आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
कथा

अतृप्ति

शनिबार, २० वैशाख २०८२, १३ : ००
शनिबार, २० वैशाख २०८२

‘मैले जीवनमा चन्द्रमा र ताराहरूको कामना गरेको थिएँ, तर औँसीको कालो रातबाहेक मैले केही पनि पाइनँ ।’

मेरो जीवनमा आज यो गीतको भावहरू मिल्न पुगेका छन् । वास्तवमा मैले पनि मेरो जीवन चन्द्रमा तथा ताराहरूका ज्योत्सना तथा उज्यालाहरूले जगमगाओस् भन्ने चाहना राखेको थिएँ, तर सबैका सबै चाहनाहरू कहाँ पूरा हुँदारहेछन् र ! मेरो जीवन पनि औँसीको रात नै त भएन तर पनि मैले चाहेको त्यो उज्यालोले मेरो जीवन प्रज्ज्वलित हुनचाहिँ सकेन ।

हो, तिमी एउटी ज्योतिपुञ्ज नै त थियौ । आकाशमा चम्किने बिजुलीजस्ती, झिलिक्क चम्किँदा आँखा तिर्मिराइदिँदै आफू समीप भएको आभास दिने, तर निमेषभरमै आँखा खोलिहेर्दा टाढा कता हो कता, आफ्नो पहुँचभन्दा निकै पर पुगिदिने ।

तिमी समयभन्दा निकै पहिले जन्मिएकी थियौ क्यार, त्यसैले त तिमी कुनै एउटाकी हुन सकिनौ । कहिले यो आकाशमा चम्किएर एउटालाई उसको जीवनको उज्यालो हुँ भन्ने अनुभूति दिलाउने त कहिले अर्काेको जीवनमा उज्यालो छरिदिने ।

‘मेरो अँगालोबाट उम्किएर तिमी अरूहरूको अँगालोमा पनि बाँधिन पुग्छ्यौ रे’ भन्ने सूचना पाएको क्षण मेरो मनमा भुइँचालो गएको थियो । आफूलाई मात्र माया गछ्र्यौ भन्ने विश्वास बोकेको मनले तिम्रो चर्तिकला भन्न आउने त्यो मान्छेको अस्तित्व नै चकनाचुर पार्न तम्सिएको थियो । तर सूचनाको सत्यतामा विश्वस्त भएपछि ईष्र्याको नागदंशबाट मूर्छितझैँ हुँदै म तिमीलाई सधैँका लागि आफ्नो जीवनमा समाहित गर्ने प्रस्ताव बोकी हान्निदै पुग्दा, तिमीले मेरो प्रस्तावलाई ठट्टैमा उडाइदियौ । मेरो ईष्र्यायुक्त अधिकारलाई चकनाचुर पार्दै तिमीले भनेकी थियौ, ‘हेर केटाहरू मेरा लागि लुगा फेरेसरह हुन् । एउटा लगाउँछु, अघाउँछु अनि त्यसलाई फुकालेर अर्काे फेर्छु । यसमा कुनै नौलो कुरा छैन । यत्रो वर्षको संगतपछि पनि तिमीले मेरो यो स्वभाव बुझ्न नसक्नु, तिम्रो मूर्खता हो । हो, मानिसलाई आफ्नो कुनै लुगा विशेष प्रिय हुन्छ । ऊ त्यसलाई पुरानो भएपछि पनि मिल्काउन नसकी जतन गरेर राख्छ । तिमी पनि मेरा लागि त्यस्तै पुराना तर प्रिय लुगा हौ । म तिमीसँग नाता तोड्न त चाहन्न तर तिम्रो मात्रै भएर बसिरहन भने सक्तिनँ, मलाई नयाँ–नयाँ मान्छे, नयाँ–नयाँ साथ मन पर्छ । मसँग बिहे गरेर घरजम गर्ने आफ्नो हावादारी सपनालाई बिर्सिदेऊ । फेरि मेरो यो स्वच्छन्द जीवनको खर्च बेहोर्ने क्षमता पनि त तिम्रो छैन नि । तिमीले कमाउने जाबो त्यो तलबले तिमी मलाई पाल्न सक्छौ र ?’

त्यो दिन मेरो अस्तित्व धर्मराएको थियो । मेरो पुरुषत्व गलेर पानी–पानी भएको थियो । तिम्रो मुखबाट सधैँ प्रशंसित हुने गरेको मेरो सुदर्शन व्यक्तित्व त्यो दिन नपुंसक भएको थियो । म हारेको थिएँ । शारीरिक रूपमा नभई मानसिक रूपमा । शत्रुबाट हैन, आफूले साह्रै माया गरेकी आफ्नै प्रियाबाट । तिम्रो कुरा सुनेर म अवाक् भएँ, केही बोल्नै सकिनँ । आफू हारेको पीडा आँखाबाट बगिराख्दा पनि त्यसलाई रोक्न सकिनँ ।

तिमीले आफूसँगको सम्बन्ध प्रकारान्तमा पनि सुखदै रहनुपर्छ भन्ने आग्रह गर्दै त्यस रात बिछोडको उत्सवलाई चिरस्मरणीय बनाउनका लागि रेस्टुरेन्टमा सँगै डिनर खाने तथा घरमा साथीकहाँ रात बस्छु भन्ने बहाना बनाई रात सँगै होटलमा बिताउने प्रस्ताव राख्यौ ।

तिमी समयभन्दा निकै पहिले जन्मिएकी थियौ क्यार, त्यसैले त तिमी कुनै एउटाकी हुन सकिनौ । कहिले यो आकाशमा चम्किएर एउटालाई उसको जीवनको उज्यालो हुँ भन्ने अनुभूति दिलाउने त कहिले अर्काेको जीवनमा उज्यालो छरिदिने ।

अवसाद भरिएको मनले खानाको स्वाद पत्तो पाएन । खानापछि जुनेली रातमा गरिएको डुङ्गाको त्यो सयर अरू बेला भए कति आनन्दी र कति मादक हुने थियो । त्यही मादकतामा, त्यही रोमाञ्चकतामा अभिभूत भई तिमी आफ्नो विचार परिवर्तन गछ्र्याै कि भनी मैले आफ्नो मन उदाङ्ग खोलेर देखाएँ । आफूप्रति निष्ठुरी नहुन निकै अनुनय विनय गरेँ । तर मेरा ती सबै प्रयासहरूलाई तिमीले हाँसेर टारिदियौ । ‘म तिमीसँग सधैँका लागि पो बाँधिन चाहन्न त मलाई भेट्न मन लागे तिमी आउनु । तिमीले जहिले पनि मलाई यही रूपमा समर्पित पाइहाल्छौ नि ।’

तिम्रो साथको त्यो रात निकै मादक थियो । तिम्रो मादकता मेरा लागि नौलो थिएन, तर त्यो साथ पहिलेको तुलनामा केही फरक पक्कै थियो । पहिले मैले आफ्नो अधिकार ठान्ने तिम्रो त्यो मादकताबाट त्यो रात म अनुग्रहित भइरहेको थिएँ । 

हो, त्यस रातपछि तिमीले मलाई छोडिदियौ । तिम्रो प्रेममा आकण्ठ डुबेको मलाई तिम्रो त्यो अस्वीकृति भुसभुसे आगोजस्तो भैदिएको थियो । न त ह्वारह्वार्ती बलेर सकिन्थ्यो, न त निभेर चिसिन्थ्यो । मनको त्यो जलनमा म पानी हैन तरल रूपमा झन् आगै पिउँथे । खुब पिउथेँ, तर त्यो ज्वाला भने निभ्नुको साटो झन् दन्कन्थ्यो । तिम्रो बिछोडको रापले भन्दा कैयौँ गुना बढी मलाई आफू नकारिएको तापले डढाएको थियो ।

मेरो मन पनि तिमीसँग बदला लिन तम्सियो । मैले बिहे गर्ने अठोट गरेँ । घरमा सबैलाई म तिम्रो पासोमा परुँला कि भन्ने ठुलो त्रास थियो । तिम्रो मायामा अन्धो भएर पो मेरा आँखाबाट तिम्रा वास्तविकताहरू ओझेलमा परेका रहेछन् । नत्रभने तिम्रो सक्कली रूप त समाजमा उदाङ्गिसकेको रहेछ । त्यसैले घरमा सबै पिरिएका थिए । तिम्रो मायामा एकोहोरिएर म आफ्नो भविष्यसँग खेलवाड गरुँला कि भनेर, मेरी आमाले मनकामनामाईलाई समेत भाकल गर्नुभएको रहेछ । ‘छोरोले त्यो केटी छोडेर अर्कीसँग बिहे गरोस्, त्यसो भयो भने माई, म छोराबुहारी लिएर तिम्रो दर्शन गर्न आउँछु ।’ बिचरी बूढी आमा मेरो भविष्य सपार्न उहाँ त्यो कठिन उकालो चढ्न पनि तयार हुनुभएको थियो ।

धेरै अगिदेखि सुन्यानसुन्यै गरेको आमाको कचकच साम्य पार्न मैले बिहेको कुरो टुङ्गो लाइदिए । केटीलाई हेरिराख्ने आवश्यकता ठानिनँ । पढाइ, कुल–घरानबारे सुनिहालेँ, आमाले कुरूपालाई बुहारी रोज्नुहोला भन्ने लागेन, त्यसैले आमाले जसको कुरो ल्याउनुभयो उसैसँग विवाहको स्वीकारोक्ति दिएँ । केटीप्रति खासै चासो राख्ने खाँचो पनि थिएन किनकि त्यो विवाह त आफ्नो व्यक्तित्वको अस्वीकृतिप्रतिको विद्रोहको साथै आमाको अशान्तिलाई पूर्णविराम लगाउने बहाना थियो । मेरो जीवन त यसै उसै बितिरहेको थियो । मेरो आफ्नो जीवनमा एउटी अपरिचित केटीलाई सामेल गराउन मलाई कुनै उत्सुकता थिएन ।

बिहेको कुरो छिन्न घर जान लाग्दा बाटोमा पर्ने तिम्रो घर नाघेर जान सकिनँ । तिमीलाई तिम्रो कोठाको झ्यालमै देखेको थिएँ तर मेरो भेट्ने आग्रहलाई नोकर्नीद्वारा भनिपठाएकी ‘तिमी घरमा छैनौ रे’ भन्ने सन्देशले लत्याइदिएको थियो । म निकै आहत भएँ । एकतर्फी प्रेमको बाढीमा म एक्लै पौडेको रहेछु । तिम्रो मनमा मेरोप्रति प्रेमको खडेरी परेको रहेछ । मेरो मायामा डुबेका ती असंख्य प्रेमपत्रहरूले तिम्रो मनमा मप्रति रहेको अथाह प्रेमको गहिराइलाई दर्शाउँथे । त्यस्ता नक्कली भावनाका शब्दालङ्कारहरूले गुम्फन गरी कसरी त्यस्ता प्रेमपत्र लेख्न सक्थ्यौ तिमी ? भावनारहित मनबाट कोमल भावका शब्दहरू कसरी निस्कँदा हुन् ?

तिम्रो तिरस्कारले त्यो दिन फेरि पनि मलाई रुवाएको थियो । कस्तो निष्ठुरीसँग मन गाँस्न पुगेछु । न त गाँसिन सक्छु न त छुट्टिन सक्छु ।

आकाशमा चम्किने बिजुलीको कामना गर्नेलाई घरको दियोको उज्यालोले के सन्तुष्टि दिन सक्थ्यो र । बिजुलीको झड्का खाएर झन्नन भएको मन र शरीर रन्थनिएर फेरि अर्काे झड्काको प्रतीक्षामा रहन्थ्यो । टन्किएको दुखाइमा सियो घोच्दा हुने आनन्दस्वरूप भएकी थियौ तिमी मेरा लागि । तिम्रो सामीप्यले मलाई बिस्तार–बिस्तार स्वपीडामा आनन्दित हुने बनाउँदै थियो । आफूले पाएको पीडाबाट आनन्दित हुने बानी बिस्तारै ममा विकसित हुँदै थियो ।

साथीको घरमा रात बिताउँछु भन्दै बाबुआमालाई छलेर मेरो रात सिँगार्न आइपुग्दा तिमी मलाई डर, त्रास, ग्लानि, लज्जा, रोमाञ्च आदि सबै रसले निःसृत गराउँथ्यौ । तिमी अलभ्य हुँदाहुँदै पनि मेरा लागि कति सजिलैसँग प्राप्य भइदिन्थ्यौ । तर बिहेपछि सबै कुरो सजिलैसँग प्राप्त हुँदा त्यस प्राप्तिप्रति कुनै आकर्षण जाग्दोरहेनछ । स्वपीडाको आदि म आफूले पीडा पाउने कुनै उपाय नपाउँदा, बिस्तारै परपीडाको बाटो समात्दो रहेछु ।

फर्कंदा बाटोमा स्वास्नीले जिस्क्याएकी थिई । ‘यत्रो वर्षपछिको भेट तिमीहरूका लागि कस्तो अर्थविहीन भयो हगि ? तिमीहरू दुवैका मनमा कति कुराहरू छन् होला, एकअर्कालाई सुनाउन । घरमा त तिमीलाई असजिलै लाग्ला । मेरो उपस्थिति अग्राह्यै होला, बरु रेस्टुरेन्टमा बोलाऊ, अघाउँजी कुरा गर ।

तिमीद्वारा बाउन्ने पारिएको स्वाभिमानलाई उकास्न तथा स्वपीडाको रोमाञ्च भोग्न मैले आफूलाई कामप्रति समर्पित पार्न थालेँ । काममा व्यस्त भएर खान सुत्न बिर्संदा होस् वा शारीरिक रूपमा लखतरान पर्दा होस् म आनन्दातिरेकले अभिभूत हुन्थेँ । यही कामप्रतिको समर्पणले मेरो कार्यदक्षतामा बढोत्तरी आउँदै गयो म दक्ष र सिपालु बनी आफ्नो क्षेत्रमा अद्वितीय बन्दै गएँ । आफूले गरेको तिरस्कारप्रति तिमीमा थकथकी जागोस् भन्ने कामनाले मैले आफ्नो व्यक्तित्व निखार्दै गएँ । मलाई कसै गरी पनि तिमी तथा तिम्रा ती अनगिन्ती प्रेमीहरूभन्दा अब्बल हुनु थियो र भएँ पनि । आज म सफलताको जुन इतिहास कोर्दै छु त्यसमा मप्रतिको तिम्रो तिरस्कारको ठूलो भूमिका छ । धन्यवाद छ तिमीलाई ।

तर पहाडी नदी जसरी छङ्छङाएर बगेकी तिमीसँग, नदीको ढुंगाजस्तै गड्गडाएर, म पनि उर्लिएर तेज गतिमा रोमाञ्चित हुँदै जीवन भोग्न चाहन्थेँ । म तिम्रो गर्भलाई आफ्नो वीर्यले सिञ्चन गरी तिम्रो गर्भबाट आफ्नो सन्तान जन्माउन चाहन्थेँ । तर मेरा सन्तानका लागि तिमीले आफ्नो गर्भमा ठाउँ दिइनौ, यसका लागि म तिमीलाई कहिल्यै माफ गर्ने छैन ।

हुन त ! बाबुआमाका लागि बिहे गरे तापनि विवाहको पहिलो दिन पहिलोपल्ट ती केटीलाई देख्ता, मलाई तीप्रति एक्कासि माया उर्लिएर आयो । आफूले माया गरेकीले त धोका दिई बीचबाटोमै छोडेर हिँडी तर अपरिचित भए तापनि बाटो बिराएर बीचबाटोमा रुमलिएको मलाई गन्तव्यमा पुर्‍याउने अठोट लिएर मेरो सहयात्री बन्न आएकी थिई, मेरी हुन लागेकी स्वास्नी ।

मेरो विवाहित जीवनप्रति मलाई कुनै गुनासो छैन । जीवन सादा तवरमा बित्दै रह्यो । त्यहाँ कुनै तरङ्ग, कुनै उत्तेजना, कुनै रोमाञ्च थिएन, थियो त मात्र विपरीत लिङ्गी आकर्षण र एउटा कर्तव्य दाम्पत्य जीवनको । गुनासो नभए पनि जीवनमा पूर्णता थिएन । के–के अपुग भएजस्तो, के–के नपुगे जस्तो, अपूर्ण–अपूर्ण, अतृप्त–अतृप्त । मेरा सन्तानहरू योग्य र असल छन् तर किन हो कुन्नि तिमीबाट सन्तान जन्माउन पाएको भए ती मेरा लागि अझै प्रिय हुन्थे कि जस्तो लाग्छ ।

