मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

युवा नीति संशोधन :  उमेर समूह कति उचित ?

मङ्गलबार, २३ वैशाख २०८२, १२ : ०८
मङ्गलबार, २३ वैशाख २०८२

हामी सामाजिक रूपान्तरणको विशेष चरणमा छौँ । सामाजिक रुपान्तरणका लागि सबै वर्ग तथा समुदायका युवाको सशक्तीकरण अनिवार्य हुन्छ । विकास योजनाको केन्द्रबिन्दुमा रहेका युवाको भविष्य नीतिगत ढाँचाले निर्देशित गर्छ । यतिखेर हामीकहाँ ‘राष्ट्रिय युवा नीति– २०७२’ को पुनरवलोकन र संशोधनको बहस चलिरहेको छ । बहसको केन्द्रमा रहेको एउटा प्रमुख विषय भनेको युवा उमेरको परिभाषा हो । अर्थात् कुन उमेर समूहका नागरिकलाई ‘युवा’ मान्ने ? हालको नीतिले १६ देखि ४० वर्ष उमेर समूहलाई ‘युवा’ परिभाषित गरेको छ । 

युवाको उमेर समूहलाई लिएर विश्वभरि नै आ–आफ्ना मान्यता छन् । हामीकहाँ पनि १६–३५, १५–२९, १८–३० वा १८–३५ उमेर समूहलाई युवा मान्नुपर्ने तर्क आइरहेका छन् । 

  • अन्तर्राष्ट्रिय अभ्यास 

नेपालसँग मिल्दोजुल्दो सामाजिक संरचना भएका देशहरू— भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान लगायतले युवाको परिभाषा फरक–फरक ढाँचामा अपनाएका छन् ।
भारतमा त्यहाँको ‘राष्ट्रिय युवा नीति– २०१४’ ले १५–२९ उमेर समूहलाई युवा भनेको छ, तर केही राज्य सरकारहरूले १५–३५ अथवा १५–४० सम्मको सीमा राखेका छन् ।
अफ्रिकी युनियनले १५–३५ उमेर समूहलाई युवा मानेको छ ।

संयुक्त राष्ट्रसंघले १५–२४ उमेर समूहलाई मात्र युवा भने पनि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले ‘इमर्जिङ युथ’ अवधारणा अन्तर्गत १८–३५ वा १८–४० उमेर समूह सिफारिस गर्दछ ।

साउथ एसियन युथ पोलिसी नेटवर्कले पनि १६–४० लाई उचित मानेको छ ।

हाम्रो भूगोल, जातीय विविधता, पहुँच, लैङ्गिक असमानता, शिक्षा तथा रोजगारीमा पहुँच आदिको विश्लेषण गर्दा सैद्धान्तिक रूपमा १६–४० वर्षकै सीमा व्यावहारिक देखिन्छ ।

  • हाम्रो सन्दर्भ

२०७८ को जनगणना अनुसार, नेपालमा १६ देखि ४० वर्ष उमेर समूहमा पर्ने जनसंख्या करिब १.३ करोड रहेको छ, जुन कुल जनसंख्याको झन्डै ४२.५ प्रतिशत हो, (केन्द्रीय तथ्यांक विभाग, २०७८) ।

उत्पादन, नवप्रवर्तन, नेतृत्व विकास र सामाजिक गतिशीलताको प्रमुख स्रोत हो, १६–४० उमेर समूह । ग्रामीण क्षेत्रका युवा प्रायः १८ वर्षपछि मात्रै माध्यमिक शिक्षा पूरा गर्छन् । २५ वर्ष नाघ्दा ननाघ्दै उच्च शिक्षा पूरा हुन्छ । तिनै युवा उच्च शिक्षापश्चात् रोजगारी खोज्न, उद्यम सुरु गर्न वा वैदेशिक रोजगारीका लागि जान धाउँछन् । यो चरण ३० वर्षपछि मात्रै स्थायित्वमा रूपान्तरण हुन थाल्छ ।

नेपालमा राजनीतिक चेत र सहभागिता कक्षा १२ पछिको विद्यार्थी जीवनदेखि सुरु हुन्छ । विद्यार्थी राजनीति, युवासंघ–संस्थाहरू, पेसागत संगठनहरू हुँदै मुख्यधारको दलमा भूमिका बनाउँदै जाँदा धेरैजसो युवाहरू ३० वर्ष नाघिसकेको हुन्छ । अहिले पनि संघीय संसद्का धेरै सांसद पहिलोचोटि निर्वाचित हुँदा ३५–४० वर्षको उमेर आसपास छन् । उदाहरणका लागि— २०७९ सालको निर्वाचनमा निर्वाचित २७५ सांसदमध्ये १०५ जना (३८ प्रतिशत) ४० वर्षभन्दा कम उमेरका थिए, तर तीमध्ये २५ प्रतिशत मात्रै ३० वर्षमुनिका थिए । बाँकी ३०–४० बिचका थिए ।

युवालाई राजनीतिक नेतृत्वका लागि तयार गराउन कम्तीमा ४० वर्षको सीमा राख्नु नै व्यावहारिक र वैज्ञानिक ठहरिन्छ ।

  • उद्यमशीलता र आर्थिक सशक्तीकरण

नेपालमा साना तथा मझौला उद्यम (एसएमईएस) सञ्चालन गर्ने अधिकांश उद्यमीहरू ३०–४० उमेर समूहका छन् । युवा उद्यमशीलता कार्यक्रम (युथ स्टार्टअप लोन प्रोग्राम) मार्फत सहुलियत ऋण लिनेहरूमा सबैभन्दा सक्रिय समूह पनि यही हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार, २०७८/७९ मा ‘युवा लक्षित सहुलियत ऋण’ अन्तर्गत कुल ७,८०० भन्दा बढी लाभार्थीमध्ये ५७ प्रतिशत २५–४० वर्ष उमेर समूहका थिए । यसले यो देखाउँछ कि आर्थिक स्वतन्त्रता प्राप्त गर्नका लागि यो समूह अत्यन्तै संवेदनशील छ ।

युवा परिभाषाबाट १६ देखि ४० उमेर समूह हटाइयो भने उनीहरू सरकारी सहुलियत, तालिम, अनुदान तथा नीति सुविधा बाहिर रहनेछन्, जुन दीर्घकालीन रूपमा राष्ट्रको विकास गति सुस्त बनाउने खतरा रहन्छ ।

युवा परिभाषाबाट १६ देखि ४० उमेर समूह हटाइयो भने उनीहरू सरकारी सहुलियत, तालिम, अनुदान तथा नीति सुविधा बाहिर रहनेछन्, जुन दीर्घकालीन रूपमा राष्ट्रको विकास गति सुस्त बनाउने खतरा रहन्छ ।
  • शिक्षा, कौशल र आप्रवासन सन्दर्भ

नेपालमा औसत रूपमा विश्वविद्यालय शिक्षा (ब्याचलर्स) पूरा गर्नकै लागि युवाहरूको उमेर २२–२५ वर्ष पुगिसकेको हुन्छ । त्यसपछि केही रोजगार खोज्छन् भने केही विदेशतर्फ लाग्छन् ।

हालैको अध्ययन अनुसार  कुल वैदेशिक रोजगारी जानेमध्ये ६५ प्रतिशत २५–४० वर्ष उमेर समूहमा छन् । टेक्निकल एन्ड भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ (टीभीईटी) को लाभ लिने ७० प्रतिशतभन्दा बढी पनि यही उमेर समूहका छन् ।

यस्ता तथ्यले देखाउँछ कि नेपालको श्रम बजार, सीप अभिवृद्धि र आप्रवासन संरचना नै १६–४० वर्ष उमेर समूहमा केन्द्रित छ ।

  • युवा नीति र युवा दृष्टिकोण 

हाल कार्यान्वयनमा रहेको ‘राष्ट्रिय युवा नीति– २०७२’ ले युवालाई दुई श्रेणीमा विभाजन गरेको छ । १) १६–२४ किशोर–किशोरी र प्रारम्भिक युवा । २) २५–४० परिपक्व युवा ।
यसले नीति निर्माणमा समावेशिता ल्याएको छ । युवा दृष्टिकोण २०२५ नामक कार्यदिशाले पनि १६–४० कै समूहलाई लक्षित गरेको छ । यसमा पाँच प्रमुख स्तम्भ उल्लेख छन्, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता र सशक्तीकरण ।

नेपाल बहुजातीय, बहुभाषिक, भौगोलिक रूपमा विकट र विविधताको देश हो । हिमाली, पहाडी र तराई क्षेत्रका युवाहरूको शिक्षा प्राप्ति, सामाजिक चेत, रोजगारीको अवस्था र राजनीतिक पहुँचमा असमानता छ । सहर र गाउँबिचको अवसरमा झन्डै १० वर्षको ‘डेभलपमेन्टल ल्याग’ छ ।

सुदूरपश्चिम, कर्णाली, मधेश प्रदेशका धेरै युवाले ३० वर्ष नाघेपछि मात्रै सरकारी रोजगारी या सामाजिक नेतृत्वमा पहुँच पाउँछन् । यस्तो अवस्थामा १६–४० वर्ष नै न्यायोचित र समावेशी परिभाषा हुनेछ ।

नेपालमा शिक्षामा पहुँच, विवाहको उमेर, व्यवसायमा संलग्नता, मातृत्व र पारिवारिक दायित्वका कारण महिलाहरूको सक्रिय युवा जीवन ढिलो सुरु हुन्छ र छोटो रहन्छ । त्यसैले महिलाका लागि १६–४० वर्षको परिभाषा झनै उपयोगी र सशक्तीकरण–अनुकूल हुनेछ ।

  • निष्कर्ष

युवा परिभाषा कुनै आँकडाको खेल मात्र होइन । यो नीति निर्माण, बजेट विनियोजन, कार्यक्रम वितरण, नेतृत्व निर्माण र सामाजिक न्यायको आधारशिला हो । नेपालले अपनाएको १६–४० वर्षको वर्तमान परिभाषा समावेशी, व्यावहारिक छ; अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने छ र सबै उमेर समूहका युवाहरूलाई आवश्यक अवसर उपलब्ध गराउँछ ।
यसलाई खुम्च्याएर १६–३५ वा १८–३० मा सीमित गर्नु भनेको लाखौँ युवालाई नीति–कार्यक्रमको पहुँचबाट बाहिर राख्नु हो । त्यसैले आगामी युवा नीति संशोधन गर्दा पनि १६–४० वर्षकै परिभाषालाई निरन्तरता दिनु वैज्ञानिक, सामाजिक र राजनीतिक रूपमा अनिवार्य छ ।

(कँडेल, राष्ट्रिय युवा परिषद्की बोर्ड सदस्य हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आयुशा कँँडेल
आयुशा कँँडेल
लेखकबाट थप