बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

राष्ट्रिय युवा सङ्घ नेपालकाे विशेष परिपत्र : अधिवेशन नभएका जिल्ला स्वतः आयोजक कमिटीमा रूपान्तरण

बुधबार, ३१ वैशाख २०८२, १४ : २२
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । नेकपा एमाले निकट युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ, नेपालले अधिवेशन हुन बाँकी जिल्लाहरू स्वतः दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको छ । 

युवा सङ्घका महासचिव सुमन पुरीले बुधबार विशेष परिपत्र जारी गर्दै २०८२ वैशाख २५ गतेभित्र जिल्ला अधिवेशन हुन नसकेका जिल्लाहरू स्वतः आयोजक कमिटीमा रूपान्तरण गरिएको बताए । 

ती जिल्लाको संयोजक दोहोरो जिम्मेवारी नभएका खण्डमा स्वयं अध्यक्ष वा संयोजक नै आयोजक कमिटीको संयोजक रहने पनि युवा संघको परिपत्रमा उल्लेख छ । 

‘सो नभएको खण्डमा उपाध्यक्ष वा सहसंयोजकको नेतृत्वमा आयोजक कमिटी रहनेछ । सो पनि नभएको खण्डमा वरिष्ठता (तत्कालको मर्यादाक्रम को आधारमा आयोजक कमिटी गठन हुनेछ । जसले विधान अनुसार जिल्ला अधिवेशन गर्नुपर्नेछ’, परिपत्रमा भनिएको छ । पर्वत लगायतका केही जिल्लामा अधिवेशन हुन बाँकी छ ।

आगामी जेठ ९ गते पोखरामा सुरु हुने महाधिवेशनका लागि युवा सङ्घले प्रतिनिधि छनोटको अन्तिम मिति जेष्ठ २ गते भित्रमा अनलाइन फारम बुझाइ सक्न भनिएको छ । अन्यथा प्रतिनिधि बन्नबाट बञ्चित हुने पनि सो सङ्गठनले जनाएको छ । 

त्यस्तै केन्द्रीय कमिटीका सबै सदस्यले पदीय जिम्मेवारी अनुसारको लेवी तथा तोकिएको दायित्व तत्काल बुझाउन युवा सङ्घले भनेको छ । लेबी तथा तोकिएको दायित्व नबुझाउनेलाई प्रतिनिधि कार्ड नदिने युवा संघको भनाइ छ । त्यस्तै जेठ ३ गते मदन– आश्रित दिवसका अवसरमा मातहतका सम्पूर्ण कमिटीहरूलाई दसौँ महाधिवेशन केन्द्रित रचनात्मक कार्य गर्न भनेको छ ।

press

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप