शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

जनताको असन्तुष्टि सम्बोधन हुनेगरी सरकारको नीति तथा कार्यक्रम आएनः केसी

बिहीबार, २५ वैशाख २०८२, १३ : २१
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले  जनताको असन्तुष्टिलाई सम्बोधन गर्नेगरी सरकारको नीति तथा कार्यक्रममा नयाँ दृष्टिकोण र विचार आउन नसकेको बताएका  छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा केसीले ठुला दल मिलेर बनेको सरकारले सामाजिक गतिशीलता बुझ्न नसकेको र जनताको असन्तुष्टिलाई सम्बोधन हुने गरि नयाँ दृष्टिकोण र विचार ल्याउन नसकेको बताएका हुन् । 

उनले आम जनतामा निराशा, असन्तुष्टि र अराजकतापूर्ण नकारात्मक स्थिति निर्माण भइरहेको अवस्थामा सरकारको कार्यक्रम राष्ट्रको समस्या समाधान गर्ने तर्फ नदेखिएको जिकिर गरे । 

त्यस्तै सांसद केसीले सीमान्तकृत र निरपेक्ष गरिबी रेखामुनि रहेका नेपाली जनताको आयको सुनिश्चितता र सामाजिक न्यायको प्रत्याभूति दिने खालको कार्यक्रममा केन्द्रित हुनुपर्ने धारणा राखे । 

मुलुक ऋणको भारी र भ्रष्टाचारको महामारीले सिकिस्त बिरामी रहेको भन्दै केसीले भ्रष्टाचार, कुशासन, विधिविहीनता र दण्डहीनतालाई निर्ममतापूर्वक नियन्त्रण गर्ने कुराको प्रतिवद्धता र इच्छाशक्ति सरकारको कार्यक्रममा कम देखिएको उल्लेख गरे । 

उनले सरकार दण्डबिहिनता र भ्रष्टाचार कुशासनको संरक्षकको रूपमा रहेको भाष्य नेपाली जनतामा रहेकोमा त्यसलाई निराकरण गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताए । 

केसीले दुई तिहाइको समर्थनको सरकारले १० महिनाभित्र पुँजीगत खर्च एक तिहाइ पनि गर्न नसक्नुलाई कति सक्षम वा असक्षम भन्ने कुरा सरकारले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता रहेको तर्क गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप