बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

करणको दोस्ताना–२ बाट निकालिए कार्तिक

बिहीबार, २५ वैशाख २०८२, ११ : २८
बिहीबार, २५ वैशाख २०८२

नयाँ दिल्ली । धर्मा प्रोडक्सनको ‘दोस्ताना–२’ बाट कार्तिक आर्यन बाहिरिएका छन् । एक रिपोर्टका अनुसार सन् २०२१ मा कार्तिक आर्यन र करण जोहरबिच भएको मतभेदपछि रोकिएको यो चलचित्र फेरि बनाउने तयारी गरिएको हो ।

तर, अब उनी यो चलचित्रको हिस्सा रहने छैनन् । मिड–डे को रिपोर्ट अनुसार कार्तिक आर्यनले धर्माको चलचित्र नागजिलामा काम गर्न सुरु गरे पनि दोस्ताना–२ बाट भने निकालिएका हुन् ।

अब उनको स्थान अभिनेता विक्रान्त मेसीले लिने बताइएको छ । यो चलचित्रमा अर्का अभिनेता लक्ष्य रहेका छन् । स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘जब फिल्म पुनः सुरु गर्ने भनिएको थियो, लक्ष्य चलचित्रको हिस्सा बन्ने तय थियो ।

दोस्ताना जस्तो चलचित्रमा पुरुष कलाकारको केमेस्ट्री महत्त्वपूर्ण हुन्छ । विक्रान्त मेसी यो भूमिकाका लागि उपयुक्त छन् ।’

भनिन्छ विक्रान्त डन–३ मा पनि देखिन सक्नेछन् । हाल यसबारे धर्मा प्रोडक्सनको तर्फबाट आधिकारिक घोषणा भएको छैन । यो फिल्मबारे सन् २०१९ मा नै घोषणा भएको थियो ।

त्यतिबेला चलचित्रमा कार्तिक आर्यन, जाह्नवी कपुर र लक्ष्यलाई लिइएको थियो ।  सन् २०२१ पछि भने कार्तिक र करणबिच मतभेद सुरु भएको थियो । धर्माले ‘क्रिएटिभ डिफरेन्सेस’ को कारण देखाउँदै चलचित्रको निर्माण रोकेको थियो ।

सन् २०२४ मा कार्तिकले पहिलो पटक दोस्ताना–२ अचानक बन्द भएको विषयमा खुलेर कुरा गरेका थिए । ललनटपलाई दिएको एक अन्तर्वार्तामा कार्तिकले भनेका थिए, ‘यो धेरै पुरानो कुरा भयो ।

कयौँ पटक मिस कम्युनिकेसन हुन्छ, धेरै कुरालाई बढाइचढाइ गरेर प्रस्तुत गरिन्छ । जब त्यो लेखिन्छ, मानिसहरूले यसलाई अर्कै ढङ्गले लिन थाल्छन् ।’

‘म त्यतिबेला पनि चुप थिएँ, अहिले पनि चुप छु । म मात्र १०० प्रतिशत काम गर्न चाहन्छु । जब यस्तो कुनै खबर आउँछ र विवाद हुन्छ, म चुप नै रहन्छु । शान्त हुन्छु । मलाई केही साबित गर्नुपर्ने कुरा महसुस हुँदैन ।’

तर, कार्तिक र करणबिचको पुरानो मतभेद सकिएको भएर धर्माको नागजिलामा काम सुरु पनि गरे पनि किन उनलाई दोस्ताना २ बाट हटाइयो भन्ने प्रश्न चाहिँ उठ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप