‘थुम्के सामन्तवाद रहिरहँदा अस्थिरता भोगिरहेका छौँ’
_AjrgzpEdTj.jpg)
समाचार सारांश
- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको अस्थिर सरकारको कारण नेताहरूमा रहेको 'थुम्के सामन्तवाद'लाई मानेका छन्।
- खनालका अनुसार, नेताहरूले जनता र राष्ट्रको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदा अस्थिरता बढेको हो।
- खनालले भारतको तुलनामा नेपालको अस्थिरताको कारण आन्तरिक र बाह्य प्रभाव, र कमजोर नेतृत्वलाई औंल्याएका छन्।
- खनालले पार्टीभित्रै असल नेतृत्व निर्माण र दीर्घकालीन नीतिहरूमा जोड दिनुपर्ने बताएका छन्।
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता हुन् । नेपालमा जुनसुकै सरकार बने पनि अस्थिर हुनुमा नेताहरूमा ‘थुम्के सामन्तवाद’को प्रतीक मान्छन् ।
प्रमुख दलका पार्टी र नेताहरूले जनता र राष्ट्रहित तथा आकांक्षालाई प्रतिबिम्बित गर्ने कार्यदिशा, नीति, सिद्धान्त र कार्यक्रम लिन नसक्दा पार्टी र सरकारहरू अस्थिर बन्ने गरेको अनुभव सँगालेका खनालसँग रातोपाटीका फणीन्द्र नेपालले गरेको कुराकानी ः
- एकल बहुमत हुँदा र गठबन्धन संस्कृतिमा समेत नेपालका सरकारहरू पूरा कार्यकाल किन टिकिरहेका छैनन् ?
पहिलो कुरा, विभिन्न पार्टीहरूको नेतृत्वमा पुगेका नेताहरू लामो समयदेखि थुम्के सामन्तवादको प्रतीकका रूपमा छन् । नेपालमा करिब २ हजार वर्षसम्म एकीकृत सामन्तवाद होइन कि, थुम्के सामन्तवाद रह्यो । यसकै एउटा–एउटा थुम्का पार्टीका नेताहरूमा प्रवृत्तिकै रूपमा प्रतिबिम्बित हुन पुग्यो, जसले गर्दा नेता बन्नुको अर्थ नै एउटा नायकजस्तो, राजाजस्तो र सामन्तजस्तो मनोवृत्तिबाट ग्रस्त हुन पुग्यो ।
उनीहरू मेरो गोरुको बाह्रै टक्का भन्नेतिर लागे । उनीहरू कसैले पनि जनता र राष्ट्रका हित तथा आकांक्षालाई प्रतिबिम्बित गर्ने कार्यदिशा, नीति, सिद्धान्त र कार्यक्रम लिन सकेनन् । परिणामस्वरूप उनीहरू आफै अस्थिर हुन पुगे । उनीहरूभित्रको चिन्तनको अस्थिरता व्यवहारमा प्रकट भएपछि सरकारहरू अस्थिर बन्न पुगेका हुन् ।
- पार्टी र तिनका नेताहरू नीति, सिद्धान्त र विचारबाट किन विचलित भएर अस्थिरतालाई मलजल गरे ?
कतिपय पार्टीहरूले निकै राम्रो अध्ययन, विश्लेषण र संश्लेषणका आधारमा मुलुकको परिवर्तन र रूपान्तरणका कार्यक्रम, कार्यदिशा, नीति र सिद्धान्तहरू तय पनि गरे । तर ती पार्टीहरूले जो–जो नेता निर्माण गरे, उनीहरू नै चरम अस्थिर हुन पुगे । तिनीहरूले कार्यनीति, कार्यक्रम र सिद्धान्तलाई क्यारी गर्न सकेनन् । जसले गर्दा पार्टीहरू नै अस्थिर बन्न पुगे । एकीकृत पार्टीहरू पनि विभाजित र विखण्डित हुन पुगे । जसको असर देशले नै अस्थिरताको मार खेप्नुपरेको छ ।
- संसदीय प्रणालीमा सामान्यतया कुनै दलको बहुमत आयो भने स्थिर सरकार बन्छ भन्ने बुझाइ छ । तर नेपालको हकमा त गलत साबित भयो नि ? स्थिरता राख्न कस्तो खालको सरकार चाहिने हो ?
विगतका घटनाक्रमबाट नेतृत्वमा रहेको अस्थिर प्रवृत्तिलाई ध्यानमा राखेर दीर्घकालीन नीति, सिद्धान्त र कार्यक्रमका आधारमा पार्टी पुनर्गठन गर्न सक्नुपर्छ । पार्टीहरूलाई उन्नत मूल्य मान्यतायुक्त बनाउनुपर्छ । त्यस्ता पार्टीहरूले नेतृत्व गर्ने स्थिति बन्यो मुलुकमा स्थिरता कायम हुन सक्छ ।
- भारतमा गठबन्धनकै सरकार पूरा कार्यकाल चलेको देखिन्छ, तर नेपालका दलहरूमा न्यूनतम मूल्यमान्यताकै खडेरी हो त ?
हाम्रो देश आन्तरिक र बाह्य दुवै कारणबाट प्रभावित छ । भारत ठुलो शक्ति भएकाले त्यहाँ बाह्य शक्तिले त्यति धेरै प्रभाव पार्न सक्दैन ।
भित्री र बाहिरी कारणहरूले काम गर्ने भएकाले भारतका राजनीतिक पार्टीहरूभित्र नेतृत्व निर्माण गर्ने कुरा असाध्यै महत्त्वपूर्ण हुन्छ ।
जो पायो त्यही व्यक्तिलाई नेतृत्वमा लैजाँदा पनि पार्टीहरू अस्थिर हुने गरेका छन् । नेताहरू आफै सुविचारित ढंगले अध्ययन, विश्लेषण र संश्लेषण गरेर नेतृत्वमा नपुगेका कारण पनि विभिन्न प्रकारका अस्थिरताहरू देखिन पुगेका हुन् ।
- गठबन्धन संस्कृतिमा दलहरूले विचार र सिद्धान्त ख्याल नगर्दा बढी अस्थिरता उत्पन्न भएको भन्ने विश्लेषण हुने गरेको छ, यसमा तपाईँको बुझाइ के हो ?
आंशिक रूपमा यो कुरा सत्य हो । किनभने, संस्कृतिको पनि ठुलो भूमिका हुन्छ । गठबन्धन संस्कृति गहिरो समुन्नत नहुनुको एउटा कारण हो, तर त्यही मात्र प्रमुख कारण भने होइन ।
संस्कृति निर्माण गर्न कुनै न कुनै नेतृत्वले सुरुवात त गर्नैपर्छ । तर त्यो सुरुवात गर्ने नेताहरू आफैँ अस्थिर भए । आफ्नो पार्टी, राजनीतिक क्षेत्र र मुलुकलाई अस्थिर बनाए । त्यस हिसाबमा मुलुकलाई सही वैचारिक, राजनीतिक कार्यदिशा, नीति सिद्धान्त र लक्ष्यमा स्थिर भएर अघि बढ्न सक्ने योग्यतापूर्ण नेतृत्व निर्माण गर्न नसक्नु वा नहुनुको परिणाम अहिलेसम्मको अस्थिरताका मुख्य कारणहरू हुन् ।
- पद र प्रतिष्ठाका मात्रै नेताहरू लागे । नयाँ राजनीतिक दलहरू पनि पुरानै ढर्रामा गएका देखिए । तपाईंले भनेजस्तो नेतृत्वको खडेरी नै देखियो नि ?
थुम्के सामन्तवादको प्रतिबिम्बका रूपमा तपाईंले भनिरहेका विविध प्रकारका अस्थिर नेतृत्व निर्माणको प्रक्रिया अहिले पनि जारी नै छ । तर यही प्रक्रियाभित्रबाट दीर्घकालीन सोच, आदर्श, लक्ष्य भएका, पार्टी तथा देशलाई सही वैचारिक कार्यदिशा नीति सिद्धान्तको मार्गदर्शन गर्न प्रतिबद्ध नेता र नेतृत्व निर्माण हुन सक्छ, गर्नुपर्छ । त्यसका लागि प्रत्येक पार्टीका कार्यकर्ताले जिम्मेवार भएर नेतृत्व निर्माणमा ध्यान दिनुपर्छ । न कि कुनै प्रभावबाट नेता निर्माण गर्ने ।
- नेपालका प्रमुख राजनीतिक दलहरूले असल नेतृत्व निर्माणमा ध्यान किन दिन नसकेका होलान् ?
अहिलेसम्म मुख्य नेतृत्वमा पुगेका नेताहरू जो–जो छन्, ती चरम महत्त्वाकाङ्क्षी भए । चरम आत्मकेन्द्रित कुराले ग्रस्त छन् । मनोगतवादले ग्रस्त छन् । भिजन छैन, ओहदावादी छन् । ओहदामा एकपटक पुगेपछि जिन्दगीभर कसरी अडिरहने भन्ने कुरामा मात्रै चिन्ता हुन्छ । त्यसका लागि आफ्ना वरिपरि एस मेन र पछुवा निर्माण गरेर पदमा टाँसिरहन चाहन्छन्, यो सामन्तवादको रोग हो ।
नेतृत्वमा यी समस्याहरू देखिन्छन् । तिनै पार्टीभित्रका दोस्रो, तेस्रो र चौथो तहका कार्यकर्ताहरूले पनि जिम्मेवारीपूर्वक सोच्न नसक्नुको परिणाम पनि हो । ती पुस्ताका कार्यकर्ताले पनि नेतृत्व निर्माणमा सोचेनन् भने मुलुकको अस्तित्वमै असर पर्न सक्छ ।
- प्रमुख पदमा पुगेका नेतालाई पार्टीभित्रैबाट छिर्के हान्ने प्रवृत्ति कत्तिको छ ? तपाईँको अनुभव कस्तो छ ?
त्यतिवेला अधिकांश पार्टीले संयुक्त सरकारको प्रधानमन्त्रीको प्रस्ताव ल्याउँदा म प्रधानमन्त्री बन्ने सम्भावना थियो । मेरै पार्टीका ठुला नेता केपी शर्मा ओली, माधवकुमार नेपालले संसद्को दुई तिहाइ भयो भने मात्र तँ प्रधानमन्त्री बन्न पाउँछस्, नत्र पाउँदैनस् भने । पार्टीको केन्द्रीय कमिटीबाटै निर्णय गराए । यस्ता नेताहरूको बिचबाट आएका हौँ हामी । त्यसकारण योग्य नेतृत्व निर्माणमा अवरोध हुँदै आएको छ भन्ने पुष्टि हुन्छ ।
अब यस्ता अवरोधहरू पन्छाउने साहस पार्टी नेता कार्यकर्तामा हुनुपर्छ । म प्रधानमन्त्री हुने वेला गएको त्यो प्रस्ताव पार्टीका अन्य केन्द्रीय सदस्यले संविधानविरोधी भनी दुत्कार्न पनि सकेनन् । आफैभित्र हुने अवरोध यस्तै खाले हुन्छन् ।
आफ्नै पार्टीभित्र पनि छिर्के हान्ने प्रवृत्तिको तीतो अनुभव मसँग छ । तर म त्यस्ता प्रवृत्तिसँग कहिल्यै विचलित भइनँ, अरू पार्टीहरूमा पनि यस्ता गलत प्रवृत्ति देखिन्छन् । त्यसैले सबै पार्टीले नेतृत्व निर्माणको सवालमा स्वस्थ प्रक्रियाको विकास गर्ने विषय स्थायित्वको महत्त्वपूर्ण पाटो हो भन्ने लाग्छ ।
- कतिपय कठिन समयमा दलहरू एक ठाउँमा पनि आएका छन्, तर पद र शक्तिलाई प्राथमिकतामा राख्दा भद्रगोल भएको भनेर बुझ्दा हुन्छ ?
हो । हामीले २०६२/०६३ को क्रान्ति गर्यौँ, संविधान पनि बनायौँ । संविधानको भाग ४ मा मुलुकलाई रूपान्तरण गर्ने निकै महत्त्वपूर्ण विषयहरू राखेका छौँ । तर अहिलेसम्मको नेतृत्वले त्यसलाई अध्ययन नै गरेन ।
राष्ट्रलाई सुदृढ गर्ने कामहरूमा ध्यान दिनुको साटो कसरी प्रधानमन्त्री बन्ने, कसरी प्रधानमन्त्रीको ओहदामा बसिरहने, पार्टीको अध्यक्ष कसरी बन्ने भन्नेमा मात्र छ । गणतन्त्रलाई सुदृढ गर्न चालिनुपर्ने कुनै पनि कदम नहुँदा राजावादीहरूले फणा फिँजाउन थालेका छन् ।