जीवनमा मैले सबैथोक पाएँ । मान, सम्मान इज्जत, पैसा, माया । यस्तो जीवनप्रति पनि मेरो मनमा भएको अतृप्तिले कतै मेरो जीवनमै त ग्रहण लाउँदैन ? सबै कुरा दिँदा पनि मनमा अतृप्ति पालेको देखेर देउता त रिसाउँदैनन् । अवचेतन मनले डर मान्छ ।

धेरैपछि अस्ति पार्टीमा तिमीसँग भेट भयो । ओहो ! तिमीलाई नदेखेको पनि एक युगै भएछ । एउटा युगको अन्तराल... तिमी प्रौढामा दरिइछ्यौ, तर किन–किन मेरा आँखाले तिमीलाई पहिलेकै रूपमा देख्यो । भर्खर फुलेकी फूल । तिम्रो आकर्षणको तेज खप्न सक्ने क्षमता ममा न्यून हुँदै गयो । म चुम्बकले फलाम तानेझैँ तिम्रो आकर्षणमा तानिन थालेँ । तिम्रो सम्मोहनमा मतिभ्रम भएकोजस्तो स्थितिमा पुग्न खोजेँ । तर हठात् मेरो मनले मलाई सचेत गरायो । एकदिन मेरो यही व्यक्तित्वलाई तिमीले कति संवेदनहीनतापूर्वक लत्याएकी थियौ । आज तिमीसँग झुकेर तिम्रो आकर्षणमा अल्झेर, म फेरि तिमीसँग हारुँ ? अहँ, म त्यो परिस्थिति जीवनमा फेरि कहिल्यै दोहोरिन दिन्नँ । पहिलेको त्यो भावुक अल्लारे ठिटो म र अहिलेको ममा निकै अन्तर आइसकेको थियो । म जुरुक्क उठेर अर्काे कोठामा गएँ ।

फर्कंदा बाटोमा स्वास्नीले जिस्क्याएकी थिई । ‘यत्रो वर्षपछिको भेट तिमीहरूका लागि कस्तो अर्थविहीन भयो हगि ? तिमीहरू दुवैका मनमा कति कुराहरू छन् होला, एकअर्कालाई सुनाउन । घरमा त तिमीलाई असजिलै लाग्ला । मेरो उपस्थिति अग्राह्यै होला, बरु रेस्टुरेन्टमा बोलाऊ, अघाउँजी कुरा गर । लौ ! मेरोतर्फबाट तिमीलाई स्वतन्त्रता छ । बरु होटलतिरचाहिँ नलाग्नु नि । यी बितेका वर्षहरू विदेशमा उसले कसरी बिताई थाहा छैन । एड्स बोकेकी रै’छ भने त बिनासित्ति मेरो पनि ज्यान जान्छ ।’

स्वास्नीको कुरोले क्षणभरका लागि तिमीसँगको एकान्त भेटको कल्पनामा मन रोमाञ्चित हुन्छ । तर अहँ ! मलाई अस्वीकार गरेर, मेरो जीवनबाट खुसी, उमङ्ग, तृप्ति र रोमाञ्चलाई विच्छेद गराई जीवन निरस बनाइदिने । मेरो मायाको प्रत्युत्तरमा मलाई धोका दिने । आफ्नो खुसीको लागि मेरो खुसीमा आघात पार्ने । जीवनपर्यन्त सँगै हिँड्ने सपना देखाई बीचबाटोमै मलाई छाडी अरूसँग रम्ने, धोकाकी प्रतिमूर्तिसँग फेरि सम्बन्ध बढाई म आफैँसँग लज्जित हुन चाहन्न । अहँ ! कदापि चाहन्न ।

(२०५८)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

इल्या भट्टराई
इल्या भट्टराई
लेखकबाट थप