आठ वर्षपछि घरेलु मैदानमा पाँचपटकको च्याम्पियन चेन्नईलाई हराउने धुनमा साबिक विजेता कोलकाता
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बुधबार कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सको सामना गर्दैछ । खेल कोलकातास्थित इडन गार्डन्स क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको ५७औँ खेल हो । यो सिजन कोलकाता र चेन्नई दोस्रो पटक आपसमा भिडन लागेका हुन् । पहिलो भिडन्तमा कोलकाताले चेन्नईलाई आठ विकेटले हराएको थियो । त्यो खेल चेन्नईको घरेलु मैदानमा खेलिएको थियो ।
आईपीएलको १८औँ संस्करणमा चेन्नई र कोलकाता दुबैले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । चेन्नई यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ भने कोलकाताको प्ले–अफ चरणमा पुग्ने सम्भावना जिवितै छ ।
चेन्नईले पाँच पटक उपाधि जितेको छ । चेन्नईले सन् २०१० मा पहिलो उपाधि जितेको थियो । त्यतिबेला चेन्नईले फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराएको थियो । दोस्रो पटक चेन्नईले सन् २०११ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५८ रनले हराउँदै उपाधि चुमेको थियो ।
यसैगरी, सन् २०१८ को फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको थियो । सन् २०२१ को फाइनलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराएको थियो । सन् २०२३ को फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई पाँच विकेट हराएको थियो ।
कोलकाताले भने हालसम्म तीनपटक आईपीएलको उपाधि जितेको छ । सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको थियो ।
कोलकाताले दोस्रो उपाधि सन् २०१४ मा जितेको थियो । फाइनलमा कोलकाताले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । कोलकाताले तेस्रो उपाधि सन् २०२४ मा जितेको थियो । कोलकाताले अघिल्लो संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो ।
प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत कोलकाता
साबिक विजेता कोलकाता नाइट राइडर्सको प्ले–अफ चरणमा पुग्ने सम्भावना जिवितै छ । कोलकाताले हालसम्म ११ खेल खेलेको छ । त्यसमध्ये कोलकाताले पाँच खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेकोे छ । कोलकाताको एक खेल भने वर्षाका कारण अनिर्णित रुपमा सकिएको छ ।
कोलकाता ११ अंकसहित तालिकाको छैटौँ स्थानमा आसिन छ । प्ले–अफ चरणमा पुग्ने सम्भावना जिवित राख्न कोलकाताले बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । अब एक खेलमा पनि पराजित भए कोलकाताको अगाडि बढ्ने सपना चकनाचुर हुनेछ ।

कोलकाताले अब चेन्नईका अतिरिक्त सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्न बाँकी छ । त्यसमध्ये चेन्नई र हैदराबाद दुबै निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरिइसकेका टोली हुन् । तर, बेंगलुरुले निकै बलियो टोलीका रुपमा देखिएको छ ।
त्यसैले कोलकाताको प्ले–अफ चरण यात्रा निकै कठिन देखिन्छ । बाँकी तीनवटै खेलमा विजयी भए पनि कोलकाताले प्ले–अफ चरणमा पुग्न अन्य टोलीको नतिजा र नेट रन रेटमा पनि भर पर्नुपर्ने अवस्था देखिन्छ ।
उपाधि होडबाट बाहिरिएको चेन्नईले समीकरण बिगार्ने सम्भावना
चेन्नई सुपर किङ्स भने जारी सिजनको आईपीएलको उपाधि होडबाट बाहिरिइसकेको छ । त्यसले अब चेन्नईको जित वा हारले अंक अब प्ले–अफ चरणमा पुग्न सँघर्षरत अन्य टोलीको समिरकणलाई असर पार्ने सम्भावनामात्र देखिन्छ ।
चेन्नईले हालसम्म ११ खेल खेलिसकेको छ । यो सिजन निराशाजनक प्रदर्शन गरेको चेन्नईले त्यसमध्ये केवल दुई खेलमा जित र नौ खेलमा हारको नतिजा निकालेको छ । चेन्नई केवल चार अंकसहित तालिकाको अन्तिम अर्थात १०औँ स्थानमा आसिन छ ।
जारी सिजनको आईपीएलमा चेन्नईले अब कोलकाताका अतिरिक्त राजस्थान रोयल्स र गुजरात टाइटन्ससँग खेल्न बाँकी छ । यी तीनवटै टोली चेन्नईभन्दा बलियो देखिएका छन् । यद्दपि, राजस्थान पनि उपाधि होडबाट बाहिरिइसकेको टोली हो ।
हेड टु हेडमा चेन्नई अगाडि
आईपीएलमा हालसम्म चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबिच कुल ३३ खेल खेलिएको छ । त्यसमा चेन्नई निकै बलियो देखिन्छ । चेन्नईले हालसम्म २० खेलमा कोलकातालाई हराएको छ । कोलकाताले भने १२ खेलमा मात्र चेन्नईलाई हराउन सकेको छ ।
यी दुई टोलीबिचको एक खेल भने वर्षाका कारण अनिर्णित रुपमा सकिएको छ । ईडन गार्डन्समा हालसम्म यी दुई टोलीबिच कुल १० खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा चेन्नई र चार खेलमा कोलकाता विजयी भएका छन् ।
घरेलु मैदानमा चैन्नईविरुद्ध कोलकाताको प्रदर्शन भने खासै गतिलो देखिँदैन । ईडेन गार्डन्समा सन् २०१८ पछि कोलकाताले चेन्नईलाई हराउन सकेको छैन । ईडेन गार्डन्समा सन् २०१८ पछि चेन्नई र कोलकाताबिच दुई खेल खेलिएको छ । ती दुबै खेलमा चेन्नई विजयी भएको छ ।
लयमा छन् कोलकाताका रहाणे र चक्रवर्ती

जारी सिजनको आईपीएलमा साबिक विजेता कोलकाता नाइट राइडर्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान अजिनक्या रहाणे हुन् । उनले हालसम्म १४६ को स्ट्राइक रेटमा कुल तीन सय २७ रन बनाएका छन् ।
यस क्रममा रहाणेले तीनवटा अर्धशतक पनि प्रहार गरेका छन् । पछिल्ला खेलमा आन्द्रे रसेल पनि लयमा फर्किएका छन् । उनले अघिल्लो खेलमा अर्धशतक बनाएका थिए । तर, कोलकाताका सबैभन्दा महंगा खेलाडी वेंकटेश ऐयरको प्रदर्शन भने निराशाजनक छ ।
वेंकटेश ऐयरले यो सिजन ११ खेलमा कुल एक सय ४२ रनमात्र बनाउन सकेका छन् । कोलकाताका लागि यो चिन्ताको विषय हो । कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर वरुण चक्रवर्ती हुन् । उनले ११ खेलमा १५ विकेट लिइसकेका छन् । हर्षित राणा र वैभव अरोडाले पनि १३–१३ विकेट लिएका छन् । सुनिल नारिनले १० विकेट हात पारेका छन् ।
चेन्नईको सर्वाधिक रन जडेजाको नाममा

आईपीएलको जारी सिजनमा चेन्नई सुपर किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान रविन्द्र जडेजा हुन् । बायाँहाते ब्याट्सम्यान जडेजाले टोलीका लागि हालसम्म १३७ को स्ट्राइक रेटमा कुल दुई सय ६० रन बनाएका छन् ।
चेन्नईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा शिवम दुवे छन् । बायाँहाते ब्याट्सम्यान दुवेले पनि दुई सयभन्दा बढी रन बनाएका छन् । चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर भने नुर अहमद हुन् । उनले १४ विकेट लिएका छन् । खलिल अहमदले पनि १४ विकेट हात पारेका छन् । मथिसा पाथिरानाले पनि १२ विकेट कुम्ल्याएका छन् ।
ब्याट्सम्यानलाई मायाँ गर्ने पिच
कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्सबिच बुधबारको खेल हुने ईडन गार्डन्स स्टेडियमको पिच ब्याट्सम्यानहरुलाई साथ दिने प्रकृतिको रहेको छ । त्यसैले यो स्टेडिममा तुलनात्मक रुपमा बढी नै रन बन्ने गरेको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९९ खेल खेलिएको छ । त्यसमध्ये ४२ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ५६ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।
यो स्टेडियममा हालसम्म बनेको उच्च स्कोर भने दुई विकेट गुमाएर दुई सय ६२ रन हो । यो स्कोर अघिल्लो सिजनको आईपीएलमा बनेको थियो । उक्त स्कोर कोलकाता नाइट राइडर्सविरुद्ध पञ्जाब किङ्सले बनाएको थियो ।
वर्षाले खेल बिथोल्ने सम्भावना
चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबिच खेल हुने दिन बुधबार कोलकातामा वर्षाको सम्भावना रहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, कोलकातामा वर्षाको सम्भावना ५७ प्रतिशत रहेको छ । तापक्रम २८ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
सम्भावित टोली
कोलकाता नाइट राइडर्स : अजिनक्या रहाणे (कप्तान), सुनिल नारिन, रहमानुल्लाह गुरबाज (विकेटकिपर), वेंकटेश ऐयर, रिंकु सिंह, अंगकृष रघुवंशी, मोइन अली, आन्द्रे रसेल, रमनदीप सिंह, वरुण चक्रवर्ती, बैभव अरोडा र हर्षित राणा ।
चेन्नई सुपर किङ्स : महेन्द्रसिंह धोनी (कप्तान तथा विकेटकिपर), शेख रसिद, आयुष म्हात्रे, साम कर्रन, रवन्द्र जडेजा, डेवाल्ड ब्रेविस, शिवम दुबे, दीपक हुड्डा, खलिल अहमद, नुर अहमद, मथिशा पाथिराना र अंशुल कंबोज ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण