बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छः वर्षमान

बिहीबार, २५ वैशाख २०८२, १६ : ५०
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरूले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको बताएका छन् । 

राजधानीमा बिहीबार आयोजित पूर्वबजेट छलफल कार्यक्रममा पुनले बिचौलिया व्यक्तिभन्दा प्रवृत्ति भएको बताए । राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्थतन्त्रमा एकाधिकार र मिलेमतो गर्ने आसेपासे प्रवृत्तिलाई आफूहरूले बिचौलिया भन्दै आएको उनको भनाइ थियो । 

पुनले बिना लगानी अर्थोपार्जन गर्नेहरू बिचौलिया भएको स्पष्ट गर्दै लगानी गरेर व्यवसाय गर्नेहरूले व्यवसायीलाई नै बिचौलिया आरोपित गरिएको अर्थमा नबुझ्न आग्रह  गरे । बिचौलिया प्रवृत्ति रोक्न नसके मुलुकले आर्थिक रुपमा अझै नराम्रो अवस्थाको सामना गर्नुपर्नेमा पुनले जोड दिए । 

“हामीले बिना लगानी राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर फाइदा लिने प्रवृत्तिलाई बिचौलिया भनेका हौँ”, पुनले भने, “कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरेका होइनौँ । यो प्रवृत्ति परिवर्तन नगरेसम्म आर्थिक सुधार सम्भव छैन ।” 

पुनले निजी क्षेत्रलाई चालक सिटमा राखेर सरकारले काम गर्नुपर्ने उल्लेख गरे । रेफ्रीको भूमिकामा रहनुपर्ने नियामक निकायहरू आफैं खेलाडी बनेर मैदानमा उत्रिने अहिलेको प्रवृत्तिले अर्थतन्त्रलाई नोक्सान गर्ने भएकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए । 

पुनले कार्यक्रममा सहभागी अर्थमन्त्री विष्णु पौडेललाई करका दर हेरफेरमा हुने चलखेल रोक्न आग्रह गरे । अर्थमन्त्रीका रुपमा चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा आफूले कसैलाई फाइदा  र कसैलाई नोक्सान हुने गरी करका दरमा हेरफेर नगरेको प्रष्टिकरण पुनले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप