बहराइनलाई हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल

समाचार सारांश
- थाइल्याण्डमा जारी महिला टी-२० विश्वकप छनोटमा नेपालले बहराइनलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा ६ विकेटले पराजित गर्यो।
- जितसँगै नेपाल सुपर-३ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ, हङकङसँगको खेलको नतिजामा निर्भर रहँदै।
- इन्दु वर्माको अविजित २४ रन र पूजा महतोको १३ रनको योगदानले नेपाललाई जित दिलायो।
- बहराइनकी पविथ्रा सेठ्ठीले ३ विकेट लिए भने रासिका रोड्रिगोले बहराइनका लागि सर्वाधिक २४ रन बनाइन्।
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बिहीबार सम्पन्न खेलमा नेपाली टोली विजयी भएको छ ।
नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेलमा बहराइनलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा ६ विकेटले हराएको हो ।
जितसँगै नेपालले प्रतियोगिताको सुपर–३ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ । नेपाल चार खेलबाट पाँच अंक बटुल्दै तालिकाको पहिलो स्थानमा उक्लिएको छ । समूह ‘सी’ को अन्तिम खेल शुक्रबार हङ्कङ र बहराइनबिच खेलिने छ ।
उक्त खेलमा हङ्कङ पराजित भए नेपाल सुपर–३ चरणमा पुग्नेछ । तर, उक्त खेलमा हङ्कङ विजयी भए नेपालको अगाडि बढ्ने सम्भावना समाप्त हुनेछ । तीन खेलबाट चार अंक बटुलेको हङ्कङ तालिकाको दोस्रो स्थानमा छ । नेपालसँग हारेसँगै बहराइन भने समूहगत चरणबाटै बाहिरिएको छ ।
बिहीबारको खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाएर ७६ रन बनाएको थियो । त्यसपछि वर्षाका कारण खेल लामो समय अवरुद्ध भएको थियो ।
त्यसैले नेपाली टोलीले डकवर्थ एन्ड लुइस नियमका आधारमा सात ओभरमा ५६ रन बनाउनु पर्ने गरी लक्ष्य पाएको थियो । नेपाली टोलीले ५.४ ओभरमा चार विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।
नेपाली टोलीको जितमा कप्तान ईन्दू वर्माले अविजित २४ रनको योगदान गरिन् । उनले केवल सात बलमा एक छक्का र चार चौका प्रहार गरिन् । रुविना क्षेत्री चार रनमा अविजित रहिन् ।
पूजा महतोले पनि टोलीका लागि १३ रनको योगदान गरिन् । उनले ११ बलमा दुई चौका प्रहार गरिन् । ओपनर सम्झना खड्का पाँच, रुवी पोद्दार एक र कविता जोशी शून्य रनमा आउट भएका थिए । नेपालले अतिरिक्त रुपमा पनि नौ रन पायो । बहराइनकी बलर पविथ्रा सेठ्ठीले तीन विकेट लिइन् ।
त्यसअघि बहराइनका लागि ओपनर रासिका रोड्रिगोले सर्वाधिक २४ रनको योगदान गरेकी थिइन् । उनले २९ बलमा तीन चौका पनि हिर्काइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान दिपिका रसांगिकाले पनि २३ रन बनाइन् । उनले २७ बलमा दुई चौका प्रहार गरिन् ।
ओपनर थारंगा गजनायकेले पनि टोलीको खातामा १२ रन थपिन् । बहराइनले अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो । बहराइनका तीनैजना ब्याटर रन आउट भएका थिए ।
नेपाली टोलीले समूहगत चरणमा खेलिएको चारमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्यो । नेपालको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । यसअघि, नेपाली र हङ्कङबिचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।
नेपाली टोलीले आफ्नो दोस्रो खेलमा बहराइनलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो । आफ्नो तेस्रो खेलमा नेपाली टोली हङ्कङसँग सात विकेटले पराजित भएको थियो । प्रारम्भिक चरणको खेलपछि तीनवटै समूहबाट एक–एक टोली ‘सुपर–३’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–३’ चरणमा तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।
प्रतियोगिताको समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड रहेका छन् । समूह ‘बी’ मा भने मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । यो प्रतियोगिताबाट दुई टोलीले आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाउने छन् ।
विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुंगो लागेको छ । बंगलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् ।
विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने सात टोलीको भने टुंगो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुंगो लाग्न बाँकी छ ।
विश्वस्तरीय छनोट प्रतियोगितामा चार टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । त्यसैले एसियाली क्षेत्रको यो छनोट प्रतियोगिता सहभागी टोलीका लागि आगामी विश्वकपमा स्थान बनाउने महत्वपूर्ण खुड्किलो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्