बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उमागौरी सहकारी ठगी प्रकरण

लेखा समिति सभापति पोखरेलकी पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश

बिहीबार, ०१ जेठ २०८२, १७ : २४
बिहीबार, ०१ जेठ २०८२

सारांश

  • नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको उमागौरी सहकारी ठगी प्रकरणमा उच्च अदालतले सक्कल मिसिल झिकाउने आदेश दिएको छ।
  • उमागौरी सहकारीको २२ करोड ४८ लाख हिनामिना मुद्दामा कोइरालासहित ६ जनालाई धरौटीमा छाडिएको थियो, तर अध्यक्ष र २ सञ्चालक थुनामा छन्।

विराटनगर  । नेकपा एमालेका सांसद तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको उमागौरी सहकारीको ठगी प्रकरण मुद्दामा उच्च अदालत विराटनगरले सक्कल मिसिल झिकाउने आदेश दिएको छ ।  जिल्लाको आदेशविरुद्ध परेको निवेदनको सुनुवाइका लागि बिहीबार कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले सक्कल मिसिल झिकाउने आदेश दिएको हो ।

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सरकारी वकिल उच्च अदालत पुगेको थियो । उच्चमा दुई न्यायाधीशबिच राय बाझिएपछि अर्को बेन्च तोकिएको थियो ।

मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि धरौटीमा छाडेको थियो । अध्यक्ष शम्भुप्रसाद रौनियारसहित दुई सञ्चालकलाई थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध परेको निवेदनको सुनुवाइ गर्ने क्रममा वैशाख ११ गते उच्च अदालत विराटनगर न्यायाधीश श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाको राय बाझिएको थियोे ।

न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेशलाई सदर गर्ने राय दिएकी थिइन् । तर न्यायाधीश केशवप्रसाद बाँस्तोलाले भने पुडासैनीको रायमा असहमति जनाउँदै धरौटी बढाएर १ करोड बढाउनुपर्ने राय दिएका थिए । त्यसपछि पुर्पक्षको आदेशका लागि अर्को बेन्च तोकिएको हो । यो मुद्दाको अर्को सुनुवाइ बिहीबार हुनेछ । 

उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । तत्कालीन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो ।

गत मङ्सिर २७ गते सहकारीको रकम हिनामिना प्रकरणमा अन्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि विराटनगरको महेन्द्र रात्रि माविमा पढाउने अञ्जला विद्यालयमा बिदा लिएर फरार भएकी थिइन् । फरार भएको तीन सातापछि पुस २४ गते बिहान अदालतमा उपस्थित भएकी थिइन् ।

सहकारी ठगी मुद्दामा सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान ४ का पूर्व वडाअध्यक्ष रोशन राजवंशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य धरौटीमा छुटेका छन् भने एक दर्जनभन्दा बढी अभियुक्त अझै फरार रहेका छन् ।

उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर सदस्य थिए। शेयरबापत ३ करोड ८ लाख ९० हजार रकम रहेको थियो। सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । हाल सहकारी बन्द अवस्थामा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप