन गरी बस्ने रसिद आलमले ल्याएको भन्ने खुलेको उपरीक्षक जिसीको भनाई छ । आलमको पसल तथा स्टोरमा खानतलासी गर्दा बिल बिजक नभएका डेल कम्पनीका ६९ थान ल्यापटप र २ थान मोबाइल बरामद गरिएको थियो ।
नियन्त्रणमा लिइएका ७ जनालाई बरामद गरिएका सामानसहित थप अनुसन्धान एवम् आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)