बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा

बुधबार, १७ वैशाख २०८२, १९ : १७
बुधबार, १७ वैशाख २०८२

भाषा, संस्कृति, सभ्यता, इतिहास, पर्याप्त प्राकृतिक स्रोत र ऊर्जाशील मानवस्रोत रहेको कर्णाली लगानीको पर्खाइमा छ । जुन दिन कर्णालीले लगानी फिर्ता गर्ने अवस्थामा पुग्नेछ, त्यो दिन नेपालले पनि विश्वसामु सम्पन्ताको खुसी साट्नेछ । त्यसैले अहिले कर्णालीलाई क्षतिपूर्ति सहितको लगानी आवश्यक छ । यसका लागि अहिले बन्दै गरेको नीति कार्यक्रममा तलका कुराहरू उल्लेख हुन जरुरी छ । सरकारका व्यस्त संरचनामा कार्यरत विशिष्ट क्षमताका व्यक्तिहरूलाई सोच्न र कार्यबोझमा असर नपरोस् भन्ने हेतुले सहजीकरण स्वरूप नीति र कार्यक्रमका बुँदाहरू नै यसरी सुझाइएको छ ।

१) कर्णालीका दशवटा जिल्ला जोड्ने सडक (हुम्लाको सर्केगाड, चंखेली,  मुगुको गमगढी, जुम्लाको खलङ्गा, गुठीचौर, डोल्पाको त्रिपुरासुन्दरी, रुकुमपश्चिमको आठबिसकोट, रिम्ना, जाजरकोट, सल्ली बजार, छिन्चु, वीरेन्द्रनगर, बड्डीचौर, तल्लोडुङ्गेश्वर, दैलेखको राकम, खुलालु, कालिकोटको रास्कोट, हुम्लाको अदानचुली हुँदै सर्केगाड जोड्ने) लाई ‘कर्णाली चक्रपथ’ नामकरण गरी राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइनेछ ।

२) हिल्सा, हुम्लाको सर्केगाड, गमगढी, न्याउरीगाड, गुठीचौर, दुनै, मुस्ताङ र मनाङलाई जोड्ने सडकलाई ‘हिमाली सम्पदा राजमार्ग’को रूपमा विकास गरिनेछ ।
विश्वकै विशिष्ट हावापानी रहेको मानिने कर्णाली क्षेत्रमा उत्पादन हुने वन सम्पदा, जडिबुटी, कृषि उपज र फलफूलमा आधारित ‘कर्णाली जीविकोपार्जन कार्यक्रम’ सञ्चालन गरिनेछ । कर्णालीको फलफूल, जडिबुटी र कृषिउपजको प्रवर्द्धन, विकास, विस्तार र दिगो उपयोगका काम गर्नका लागि हिमाली जडिबुटी तथा फलफूल विकास बोर्डको गठन गरिनेछ ।

३) हुम्लाको श्रीनगर, मुगुको सोरु, खत्याड, कनकासुन्दरी, नराकोट, नाग्म, गेला, हाउडी, दुल्लु, तालपोखरी र काँक्रेबिहार जोड्ने सडकलाई खस सम्पदा राजमार्ग घोषणा गरी सोही बमोजिमका पूर्वाधार निर्माणका लागि उच्च प्राथमिकतामा राखिनेछ ।

४) कर्णाली क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको खोजी, अभिलेखीकरण गरी संवर्द्धन तथा संरक्षण कार्ययोजना निर्माणसहित कार्यान्वयनमा ल्याइनेछ ।

५) कर्णाली नदी र उक्त नदी सञ्जालमा रहेका सहायक नदीहरूको समेत उद्गमस्थल सम्मको विस्तृत भौगोलिक, सांस्कृतिक र ऐतिहासिक पक्षको अध्ययन गरी गंगादेखि कैलाश मानसरोरवर सम्बन्धको प्रवर्द्र्धन गरिनेछ ।

६) हुम्लाको यारी र मुगुको मुगु भन्सार कार्यालयको भौतिक पूर्वाधार तथा संस्थागत क्षमता अभिवृद्धि गरी सुविधा सम्पन्न भन्सार कार्यालको रूपमा विकास गरिनेछ ।

७) खस सभ्यताको संरक्षण, विकास र प्रचारप्रसारका लागि मालिका सर्किट, मस्टो पदमार्ग र खसान पदमार्ग घोषणा गरी यी पदमार्गहरूमा खस संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटनमैत्री पूर्वाधार निर्माण र स्तरोन्नति गरिनेछ ।

८) संसारको उग्लो बस्ती भनेर चिनिने डोल्पाको छार्काभोट, संसारको अग्लोस्थानमा धान फल्ने स्थानको रूपमा चिनिएको जुम्लाको छुमचौर, नेपालको ठुलोताल राराताल, अग्लो झरना कालिकोटको पचालझरना, खस सभ्यताको केन्द्र सिञ्जा भ्याली र रणानीतिक क्षेत्र लिमीभ्यालीमा रहेका बस्तीहरूको सांस्कृतिक र ऐतिहासिक विशेषतालाई सुरक्षित गर्दै सुविधासम्पन्न पर्यटकीय वस्तीका रूपमा विकास गरिनेछ । 

९) सुर्खेतदेखि रारा हुँदै लिमीलाप्चा तथा कैलाश मानसरोबर दृश्यावलोकनमा जाने पर्यटकहरूका लागि यो रुटमा रहेका दैलेखको राकममा जलयात्रा पूर्वाधार, कालिकोटको हुस्केदेखि बालीचौर जोड्ने लामो र अग्लो झोलुङ्गेपुल, जुम्लाको सिञ्जामा खस संग्रहालय, मुगुको चंखेलीमा रक क्लाइमिङ लगायत अन्य विभिन्न स्थानमा साहसिक पर्यटकीय पूर्वाधारहरू निर्माण गरिनेछ ।

१०) मूल्यवान् कर्णालीको उत्पादनलाई भण्डारण र बजारीकरण गर्न चौरजहारी, छिन्चु, बड्डीचौर, राकम, श्रीनगर, गमगढी, सिंजा, नाग्म, ऐरेनी, नौमुले, जाजरकोट र त्रिपुरासुन्दरीमा कोल्ड स्टोर सुविधा सहितको कृषि हाटबजार तथा संकलन केन्द्र निर्माण गरिनेछ ।

११) धेरैजसो शुष्क र अर्धशुष्क हावापानी रहेको कर्णाली क्षेत्रको भूस्वरूपलाई समेत ध्यान दिएर सिँचाइ प्रणालीको विकास गर्न हिउँपोखरी, वर्षेपानी संकलन पोखरी, लिफ्ट सिँचाइ र नदी तथा खोलाको नहरमा आधारित सिँचाइलाई प्रयोग गरिनेछ । यसका लागि बृहत् कर्णाली सिँचाई कार्यक्रम सञ्चालन गरिनेछ ।

१२) पर्याप्त प्राकृतिक स्रोत हुँदाहुँदै पनि रोयल्टीको हिस्सेदार बन्न नसकेको कर्णालीलाई न्यायोचित विकासको भागेदार बनाउँदै रोजगार सिर्जना गर्न कर्णालीका एक जिल्ला एक उत्पादन विशेष उद्घोगको स्थापना गरिनेछ । जसका लागि जुम्लामा जडिबुटी तथा स्याउ प्रशोधन उद्योग, सुर्खेतमा सिमेन्ट उद्योग, कालिकोटमा काइनेट खानी, मुगुमा पिउनेपानी उद्योग, सल्यानमा अदुवा प्रशोधन उद्योग, जाजरकोटमा दुग्ध उद्योग, दैलेखमा अल्लो प्रशोधन उद्योग, रुकुम पश्चिममा चिज उद्योग, डोल्पामा च्याङ्ग्रा मासु प्रशोधन उद्योग र हुम्लामा राडीपाखी उद्योग स्थापनाका लागि बिउपुँजी सहितको सहजीकरण गरिनेछ ।

१३) हुम्लाको कैलाश मानसरोवर देखिने बिन्दुदेखि लिमी भ्याली, यारी, खार्पुनाथ, मुगुको चैनमा रहेको छायानाथ, बालै, जुम्लाको खालीपाटन, दानसाँघु त्रिवेणी, चन्दननाथको कार्तिकस्वामी, हाँकुत्रिवेणी, कुडारी त्रिवेणी, चिलखाँया– महावु, दैलेख बजार, श्रीस्थान, नाभिस्थान, दुल्लु, तल्लो डुङ्गेश्वर, बराहताल– जामुकुइने त्रिवेणी, चिसापानी पुल, कैलालीको सिर्सैया नेपाल–भारत सिमानासम्मको सडकलाई कैलास मानसरोवर राजमार्ग घोषणा गरी राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउँदै विश्वभरका हिन्दुहरूको ध्यानाकर्षण गरिनेछ ।

१४) कर्णालीमा प्रचलनमा रहेका १२ भाइ मस्टो, नौ बहिनी मालिका, ६ वटा ताल र २७ वटा नदी दोभानलाई धार्मिक तथा पर्यापर्यटन गन्तव्यको रूपमा विकास गरिनेछ ।

१५)    कर्णालीमा उच्च पर्वतीय खेलहरूको सम्भाव्यता अध्ययन गरिनेछ । जुम्ला–रारा अल्ट्राम्याराथुन दौडलाई व्यावस्थित गर्दै अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्न पर्याप्त स्रोतको व्यवस्था मिलाइनेछ ।

१६) सुर्खेतमा निर्माण भएको कर्णाली रंगशालालाई दशरथ रंगशालाको विकल्प रंगशालाको रूपमा विकास गरिनेछ । यो रंगशालालाई १२ महिना चलाउने गरी खेलकुदका तालिका निर्माण गरिनेछ ।

१७) सिञ्जामा जलवायु परिवर्तन र उत्थानशीलतामा आधारित बहुप्राविधिक शिक्षालय स्थापना गरिनेछ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हिमाली क्षेत्र स्वास्थ्य सेवा प्रवाह तथा अनुसन्धानको गौरवको आयोजनाको रूपमा विकास गरिनेछ । हिमाली स्वास्थ्य प्रणालीको उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्न विश्व हिमाली जनस्वास्थ्य सम्मेलन आयोजना गरिनेछ । हुम्ला, मुगु र डोल्पामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्याटलाई उपचार केन्द्र स्थापना गरिनेछ ।

१८) कर्णालीका २४ वटा सहरउन्मुख क्षेत्रमा व्यवस्थित सहरी विकास कार्यक्रम लागु गरिनेछ । जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानान्तरण गरिनेछ । विपद्मा उद्धारका लागि चौरजहारी र जुम्लामा विपद् उद्धार सेल्टर निर्माण गर्नुका साथै २४ घण्टा रेस्पोन्स गर्न राकम, चौरजहरी र जुम्लामा सशस्त्र प्रहरी बलको तालिम प्राप्त युनिट राखिनेछ भने गर्भवती र विपद्मा परिचालन गर्न नेपाली सेनाको हेलिकप्टर सुर्खेत विमान स्थलमा तयारी अवस्थामा राखिनेछ ।

१९) रारा सिञ्जा लिमी माथिल्लो डोल्पा चौरजहारी रास्कोटमा उच्च क्षमताको इन्टरनेट सुविधा सहितको सूचना नागरिक सूचना केन्द्र स्थापना गरिनेछ । इन्टरनेट र टेलिफोन नेटवर्क नपुगेका गाउँमा यसै वर्ष टेलिफोन टावर र अन्य सूचना पूर्वाधार निर्माण गरी सूचनाको पहुँच विस्तार गरिनेछ ।

२०) हिमा, तिला, शारदा, लोहरे र मुगु कर्णालीको तटीय क्षेत्रको कटान रोकी उर्वर भूमिलाई संरक्षण गर्न कर्णाली उर्वरभूमि संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

२१)  सडक यातायातको भरपर्दाे सुविधा नरहेको कर्णालीका नागरिकलाई सहज यातायात सुविधा दिन नेपाल एयरको एउटा ट्विनेटर जहाज १२ महिना सुर्खेतमा राखिनेछ । सिमीकोट र जुम्ला विमान स्थललाई पर्यटकीय विमानस्थलको रूपमा विकास गरिनेछ । चौरजहारी विमानस्थललाई सञ्चालनमा ल्याइनेछ ।

२२)    हालसम्म विद्युत्को पहुँच नपुगेका कर्णालीका गाउँहरूमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार गरिनेछ । विद्युतीय लिफ्ट खानेपानी आयोजनामा लागेको विद्युत् महशुल पूर्णरूपमा छुट गरिनेछ ।

कर्णालीमाथि पटक–पटक भावनात्मक सहानुभूति प्रकट गरेर व्यवहारमा राज्य स्रोतबाट वञ्चित गरेको तथ्य भेटिन्छ । अहिलेको सरकारलाई यी सबै कुरा चिर्न र कर्णालीका जनताको अभिभावकत्व राज्यले गरिरहेको सन्देश दिन पनि आउँदै गरेको सरकारको नीति कार्यक्रममा माथि उल्लिखित विषय समेटिन जरुरी छ । बाँकी सरकारको व्यवहारको समीक्षा प्रगतिका आधारमा कर्णालीका जनताले गर्ने नै छन् । संविधानले मार्गदर्शन गरेको न्यायोचित विकासको मर्मको पालना गरे नगरेको मापन गर्न धेरै दिन कुर्नुपर्ने छैन । यसैको सेरोफेरोमा देशको नीति कार्यक्रममा कर्णालीले आफ्नो स्थान खोजिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिहर न्यौपाने
हरिहर न्यौपाने
लेखकबाट थप