शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

उत्पादनमुखी बजेट ल्याउँछौँः मुख्यमन्त्री शाही

सोमबार, २८ जेठ २०७५, १५ : ४१
सोमबार, २८ जेठ २०७५

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आव २०७५÷७६ का लागि असार १ गते उत्पादनमुखी बजेट ल्याउने बताएका छन् ।  प्रत्येक महिना यहाँका पत्रकारहरुसँग गरिने ‘नियमित भेटघाट’ कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले वितरणमुखी नभई उत्पादनमुखी बजेट ल्याउने बताए । उनले कृषि योग्य जमीन, उत्पादित वस्तुको पहिचान र जडीबुटीको यकिन तथ्याँक संकलन गर्ने भन्दै विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन गरी स्रोतको खोजी गरिने जानकारी दिए । 

यही जेठ २६ गते प्रदेश सरकारबाट नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ । उनले भने, “कर्णालीमा कति आवश्यक सडक पर्छन्, तिनको वास्तविक लगत लिएर लगानी गर्छौं जसबाट यहाँका सबै जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्न सकियोस् ।” लगानीका लागि सार्वजनिक, निजी क्षेत्र र दातृ निकायको पनि खोजी गरिने उनको भनाइ थियो । 

उनले भने, “कर्णाली प्रदेशको मध्य तथा दीर्घकालीन महत्व राख्ने विकासका लागि मुख्यतया यो वर्ष योजना निर्माण, अध्ययन र आधार तयार गर्छौं ।”  लामो समयदेखि पारिश्रमिक, सेवा तथा सुविधा नलिई प्रदेश सरकारको सार्वजनिक पद धारण गरी काम गर्दै आएका सबैलाई संघीय सरकारले पठाएको मस्यौदाको आधारमा हालका लागि पारिश्रमिक, सेवा तथा सुविधा उपलब्ध गराइने जानकारी पनि उनले दिए । 

हालसम्म संघीय सरकारको अनुमतिमै काम गर्नु पर्दा प्रदेश सरकारले आफ्ना कुनै पनि संयन्त्र परिचालन गर्न नपाएको उनको गुनासो थियो ।  उनले कर्णालीलाई डिजिटल तथा प्राङ्गारिक प्रदेश बनाउने लक्ष्य लिइएकाले यसलाई पूरा गर्न आफ्नो सोच, व्यवहार र दिमाग बदल्न प्रदेशवासीसँग आग्रह गरे  । 

एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले उच्च शिक्षाका लागि यो प्रदेशका पाँच पत्रकारलाई प्रदेश सरकारले पढाउन विदेश पठाउने वचन दिनुभयो । उहाँका अनुसार पत्रकारका लागि अन्तरप्रदेशीय भ्रमण कार्यक्रम पनि राखिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप