रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा

काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा साहित्यतर्फ नोवेल पुरस्कार प्राप्त लेखक मारियो वर्गस ल्वोसाको ८९ वर्षको उमेरमा आइतबार पेरुको राजधानी लिमामा निधन भएको छ । ल्वोसाका पारिवारिक सदस्यहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर सूचना जारी गर्दै उनको निधन भएको जानकारी सार्वजनिक गरेका हुन् ।
परिवारको सदस्यका तर्फबाट उनका छोरा अल्भारो वर्गस ल्वोसाले यो जानकारी सामाजिक सञ्जाल एक्समा राखेका छन् । उक्त पोष्टमा भनिएको छ, ‘हामी असाध्यै दुःखका साथ हाम्रो पिता मारियो वर्गस ल्वोसाको आज लिमामा आफ्नै परिवारको बिचमा निधन भएको जानकारी गराउँछौँ ।’
साथै उनको परिवारले ल्वोसाको अन्त्येष्टि पारिवारिक रूपमा मात्रै हुने बताएको छ । उनको अन्तिम संस्कार सम्बन्धी कुनै सार्वजनिक कार्यक्रम नरहेको उल्लेख गरिएको छ ।
आफ्नो ८९ वर्षे जीवनमा पत्रकार, राजनीतिक अभियन्ता, नेता तथा लेखकको रूपमा रहेका ल्वोसा ल्याटिन अमेरिकी लेखकहरूमा उम्दा लेखक मानिन्छन् । तनावपूर्ण पारिवारिक वातावरणमा हुर्केका उनको बाल्यकाल आमाको साथमा आफ्नो मामाघरमा बितेको थियो । कलिलो उमेरबाटै लेखनमा सक्रिय ल्वोसाले सन् १९६३ मा लेखेको उपन्यास ‘द टाइम अफ द हिरो’बाट एकाएक चर्चा र विवादको घेरामा पुगे । पेरुको सेनामा हुने गतिविधि तथा त्यहाँका प्रवृत्तिलाई लिएर लेखिएको उपन्यास आम मानिसहरू माझ असाध्यै लोकप्रिय भएको थियो । तर उपन्यासले पेरुको सेना भने रिसायो । उपन्यासका हजारौँ प्रति सैनिकहरूले जलाइदिए तथा लेखक ल्वोसालाई विदेशीको उक्साहटमा मुलुकको सेनाविरुद्ध जथाभावी लेखेको आरोप लगाइयो ।
विविध आलोचनाका बाबजुद उनको ख्याती बढ्दै गयो । सन् १९६५ मा प्रकाशित उपन्यास ‘द ग्रीन हाउस’को सफलताले ल्वोसालाई प्रसिद्ध लेखकमा दर्ज गराइदियो । उनको यो उपन्यासबारे टिप्पणी गर्दै ल्याटिन अमेरिकी साहित्य समीक्षक गेराल्ड मार्टिनले ‘ल्याटिन अमेरिकामा लेखिएको सबैभन्दा महानतम् कृतिमध्ये एक’ भनेका छन् । लिमा सहरमा रहेको एउटा वेश्यालयलाई केन्द्रमा राखेर लेखिएको उपन्यासले ल्याटिन अमेरिकी समाजका विविध आयामलाई देखाएको छ । यो उपन्यासले ल्वोसालाई धेरै पुरस्कार दिलायो । साथै उनी ल्याटिन अमेरिकामा उभारमा रहेको साहित्यिक गतिविधिको प्रमुख व्यक्तित्वको रूपमा गनिन थाले ।
यसपछि उनका दर्जन हाराहारी उपन्यास, केही नाटक, निबन्ध संग्रह तथा फुटकर अन्य रचनाहरू पनि प्रकाशित भएका छन् । उनका प्रत्येक रचना साहित्यानुरागीका लागि रुचिकर हुने गर्छ । सन् २०१० मा उनलाई आफ्नो लेखन मार्फत ‘कुशलतापूर्वक शक्ति संरचनाहरूको नक्साङ्कन र व्यक्तिको प्रतिरोध, विद्रोह र पराजयको तस्बिर अद्भूत शैलीमा प्रस्तुत गरेको’ भन्दै साहित्यतर्फको नोवेल पुरस्कार प्रदान गरियो । उनले माइकल दे सर्भान्टेस पुरस्कार लगायत अन्य धेरै प्रतिष्ठित सम्मान पनि पाएका थिए ।
- वामपन्थ परित्याग र राष्ट्रपतिको उम्मेदवार
कम्युनिस्ट साहित्यको राम्रो अध्ययन गरेका ल्वोसा सुरुवातकालमा क्युवाली क्रान्तिका पक्षधर थिए । उनी दक्षिण अमेरिकी वामपन्थी लहरको पक्षमा थिए । फिडेल क्याष्ट्रोसँग उनको राम्रो सम्बन्ध थियो । तर सन् १९७१ मा क्युवामा कवि हेबेर्टाे पादिल्ला लगायत लेखकहरूलाई बन्दी बनाइएपछि उनी बिस्तारै समाजवादी विचारसँग टाढिन थाले । यसमा उनले अध्ययन गर्दै गरेका फ्रेडरिक हायक, कार्ल पोप्पर लगायत उदारवादीहरूका कृतिहरूको पनि भूमिका रहेको भन्ने गरिन्छ । उनी अन्ततः शास्त्रीय उदारवादी विचारधाराको पक्षमा उभिए । राज्यले व्यक्तिको अधिकारमा गर्ने हस्तक्षेपले उनलाई शक्तिशाली राज्यको अवधारणासँग मोहभङ्ग गरायो । उनी सन् १९९० सम्म आइपुग्दा लिबर्टी पार्टीको नेता हुँदै राष्ट्रपतिको उम्मेदवारसमेत बन्न पुगे । सन् १९९० को राष्ट्रपतीय निर्वाचनमा उनी अल्बर्टाे फुजिमोरीसँग प्रतिस्पर्धामा उत्रिए । उनले आर्थिक खुलापन, उदारीकरण तथा व्यक्तिगत स्वतन्त्रता जस्ता मुद्दालाई प्राथमिकतासाथ उठाएका थिए । उनी फुजिमोरीसँग पराजित भए । त्यसपछि पनि उनी लामो समय राजनीतिक रूपमा सक्रिय नै रहे ।
- मार्खेजलाई मुक्का
अर्का ल्याटिन अमेरिकी साहित्यकार ग्याब्रियल गार्सिया मार्खेज र ल्वोसा सुरुमा असाध्यै मिल्ने साथी थिए । मार्खेजको उपन्यासबारे ल्वोसाले एउटा पुस्तक नै लेखेका थिए । तर एकाएक उनीहरूको सम्बन्ध नराम्रो गरी बिग्रियो । ल्वोसा र मार्खेजको जीवनमा अर्काे अनौठो घटना छ ।
सन् १९७६ को फेब्रुअरी १२ मा मेक्सिको सिटीको एउटा फिल्म हल परिसरमा मार्खेज र ल्वोसाको भेट भयो । भेटमा मार्खेज ल्वोसालाई अँगालो मार्न अभिवादन गर्दै गए । तर ल्वोसाले भने मार्खेजको गालामा कसेर मुक्का हानिदिए । यसले त्यहाँको वातावरण नै स्तब्ध भयो । यो अवस्थालाई पत्रकारहरूले तस्बिरमा पनि कैद गरेका छन् । मार्खेजले मुक्का खाएपछिको दृश्य कैद गरिएको तस्बिर संसारभर चर्चित भयो । यो झगडाको कारणबारे पारिवारिक, राजनीतिक वा व्यक्तिगत दौडजस्ता विषय लिएर धेरै अनुमान गरिए तर उनीहरू दुवै जनाले यसबारे कहिल्यै बोलेनन् । उनीहरूको सम्बन्ध सधैँका लागि बिग्रियो । सन् २०१४ मा मार्खेजको मृत्यु भएपछि ल्वोसाले उनको लेखनीको प्रशंसामा केही शब्द लेखेका थिए ।
आफ्नो लेखकीय प्रतिभाका कारण संसारभर चर्चित भएका ल्वोसाले मूलतः मान्छे, उसको स्वतन्त्रता र त्यसमा आउने अवरोधहरूबारे लेखेका छन् । तानाशाहको आखिरी दिनहरूबारे लेखिएको ‘द फिष्ट अफ गोट’ नामक उपन्यासले त्रास, दमन तथा यौनिक हैकमबाट कसरी अधिनायकवाद चलेको हुन्छ भनेर देखाउँछ । उनका अन्य उपन्यासहरू पनि तिनमा भएका विभिन्न प्रकारका प्रयोगहरूका लागि साहित्यमा अब्बल सिर्जना मानिन्छन् । संसारभरका साहित्यानुरागीहरूले ल्वोसाप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम
-
फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते
-
नीति तथा कार्यक्रममा सत्ता र प्रतिपक्षको टिप्पणी : टोले गुन्डाको चन्दादेखि बासी कार्यक्रमसम्म
-
पाकिस्तानमा कार दुर्घटना, आठ जनाको मृत्यु
-
२ वर्ष अघि आरबीआईले थुतिसकेको २ हजारको नोट अझै प्रचलनमा
-
गाजामा राहत सामग्री पुर्याउन गइरहेको डुङ्गामा ड्रोन हमला