शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण अफ्रिकी खेलाडीलाई आईपीएल सकिनुअघि नै स्वदेश फर्कन निर्देशन

बिहीबार, ०१ जेठ २०८२, ०९ : ५८
बिहीबार, ०१ जेठ २०८२

काठमाडौँ । भारत र पाकिस्तानबिचको सैन्य तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण शनिबारदेखि फेरि सुरु हुँदै छ । तर, आईपीएल खेलिरहेका विदेशी खेलाडीहरू सुरक्षाको कारण देखाउँदै आ–आफ्नो घर फर्किसकेका छन् । 

राष्ट्रिय टोलीको खेल तालिका जुधेकाले केही विदेशी खेलाडी आईपीएलको बाँकी खेल खेल्न भारत नफर्कने भएका छन् । त्यसको प्रत्यक्ष असर प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सँघर्षरत टोलीहरूलाई पर्ने भएको छ ।

यसैबिच, दक्षिण अफ्रिकी खेलाडीहरुले पनि आईपीएलको सबै खेल नखेल्ने सम्भावना बढेको छ । दक्षिण अफ्रिकाले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दैछ । वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल जुन ११ तारिखदेखि इङ्ल्यान्डको लर्डसमा सुरु हुनेछ । 

फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्नेछ । त्यसैले दक्षिण अफ्रिकी खेलाडीले आईपीएलको सबै खेल खेल्न नसक्ने भएका हुन् । दक्षिण अफ्रिकी क्रिकेट संघले पनि टेस्ट च्याम्पियनसिपको फाइनलका लागि टोलीमा परेका आफ्ना खेलाडीलाई आईपीएल खेल्ने सिमा ताकिदिएको छ । 

समाचारमा जनाइए अनुसार, दक्षिण अफ्रिकाका आठ खेलाडी आईपीएल सकिनुभन्दा अगाडि नै स्वदेश फर्कने छन् । आईपीएलको फाइनल खेल जुन ३ तारिखमा खेलिने छ । दक्षिण अफ्रिकी क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई मे २६ तारिखसम्म मात्र आईपीएल खेल्न अनुमति दिएको छ । 

दक्षिण अफ्रिकी खेलाडी कागिसो राबडा गुजरात टाइटन्सबाट, लुङ्गी एनगिडी रोयल च्यालेन्जर्स बेंगलुरुबाट, ट्रस्टन स्टब्स दिल्ली क्यापिटल्सबाट र एडेन मारक्रम लखनउ सुपर जायन्ट्सबाट आईपीएल खेलिरहेका छन् ।

यसैगरी, रियान रिकल्टन मुम्बई इन्डियन्सबाट, कार्बिन बाश मुम्बई इन्डियन्सबाट, मार्को यानसेन पञ्जाब किङ्सबाट र वियान मुल्डर सनराइजर्स हैदराबादबाट आईपीएल खेलिरहेका छन् । उनीहरु मे २६ तारिखपछि स्वदेश फर्कने समाचारमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप