रजत विजेता दावा नगदसहित सम्मानित
काठमाडौँ । चौथो विश्व क्योकुसिन तेजुका कराँते च्याम्पियनसिपका रजत विजेता खेलाडी दावा शेर्पा नगदसहित सम्मानित भएका छन् । दावालाई जापानमा बस्ने गैरआवासीय नेपाली सुवर्ण कार्कीले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।
जापानको फकुओकामा गत फेब्रुअरी २४ तारिखमा भएको प्रतियोगितामा दावाले पुरुष एकल कातामा रजत पदक जितेका थिए । प्रोत्साहन पुरस्कार हस्तान्तरणपछि कार्कीले भने, ‘विश्व च्याम्पियनसिपमा पदक जित्नु सामान्य उपलब्धि होइन । यसलाई मेरोतर्फबाट सम्मान र प्रोत्साहन सम्झनु होला ।’
कार्कीले सोही प्रतियोगिताका क्रममा भएको अन्तर्राष्ट्रिय कराँते संगठन क्योकुसिनकाई–कान (तेजुका समूह) जापानले आयोजना गरेको अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेस्टबाट पाँचौं डान प्राप्त गर्न सफल नेपाल क्योकुसिन कराँते (ईको) संघका अध्यक्ष दमन बस्नेतलाई बधाई पनि दिए ।
कार्यक्रममा अध्यक्ष बस्नेतले दावाले जितेको पदक नेपाली फुल कन्ट्याक्ट कराँतेको इतिहासमा अहिलेसम्मकै ठुलो सफलता भएको बताए । दावालाई सोही उपलब्धिका लागि नेपाल क्योकुसिन कराँते (ईको) संघले पनि गत चैत २८ गते २५ हजार रुपैयाँसहित सम्मान गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण